कोभिड-१९ का बेला मानसिक रूपमा कसरी स्वस्थ रहने ?

१३ चैत्र २०७६, बिहीबार २०:३१ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

विश्वव्यापी महामारी कोभिड–१९ का कारण संसार अहिले त्रसित छ। विभिन्न देशका सरकारहरूले ‘लकडाउन’ घोषणा गरको छन्। लकडाउनका कारण मानिसहरू घरमै बस्नुपरेको छ। सबै व्यापार–व्यवसाय, आवतजावत र भेटघाट बन्द भएको छ।
यो सन्त्रासले मानसिक स्वास्थ्यमा पनि उत्तिकै असर पार्छ। विषाद (डिप्रेसन) र अब्सेसिभ कम्पल्सिभ् डिसअर्डर (ओसीडी) जस्ता मानसिक स्वास्थ्यका समस्या भोगिरहेका र दीर्घरोगीहरूलाई महामारीको समाचारले थप विचलित बनाइदिन सक्छ। नेपालमा यस्तो असर देखिन शुरू भइसकेको छ। यो सन्त्रासले मानसिक र मनोसामाजिक प्रभाव पनि पारेको छ। यसले ल्याएको डर र अनिश्चितताले मनिसहरूको मनोसामाजिक सुस्वास्थ्यमा धेरै असर देखिएको छ।
कोभिड–१९ ले सिर्जना गरेको डर कम गर्ने प्रयास आफूबाट नै शुरू गर्नुपर्छ।
पहिलो प्राथमिकता भनेको आफू सुरक्षित हुनु हो। आफू शारीरिक र भावनात्मक रूपले सुरक्षित भएपछि मात्र अरुलाई सहयोग गर्न सकिन्छ। आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिई सँगसँगै अरुहरूको सुरक्षाको ध्यान पुर्‍याउनुपर्छ। आफ्नो सुरक्षा आफूले नै गर्न सकिन्छ भन्ने सकारात्मक सोच विकास गरी यो संकटको घडीमा अगाडि बढ्न सहज हुनेछ।
कुनै पनि आकस्मिक परिस्थिति वा संकटमा डर, चिन्ता, छटपटी, रिस, रुने, कराउने दुखी हुने जस्ता प्रतिक्रया स्वाभाविक हुन्। हामी यसलाई असमान्य अवस्थामा देखाउने सामान्य तथा स्वाभाविक प्रतिक्रिया भन्न सक्छाैँ।
विश्वव्यापी महामारी कोभिड–१९ ले गर्दा नेपालीहरूले पनि यस प्रकारका प्रतिक्रिया देखाइरहेका छन्। हामी सबैको लागि द्विविधा र तनावपूर्ण अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा चिन्ता, डर  र अनिश्चितताको महसुस हुनु सामान्य र स्वाभाविक हो। हरेक व्यक्तिले आफ्नो क्षमता र सामना गर्ने सीपको प्रयोग गरेर डर र चिन्तालाई कम पनि गरिरहेका हुन्छन। आफ्नो दैनिक कार्य–व्यवहारलाई सकारात्मक ढंगले अगाडि बढाइराखेका हुन्छन्। यद्यपि, यो महामारीले पार्ने असर व्यक्तिपिच्छे फरक हुन्छ।
महामारीको यो समयमा देखिने तनावका लक्षण
-कोरोना भाइरस लाग्ला भन्ने डर
-पारिवारका सदस्य, आफन्त र प्रियजनहरूको स्वास्थ्यबारे चिन्तित हुनु (खासगरी आफूभन्दा टाढा रहेकाबारे)
-खानपिनमा परिवर्तन आउनु (कोही खाँदै नखाने, कोही धैरैै खाने)
-आत्तिनु, छटपटी हुनु
