आज:  | Fri, 01, Jul, 2022

सचेत हुने बेला पक्कै हो, तर त्रास बोकेर हिँड्नुपर्ने अवस्था छैन

६ चैत्र २०७६, बिहीबार १६:०९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
कोभिड-१९ विश्वव्यापी महामारी बनेको छ। तपाईंहरूको रिसर्चले हामीकहाँ के अवस्था देखाउँछ ? कोभिड-१९ लाई हामी नजिकबाट नियालिरहेका छौं। डिसेम्बरको मध्यतिर मात्र यसबारे पहिलोपटक थाहा भएको हो। नाम थाहा नभए पनि सार्सजस्तो भन्ने चर्चा थियो। कोभिड–१९ उद्‍गमथलो चीनको वुहानमा नियन्त्रणउन्मुख भएपनि विश्वको अर्को भागमा फैलिँदो छ। शुरुमा नेपालमा पनि एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको थियो, त्यसबेला नेपाल यो संक्रमण हुने तेस्रो मुलुक थियो। ती व्यक्ति वुहानबाटै आएका थिए। उनी उपचारपछि निको भएर घर गएको धेरै भइसक्यो। त्यसयता कसैमा कोभिड–१९ को संक्रमण देखिएको छैन। धेरैले संक्रमण लुकाइएको आशंका गरिरहे पनि त्यो बिल्कुलै होइन। यो लुकाउन मिल्ने कुरै होइन। हामीले तत्काल विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट गर्नुपर्छ। यो लक्षणको आधारमा होइन, ल्याब परीक्षणबाट पुष्टि हुनुपर्छ। यसको परीक्षणलाई ढाकछोप वा तोडमोड गर्न पनि मिल्दैन। अहिलेसम्म जति परीक्षण भए, सबैको रिपोर्ट नेगेटिभ आएको छ। यसको वैज्ञानिक आधार के हो भने १०० जनामा संक्रमण भयो भने १५ जना अस्पताल भर्ना भएकै हुनुपर्छ। त्यसमध्ये चार-पाँचजनाको मृत्यु भइसकेको हुन्छ। इटलीको समाचार सुनेर हामी आफू पनि इटलीमै भएजस्तो कल्पना नगरौं। म के भन्छु भने नेपालमा कोरोनाको बिगबिगी छैन। यो सचेत हुने बेला पक्कै हो, तर मनमस्तिष्कमा त्रास बोकेर हिँड्नुपर्ने अवस्था छैन। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको, उद्‍गमस्थल नजिकै रहेको र यूरोपदेखि अमेरिकासम्म भयावह स्थिति पैदा भएकाले हामी चनाखो भने हुनुपर्छ। सरकारले पनि तयारी गरिरहेको छ। सबभन्दा पहिले हामी मानसिक त्रासबाट मुक्त हुन जरुरी छ। हामी मानसिक रूपमै त्रस्त बन्‍न पुग्यौं भन्‍न खोज्नुभएको हो ? हो। एकजना मकहाँ आएर भन्‍नुभो– ‘डाक्टर, रातभरि टाउको दुख्यो, रुघा लाग्यो, हात पनि दुख्यो।’ मैले सोधें– ‘किन होला?’ उहाँले भन्‍नुभो, ‘के हुनु डाक्टर, उही त हो नि।’ यो उही भनेको कोरोना भाइरसको कुरा रहेछ। सुनेर एकछिन म हाँसे, फेरि चिन्ता पनि लाग्यो। कतिपय मुटुको धड्कन अनियमित भएर आइराख्नु भएको हुन्छ। कतिपय ‘म टेकु भाइरस जँचाउन आएको’ भन्नुहुन्छ। यो टेकु भाइरस भनेको के हो भनेर सोध्दा ‘टेकु अस्पतालमा जाँच गर्ने भाइरस हो’ भन्नुहुन्छ। हामी कति त्रस्त छौं भन्ने यसले पनि देखाउँछ। यसको असर के पर्न सक्छ ? यो त्रासले हाम्रो दैनिकीमै असर पार्न थालिसकेको छ। तनाव र त्रासमा भएको मानिसले काम गर्न सक्दैन, पढ्न सक्दैन। ऊ आफ्नो परिवारको बारेमा सोच्‍न थाल्छ।  