आज:  | Tue, 28, Jun, 2022

उज्यालो सोलारको अँध्यारो पाटो

२६ फाल्गुन २०७६, सोमबार ११:५७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
विधुत नपुगेको ग्रामिण वस्तीमा धुँवा तथा टुकीको विकल्पमा वत्ति बाल्न मात्र होईन, चुल्हो बाल्ने, टिभी हेर्न र स–साना कुटानी/पिसानी मिल समेत चलाउन सोलार उर्जा गज्जवका माध्यम भए । वन वातावरण संरक्षणमा योगदान गरेको सौर्य उर्जा सिस्टममा प्रयोग भएका लिड एसिड ब्याट्री ‘ल्किन इनर्जी’ मात्र रहेन । उज्यालो सोलारको अध्यारो पाटो डर लाग्दो देखिन थालेको छ । ग्रामीण क्षेत्रमा सोलार सिस्टममा प्रयोग भएका एसिड ब्याट्रीको भण्डारण र असुरक्षित विर्सजन गर्दा मानव स्वास्थ्य एवं वातावरणमा प्रतिकुल प्रभाव पार्न थालेको छ । जानकारहरुका अनुसार एसिड ब्याट्रीको दुरुपयोग पनि हुन थालेको छ । सोलार सिस्टमको मात्र होईन, होमस्टिम र आटो मोवाईल्स तर्फ प्रयोग भएका एसिड ब्याट्री पनि उत्तिकै दुरुपयोग भएका छन । सुरक्षा अधिकारीहरुका अनुसार एसिड ब्याट्रीको सीसा झिकेर घरेलु हतियार निर्माण गर्न प्रयोग भैरहेको छ । सोलार ब्याट्रीको मानव तथा वातावरणमा गम्भीर असर पुर्‍याउने एसिडलाई खेतियोग्य जमिनमा पोखेर सिकारीले सिसा झिकेर छर्रा (गोली) बनाई चोरी सिकारमा प्रयोग गरेका छन । यस्ता सोलार ब्याट्रीबाट सीसा झिकेर घरेलु हतियारमा प्रयोग गर्ने र चोरी शिकार गर्न प्रयोग भैरहेको छ । ‘वातावरण संरक्षणमा उल्लेख्य भुमिका रहेका सोलार सिस्टममा प्रयोग भएका एसिड ब्याट्रीमा हुने एसिड बारीमा पोखेर सिसा वन्यजन्तुको चोरी सिकार गर्न, हतियारधारीले डाँकाचोरी गर्न र कतै घरेलु हतियार बनाउन समेत प्रयोग गरेको सुचना आएका छन’ नाम उल्लेख नगर्ने एक सुरक्षा अधिकारीले बताए । ‘सोलार सिस्टम समेत अन्य एसिड वाला ब्याट्रीको दुरुपयोग भैरहेकोमा हामीले खासै चासो राखेकै थिएनौं । एसिड ब्याट्रीको दुरुपयोग बढेको सुचनापछि गाउँ–गाउँका प्रहरी चौकी मार्फत निगरानी र सचेतना कार्यक्रम चलाउने योजना बनाएका छौं’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘एसिड ब्याट्रीको सुरक्षित प्रयोग र ब्यवस्थापनमा वतावरण समेत सवैखाले सुरक्षा चासो बढाएका छौं ।’ सौर्य उर्जा प्रणालीले कार्वन उत्सर्जनमा योगदान पुर्‍याएको भनिएपनि लिड एसिड ब्याक्ट्री प्रयोगले कालन्तरमा नेपाली ग्रामीण जनवीवन र प्रर्यावरणमा उल्टो दीर्घकालिन नकरात्मक प्रभाव पारिरहेको सरोकारवालाले बताएका छन । केही वर्ष अघि महावीर पुनले ताररहित इन्टरनेट पहाडका दुर्गम गाउँ–गाउँमा पुर्‍याउन डाँडकाडामा राखेका रिलेस्टेसनलाई पावर पुर्‍याउन सोलार जडान गरे । सिस्टम नियमित गराउन सोलारको समय–समयमा ब्याट्री परिवर्तन गरे । महरेडाँडा लगाएत केही स्थानमा स्टोर गरिएका पुराना ब्याट्री चोरिए । खोज्दा पत्ता लाग्यो ति सोलार ब्याट्री स्थानिय सिकारीले सिसा झिकेर छर्रा (गोली) बनाउन चोरेका रहेछन । साविक जिल्ला विकास समितिको जिल्ला प्रोफाईलमा राखिएको तथ्याङ्ढ अनुसार म्याग्दीका मंगला, मालिका र धौलागिरी गाउँपालिका ५० बढी वस्तीका १० हजार घरमा घाम विजुली (सोलार)ले झिलिमिली छन । स्थानीन ब्याट्री संकलनहरुका अनुसार एउटा २० एम्पेएर लिड एसिड ब्याट्रीमा ५ लिटर एसिड र १० केजी सिसा, ७५ एम्पेएरमा १५ लिटर एसिड तथा ५० केजी सिसा, १ सय एम्पेयरमा २५ लिटर एसिड ६० केजी सिसा हुन्छ । यसरी हेर्दा म्याग्दीका १० हजार घरमा प्रयोग भएका सौर्य उर्जा प्रणाली जडान भएको अनुमान छ । यी सौर्य प्रणालीमा औषतमा ७५ एम्पेयरको एसिड ब्याक्ट्री प्रयोग भएको मान्दा बार्षिक १ लाख ५० हजार लिटर मानव स्वास्थ्य तथा वातावरणमा हानी पुर्‍याउने एसिड म्याग्दीका गाउँका खेतवारी, खोल्सा र खोलामा पोखिँदै आईएको छ । ‘ठूला ब्याट्री बोकेर बेनी/पोखराको कवाडी संकलन गर्ने ठाउँमा लैजान सकिन्न । कानुन र वातावरणको जानकारी नभएकोले गाउँलेको पुराना ब्याट्री किनेपछि भित्रको एसिड खोल्साखोल्सीमा पोख्छौं । हलुङ्गो बनाई लैजाने हो’ धौलागिरी गाउँपालिका, ७ सिवाङ्गका स्थानीय संकलन/कवाडीवाला लालबहादुर सुनचौरीले भने, ‘पुराना ब्याट्री खोज्न धेरै मान्छे आउँछन, सवैले एसिड वारीको कान्ला, बाटोमा पोख्ने र सिसा झिकेर लैजान्छन । कता लैजान्छन थाहा छैन ।’ ब्याट्रीमा भएको अम्लिय रसायन पदार्थ र लिड एसिड पानी जमीनमा फ्याक्दा उर्वजा शक्ति नष्ट हुने र जमिनमुनीको पानी प्रदुषि भै हावाको माध्यमबाट लिडका कण मानव शरीरमा प्रवेशगरी स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ । लिड एसिड ब्याट्रीमा एसिड, सिसा र कार्वन हुन्छ । सिकारी र अन्य घरेलु हतियार प्रयोगकर्ताले सोलार ब्याट्री फोडेर हानीकारक एसिडलाई बारीमा मिल्काई सिसाको घरेलु  गोली बनाउने गरेको स्थानीयले बताउने गरेका छन । लिड एसिड ब्याट्रीमा प्रयोग भएको सिसा विद्रोही र चोर सिकारीको लागी गज्जवका साधन भएका छन । होम सिस्टमका १२ भोल्टका साना ब्याट्रिहरु खोलामा करेन्ट लगाएर माछा मार्न पनि प्रयोग भएका छन । लीड एसिड ब्याट्री अझै पनि नेपालमा सौर्य उर्जा र ब्याक अप पावर प्रणालीकालागी छनौट अगाडी छ । लीड एसिड प्रयोग भएको सीसा र एसिड दुवै मानव स्वास्थ्य तथा वातावरणकालागी हानीकारक छन । त्यतिमात्र होईन ग्रामीण नेपालमा सौर्य गृह प्रणालीमा प्रयोग भएको लाखौं लीड एसिड ब्याट्रीको गलत तरिका र स्थानमा गरिएको विर्सजनले लायौं सर्वसाधारणको स्वास्थ्यमा जोखिम पारेको छ । ‘सोलार ब्याट्रीको एसिड पोखेपछि झारपात सवै डढ्छ । एसिड पोखेको ठाउँमा केही बर्ष झारपात पनि उम्रिन्न । हामीलाई कानुनी र श्वास्थ्यमा असर गर्ने कुरा जानकारी भएन, घरका पुराना ब्याट्री कवाडी वालाले यहीँ घर अगाडीबारीमा एसिड पोखेर ब्याट्री लगे’ ताकमका सोलार वत्ति उपभोक्ता समेत रहेका शिक्षक गोपाल पौडेलले भने, ‘सरदर ३ बर्षमा एउटा ब्याट्री विग्रन्छ । त्यसपछि फाल्ने हो, ब्याट्री वेच्ने वेलामा पनि कम्पनीले फिर्ता लैजाने कुरा केही भनेनन् ।’ सौर्य उर्जा प्रणाली हेर्दा निशुल्क उर्जा जस्तो देखिएपनि विदेशी अनुदानको घुमाउरो बाटोबाट विदेश फिर्ता भैरहेको छ । अझ दुर्गम ग्रामिण भेगमा सौर्य उर्जा अरवको खाडीबाट पठाएको विप्रेषण सोलार प्रणाली किन्न युरोप र अरु विकसित देशमा पुगेको छ । नेपाली अर्थतन्त्रमा नकरात्मक असर पुर्‍याएको छ । सौर्य उर्जा प्रणालीले कार्वन उत्सर्जनमा योगदान पुर्‍याउँछ भनिएपनि नेपाली ग्रामीण जनवीवन र प्रर्यावरणमा उल्टो दीर्घकालिन नकरात्मक प्रभाव पारिरहेको छ । सामान्यतया सोलार प्यानलको आयु २५ बर्ष र ब्याट्रीको आयु १–५ बर्षको हुन्छ । नेपालका ग्रामिण वस्तीमा प्रयोग भएका सोलारमा लिड एसिड ब्याट्री हुन । सोलार बत्तिबाल्न ‘लिड एसिड ब्याट्री’ अधिक प्रयोगमा छ । १–२ बर्ष आयु भएका लिड एसिड ब्याट्री मानव श्वास्थ्य तथा वातावरणमा हानीकारक छन । सोलार ब्यापारीसँग एसिड ब्याटी अझै स्टक छन । ब्यापारीको चलखेलमा नेपालका सर्वसाधारणका घरमा मात्र होईन सरकारी कार्यालय, सडक, विद्यालय, श्वास्थ्यचौकी समेतका संस्थाहरुमा लिड एसिड ब्याट्रीको अझै प्रयोग भैरहेको छ । वातावरण्यी दृष्टीले अनुपयुक्त लिड एसिड ब्याट्रीको प्रयोगमा विकसित मुलुकमा रोक लगाईएको भएपनि नेपाल जस्ता मुलुकमा ब्यापारीको दवावमा अझै उस्तै प्रयोग भैरहेको छ । लिड एसिड ब्याट्रीमा प्रयोग भएको ‘एसिड’ जमिनमा फाल्दा कुनै वोटविरुवा उम्रन नसक्नेगरी माटो डढ्छ । पानीमा फाल्दा जलचर प्राथीहरु मर्छन । मानिसको हातमा पर्दा शरिर नै डढ्छ । र यो मानव स्वास्थ्यकालागी अति हानिकारक छ । एसिड एक प्रकारको अम्ल हो । अम्लमा प्रायः हाईड्रोजनको उपस्थिती हुन्छ । एसिड दुई प्रकारको हुन्छ, जैविक (जीवजन्तुबाट प्राप्त हुने र खनिज (पृथ्वीबाट प्राप्त हुने) । जैविक एसिड प्रायः अमिलो र खानयोग्य हुन्छन । खनिज एसिड हारिकारक, अखाद्य हुन्छन । एसिडको सम्पर्कमा आउने वस्तुलाई पोल्ने र डढाउने हुन्छ । ‘एसिड मानव श्वास्थ्यकालागी अति खतरानाक पदार्थ हो । एसिडले माटो त डढ्छ, मानव शरिरलाई त त्यसै डढाउँछ । पछिल्लो समय एसिड हतियारको रुपमा पनि प्रयोग भएको पाईन्छ । धेरै एसिड आक्रमणका घट्ना भैरहन्छन’ बेनी अस्पतालका डाक्टर नवराज बास्ताकोटीले भने, ‘ब्याट्रीमा एसिड हुने भएकोले अनुमति प्राप्त ब्यक्तिले मात्र खोल्ने गरी कानुन र जनचेतना आवश्यक छ ।’ नेपालको वातावरण ऐन, नियमले पनि एसिड प्रयोग र ब्यवस्थापन कानुन बनेको छ । सोलार कम्पनीहरुले यस्ता ब्याट्रि ब्यवस्थापन गर्न उपभोक्ताबाट शुल्क लिन्छन । तर कार्यान्वयन गरेका छैनन । वातावरण ऐन ०५४ र नियमावलीले लिड एसिड ब्याट्री ब्यवस्थापन कानुन कार्यान्वयन भएको छैन । वातावरण संरक्षण नियमावली, २०५४ को अनुसूची ९ मा सोलार ब्याट्री कारोवारका सर्त उल्लेख छ । ‘गाउँ–गाउँमा कति सोलार ब्याट्री वेचियो अभिलेख नै राखिएको छैन । कुनै पनि सोलार ब्यापारीले ब्याट्री विक्रि र फिर्ताको अभिलेख राखेको जानकारी छैन । संकलकहरुले नै सुरक्षित तरिकाले ब्यवस्थापन गर्नु पर्ने हो तर ब्यवहारमा संकलकले एसिड बारीमा फाल्यो, सिसा झिक्यो हिंड्यो गर्छन’ बेनी स्थित ढकाल सोलार हाउसका संञ्चालक नकुल ढकालले भने, ‘एसिड ब्याट्री बेचियो तर सुरक्षित फिर्ता ल्याउने सिस्टम नै भएन ।’