-असुरक्षित महसुस हुनु, अनिश्चितता र एक्लोपनाको महसुस हुनुु
-चिन्ता,  अविश्वास र डरको महसुस हुनु,
-काम गर्ने उर्जा र क्षमतामा परिवर्तन आउनु
-ध्यान केन्द्रित गर्नमा कठिनाइ
-निदाउनमा कठिनाइ, डरलाग्दो सपना र नराम्रो सोचाइ तथा झझल्को आइरहनु
-टाउको दुख्ने, शरीर दुख्ने, पेट तथा पाचन प्रणालीमा गडबडी, रक्तचाप बढ्ने, श्वासप्रश्वासको गतिमा परिवर्तन हुने, छालामा डावर आउने जस्ता शारीरिक प्रतिक्रियाहरू देखिनु
-दीर्घकालीन स्वास्थ्य समस्याहरू भएमा अझै बिग्रँदै जानु
-चिडचिडापन बढ्नु, झनक्क रिस उठ्नु
-मद्यपान, धुम्रपान वा लागूपदार्थको प्रयोग गर्नु तथा मात्रा बढ्दै जानु
-उदाससिनता वा निराशा महसुस हुनु
– निराशापन, असहायपनको महसुस हुनु
यी लक्षण पनि व्यक्तिपिच्छे फरक नै हुन्छ। सबैलाई एकै खाले प्रतिक्रिया देखिन्छ भन्ने छैन। कसैलाई यस्ता समस्या नपर्न पनि सक्छ। तर, यिनै समस्याले दैनिक क्रियाकलापमा अवरोध र कठिनाइ सिर्जना हुन्छ। तपाईंले प्रकोपप्रति कसरी प्रतिक्रिया देखाउनुहुनेछ भन्ने तपाईंको पृष्ठभूमि र समुदायमा भर पर्छ। तर, हरेक मानिस मानसिक समस्यामा पर्ने जोखिम भने रहिरहन्छ। यो जोखिम भने परिस्थिति हेरिकन फरक स्तरको हुन्छ।
अधिक जोखिममा रहेका व्यक्तिहरू 
-जेष्ठ नागरिक र दीर्घरोगीहरू
-बालबालिका तथा किशोरकिशोरीहरू
-कोभिड १९ को उपचारमा संलग्न व्यक्तिहरू: डाक्टर, स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरू
-पहिलेदेखि मानसिक समस्या भएकाहरू
-लागूपदार्थका प्रयोगकर्ताहरू
मनोसामाजिक र मानसिक स्वास्थ्य स्वस्थ राख्ने उपायहरू 
मनोसमाजिक स्वास्थ्यमा पारेको असरलाई कम गर्ने तथा मानसिक रूपले स्वस्थ रहने विभिन्न उपाय छन्। यी उपायको शुरूआत भने आफूबाटै गर्नुपर्छ।
-संकटको अवस्थामा डर चिन्ता दुःख लाग्नु स्वाभाविक प्रतिक्रिया हो भनी स्वीकार गर्नुहोस्। आफूमा कस्तो कस्तो प्रकारको भावना तथा अनुभवहरू आइरहेको छ भनी याद गर्नुहोस्। भावना तथा संवेगहरू सँगसँगै आफ्नो शरीरमा कस्तो अनुभूति भइरहेको छ भन्नेबारे पनि सचेत हुनुहोस्। आरामसँग बस्नुहोस् र आफ्नो स्वासप्रश्वासमा ध्यान दिनुहोस् र सजग हुनुहोस्।
-आफ्नो मनमा लागेका विचार, भावना, अनुभवलाई आफ्नो सहजताअनुसार विश्वासिलो व्यक्तिलाई अभिव्यक्त गर्नुहोस्।
-कोभिड–१९ को रोकथामको लागि व्यक्तिबीचको दूरी कायम राख्नु महत्वपूर्ण छ। यसको अर्थ सामाजिक रूपमा अलग हुनु होइन भनी बुझ्नुहोस र महसुस गर्नुहोस्। तपाईंले विश्वास गर्नुभएका व्यक्ति (उदाहरणका लागि, परिवारका सदस्यहरू वा साथीहरू) सँग कुराकानी गर्दा तपाईंको भावनात्मक र संवेगात्मक अवस्था शान्त बनाउन मद्दत पुग्छ।