काम गर्न नसक्ने बित्तिकै रिजल्ट राम्रो आउँदैन। तनावमा रहँदा आफनो क्षमता प्रदर्शन गर्न सक्दैन। यसले व्यक्तिका आर्थिक क्रियाकलापदेखि देशको अर्थतन्त्रमै असर पार्छ। धेरैले कोभिड-१९ को शंका गर्छन्। त्यसो भए कस्तो अवस्थामा मात्र अस्पताल जाने त ? नेपालमा कोेभिड-१९ संक्रमण यत्रतत्र भइसकेको अवस्था होइन। कुनै व्यक्ति कोभिड-१९ को संक्रमण भएको देशबाट आएको छ भने, त्यो व्यक्तिमा १४ दिनसम्म ज्वरो आयो, रुघाखोकी लाग्यो वा छाती धेरै दुख्यो र सास फेर्न अप्ठेरो भयो भने खबर गरेर सरकारले तोकेको अस्पतालमा जानुपर्‍यो। कोही व्यक्ति कोभिड-१९ प्रभावित ठाउँबाट आएको व्यक्तिसँग बसेको छ र बसेको १४ दिनभित्र उसमा पनि त्यस्तै लक्षण देखियो भने ऊ पनि सरकारले तोकेको अस्पतालमा आउनुपर्छ। अहिलेलाई यत्ति कुरा बुझौं। अरूलाई कोभिड–१९ को संक्रमणबाट जोगाउन प्रभावित क्षेत्रबाट आएका व्यक्तिले के गर्ने ? सरकारले एक–एक मानिसलाई निगरानी गर्न सक्दैन। यो विकसित देशले पनि गर्न सक्ने कुरा होइन। त्यसकारण यसमा नागरिकको इमान्दारिता पनि आवश्यक पर्छ। ती व्यक्तिले इमान्दारिता भंग गर्‍यो भने घुमेर आफ्नै परिवार र आफन्त पनि कोभिड–१९ संक्रमणको चपेटामा पर्न सक्छन् भन्ने हेक्का राख्नुप‍र्‍यो। विदेशबाट आएकाले १४ दिनसम्म सेल्फ क्‍वारेन्टाइनमै बसिदिनु पर्‍यो। अहिलेसम्म एकजनामा मात्र कोभिड-१९ देखिएको भन्नुभो। उहाँले सुप खाएरै आफू ठीक भएको बताउनुभएको छ। उहाँलाई कसरी ठीक भयो ? अनि उहाँसँगै बसेका अरूमा संक्रमण देखिएन ? कुनै पनि भाइरसले संक्रमण गरेमा त्यसको ठ्याक्कै यही औषधि खाएर ठीक हुन्छ भन्ने छैन। भ्याक्सिन हुन सक्छ, एचआईभीदेखि फ्लुमा पनि त्यही हुन्छ। तर, त्यो औषधिले ठीक गर्ने नभई रोग प्रतिरोधात्मक क्षमता बढाउने हो। हामी भाइरस संक्रमित बिरामीलाई झोलिलो पदार्थ खानुस् भन्छौं, किनभने त्यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ। उहाँमा पनि त्यस्तै भएको हो। पाँच-सात दिन उहाँ अस्पताल बस्नुभयो। उहाँको ज्वरो कम भएर अवस्था सुधार हुँदै गएपछि डिस्चार्ज हुनुभयो। हामीले उहाँसँग उठबस भएका व्यक्तिको स्याम्पल टेस्ट गर्‍यौं, तर त्यो नेगेटिभ देखियो। १०० जनामध्ये ८० जनामा सामान्य लक्षण हुन्छन् भनिन्छ। सामान्य लक्षण देखिएका मानिसमा पनि संक्रमण हुन सक्दैन र ? कोही व्यक्तिलाई केही भएकै छैन भने किन चिन्ता लिने ? तपाईं हाम्रो हातमा कैयौं ब्याक्टेरिया हुन्छन्। झण्डै ४० प्रतिशत नेपाली यसबाट इन्फेक्टेड छन्। तर, औषधि कसले खाएको छ र ? त्यसकारण कल्पना गरेर पीडा बढाउने होइन। ध्यान दिनुपर्ने के हो भने ७० वर्षभन्दा बढी उमेरको हुनुहुन्छ, दीर्घरोगी हुनुहुन्छ, मुटु र मधुमेहको समस्या छ भने तपाईं हरेक भाइरसको संक्रमणबाट जोगिनुपर्छ। कोभिड–१९ को जोखिममा पनि यस्तै समस्या भएका मानिस छन्। बुझ्नुपर्ने यही हो। कोभिड-१९ को लक्षण देखिए टेकु अस्पतालमै लगिन्छ। त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले पीपीई (पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट) पाएका छन् ? उपचार गर्ने बेला पीपीई लगाउनै पर्छ। यो दिइएको छैन भन्‍ने कुरा गलत हो। हरेक दिन मानिसहरू मलाई कोरोना भाइरस संक्रमणको लक्षण देखियो भनेर आइरहेका छन्, हामी उनीहरूको स्याम्पल टेष्ट गरिरहेका छौं। सुरक्षाका उपाय अपनाएर टेस्ट गरिरहेका छौं। उनीहरूलाई छुट्टै वार्डमा उपचार गर्ने व्यवस्था छ। अस्पतालका आधा बेड नै हामीले सम्भावित समस्यालाई ध्यानमा राखेर आइसोलेट गरेर राखेका छौं। आवश्यक परे अरू बेड पनि आइसोलेटेड गर्नेछौं। सन् २००३ सार्स देखिँदा पनि हामीले सुरक्षाकवच लगाएर नै जाँच र उपचार गरेका थियौं। हामी हङकङ र सिंगापुरको मोडलमा जान सक्छौं कि सक्दैनौं भन्ने कुरा हुन सक्छ। तर, चीनलाई हेरौं। दक्षिण कोरियालाई हेरौं। हामी अनुशासित भयौं भने केही पनि भयानक हुँदैन। भोलि सयौं मानिस संक्रमित भए हामीले लकडाउन गर्नुपर्छ। कोभिड-१९ संक्रमितलाई राख्‍न भेन्टिलेटरसहितको आईसीयू आवश्यक पर्छ भनिन्छ। हामीसँग जम्माजम्मी अढाई सय मात्र त्यस्ता आईसीयू छन् भन्ने आँकडा आएको छ। भोलि एकैपटक धेरैजनामा संक्रमण देखिए के गर्ने ? यतिसम्म आईसीयू चाहिन सक्छ भनेर तयारी गर्नु राम्रो हो। मलाई लाग्छ सरकारले यो तयारी गरेको छ। के भोलि कोभिड-१९ देखिएन भने सबै तयारी रोक्ने ? होइन, अब हामीले हाम्रो क्षमता बढाउँदै लैजानुपर्छ। इबोला अफ्रिकाबाट शुरू भयो, कोभिड-१९ चीनबाट। भोलि कुनै अर्को भाइरस वा रोगको उद्‍गमस्थल नेपाल भयो भने के गर्ने ? हामीले त्यसमा पनि ध्यान दिनुपर्छ। हाम्रो राष्ट्रिय क्षमता बढाउनेबारे सोच्नुपर्छ। तपाईंले काल्पनिक कोरोनाले खाँदैछ भन्‍नुभो, हामी नडराई सचेत हुने चाहिँ कसरी ? भोलि के हुन्छ भन्ने थाहा छैन, त्यसकारण हामी सचेत रहनुपर्छ। धेरैलाई कोभिड-१९ बारे थाहा भएकाले पनि काल्पनिक त्रास बढेको हुनुपर्छ। हामी वुहान र इटलीजस्तो कोरोना भाइरसको उच्च संक्रमण भएको जस्तो भूगोलमा छैनौं। अहिले हामी जहाँ हेर्‍यो त्यतै काल्पनिक कोरोना देखिरहेका छौं। यसरी त्रासमा नबसौं, तर विश्वबाट कोभिड-१९ उन्मूलन भयो भन्‍ने समाचार नआएसम्म चनाखो भने भइराखौं।

प्रस्तुतिः मञ्जु कार्की/देखापाढीबाट ।