-शारीरिक दूरी कायम भए पनि भावानात्मक सम्बन्ध कायम राख्नुहोस्। फोन वा इन्टरेनटको सहयोगबाट कुराकानी गर्नुहोस्।
-समाचारलाई सीमित तुल्याउनुहोस् र आफूले पढ्ने सामग्रीबारे विचार पुर्‍याउनुहोस्।
-आफूले पढिरहेको वा हेरिरहेको सामग्रीले तपाईँलाई राम्रो अनुभव भइरहेको छ कि छैन विचार गर्नुहोस्। समाचार हेर्ने र पढ्ने कुनै निश्चित समय रोज्नुहोस्।
-विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुहोस् किनभने यस्तोबेला धेरै भ्रामक तथा नकारात्मक समाचार र हल्ला फैलिरहेका हुन्छन्। सरकारी स्वास्थ्य संस्थाका वेबसाइटहरू हेर्ने गर्नुहोस्।
-समाजिक सञ्जालमा धेरै समय नबिताउनुहोस्। चिन्ता बढाउने सामग्री बन्द गरिदिनुहोस्।
– हात धुने गर्नुहोस् तर अति नगर्नुहोस्।
-पोषणयुक्त खानेकुरा खानुहोस्।
-पर्याप्त मात्रामा सुत्नुहोस्।
-गहिरो श्वासप्रश्वास सम्बन्धी अभ्यास गर्नुहोस्।
-आफूलाई आनन्द र रमाइला लाग्ने कार्यहरू गर्नुहोस् वा व्यस्त राख्नुहोस्।
-आफूलाई रमाइला लाग्ने साहित्यिक वा अन्य रूचि लाग्ने पुस्तकहरूको अध्ययन गर्नुहोस्।
-विभिन्न सिर्जनात्मक क्रियाकलाप (उदाहरणको लागि कविता तथा साहित्य लेखन, चित्र बनाउने ईत्यादी) गर्नुहोस्।
-योगा तथा शारीरिक व्यायाम गर्नुहोस्।
-सकारात्मक सोंच राख्नुहोस् र आशावादी हुनुहोस्।
-विगतमा कुनै पनि संकट तथा अप्ठयारो परिस्थितिमा प्रयोग गरिएको आफ्नो क्षमता तथा सीपलाई पहिचान गरेर सचेत भई पुनः प्रयोग गर्नुहोस्।
-तनावको सकारात्मक सामना गर्ने सीपलाई निरन्तर प्रयोग गनुहोस्।
-मद्यपान, धु्रम्रपान वा लागूपदार्थको प्रयोग नगर्नुहोस्। यसको प्रयोगले समस्या बढाउन सक्छ।
माथिका उपायहरू आफ्नो आवश्यकता तथा सहजताका अनुसार प्रयोग गर्न सकिन्छ। यस प्रकारको अभ्यासहरू गर्दा पनि डर, चिन्ता, तनाव कम नभएमा मनोविमर्शको आवश्यकता परेको हुनसक्छ। यसको लागि विभिन्न संस्थाहरूको प्रयासमा टोल फ्रि–हटलाइन (फोन) काउन्सेलिङ तथा अनलाइन काउन्सिलिङ सेवाहरू संचालनमा छन्। आफ्नो आवश्यकता तथा सहजताका अनुसार यी सेवाहरू उपयोग गर्न सक्नुहुनेछ।

यो समयमा हाम्रा पाठक पनि मानसिक तनावमा हुनुहुन्छ । हाम्रा पाठककालागी उपयोगी हुने ठानेर त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोवज्ञान विभागकी प्रा.डा. रीता श्रेष्ठको यो लेख हामीले देखापाढीबाट साभारगरी प्रस्तुत गरेका हौं ।