छोरीलाई नारीवादी बनाउने १० टिप्स

२५ फाल्गुन २०७६, आईतवार ०८:३१ मा प्रकाशित (4 हप्ता अघि)
पुनहिल संवाददाता

यदि कुनै बच्चाले उनको खेलौना खोस्छ भने तिम्री छोरी झगडा गरोस्। पक्कै पनि दयालु हुनु राम्रो हो। तर, दयालु हुनुको अर्थ हिम्मत हार्नु होइन। आफ्नी छोरीलाई आफ्नो विचार र अनुभव व्यक्त गर्न सिकाऊ।

नाइजेरियाकी नारीवादी लेखक चिमामान्डा न्गोची अदिचीलाई उनकी बाल्यकालकी साथी इजावेलेले चिठी लेखेर सोधिन्- छोरीलाई कसरी नारीवादीको रूपमा हुर्काउने ? प्रश्न गम्भीर थियो र समाधान खोज्नु जटिल पनि। अदिची र इजावेले दुवै दक्षिणी नाइजेरियाको आदिवासी इग्बो समुदायका सदस्य थिए। र, संसारका सबै मानव समुदायजस्तै इग्बो समुदाय पनि महिलाद्वेषी र पुरुषप्रधान नै थियो। साथीलाई सुझाव दिने क्रममा अदिचीले १५ वटा सुझाव तयार पारिन्। ती सुझावलाई उनले पुस्तककै रूप दिइन्। सन् २०१७ मा उक्त प्रकाशित उक्त पुस्तकको नाम हो- ‘डियर इजावेले, अर अ फेमिनिस्ट मेनिफेस्टो इन फिफ्टिन सजेसन्स’।

लघु आकारको उक्त पुस्तकमा समेटिएका १५ मध्ये १० सुझाव यहाँ संक्षेपीकृत रूपमा प्रस्तुत छ।

१. आमाभन्दा माथि उठेर पूर्ण मानिस बन

मन पराउ, नपराउ, तिम्रा सन्तानले तिमीलाई पछ्याउनेछन्। तिमीले आफूलाई जसरी प्रस्तुत गर्छ्यौ तिम्री छोरी त्यस्तै हुनेछिन्। त्यसैले आमामात्रै नबन। तिमी आमामात्रै बन्दा तिम्री छोरी पनि तथाकथित सभ्यताले सिकाएको ‘सुसंस्कृत आमा’ बन्नेछिन्। त्यसैले सबैभन्दा पहिला तिमी आफैं पूर्ण मानिस बन।

आमाबाट माथि उठेर मानिस बन्ने सरल तरिका हो, काम र मातृत्वमध्ये एउटा रोज्न छोड्नु। धेरै समाजमा महिलाले काम गर्नहुन्न भनिन्छ। खासगरी बच्चा जन्माउने र हुर्काउने बेलामा आमाले सन्तानलाई समय दिनुपर्छ भनिन्छ। तर, त्यसो गरिरहन जरुरी छैन। तिमीलाई जे गर्दा खुशी मिल्छ त्यही गर।

काम र परिवार दुवैलाई सन्तुलनमा राख्ने एउटा राम्रो उदाहरण अमेरिकी पत्रकार मार्लेन स्यान्डर्स हुन्। भियतनाम युद्धबारे त्यहीँ पुगेर रिपोर्टिङ गर्ने उनी पहिलो महिला हुन्। अझ रोचक त त्यो रिपोर्टिङ गरिरहँदा उनले आफ्नो छोरालाई हुर्काइरहिथिन्। उनले महिलाले आफ्नो काम छोड्नुहुन्न भन्ने विश्वास गर्थिन्। एकपटक आफूभन्दा कान्छी पत्रकारलाई सुझाव दिँदा उनले भनेकी थिइन्- ‘कामलाई प्रेम गर्नु सन्तानका लागि ठूलो उपहार हो।’

पक्कै पनि शुरुआती समयमा सन्तानलाई ध्यान दिँदा आफैंलाई ध्यान दिन भ्याइँदैन। तिमी सबै काम एक्लै गर्न पनि त सक्दिनौं। त्यस्तो बेला सहयोग माग्न नहिच्किचाउ।

२. आमा–बाउ दुवैले मिलेर सन्तान हुर्काऊ

पुरुष र महिलालाई प्रकृतिले नै अलग बनाएको छ भनेर प्रायले भन्ने गर्छन्। प्राकृतिकरूपमा महिला कमजोर छैनिन्। तर, महिलाले पनि प्रायः यस्तो मान्यता चुपचाप स्वीकार्ने गर्छन्। यस्तो मान्यता छोरीलाई पर्न नदेऊ। त्यसका लागि बच्चा हुर्काउने कर्म आमा–बुबा दुवैले गर्नुपर्छ।

जीववैज्ञानिकरूपमा आमा र बुबामा हुने फरक भनेको एउटै हो, बुबाले बच्चालाई दूध खुवाउन सक्दैनन्। यो काम छोडेर सन्तान हुर्काउने अरू सबै कर्म बुबाले पनि बराबर मात्रामा गर्न सक्छन्। हुन सक्छ तिमीलाई छोरी हुर्काउने सबै काम आफैंले गर्न मन लाग्छ होला। तर, उनकी बुबालाई पनि ती काम गर्न लगाऊ। छोरीको डायपर तिमीले मात्र नफेर, उनकी बुबालाई पनि लगाऊ। उसले पनि उनलाई माया गर्छ। त्यो माया कर्ममा दर्शाउन लगाऊ। बच्चाबेलादेखि नै सन्तानले बच्चा हुर्काउनु महिलाको काम हो भनेर सिकिरहेका हुन्छन्। त्यस्तो हुन् नदेऊ। हुन त अचेल बुबाहरूले सन्तानको डायपर फेर्दिने जस्ता काम गर्छन् तर त्यसलाई आमालाई गरेको सहयोगको रूपमा व्यक्त गर्छन्। त्यो कुनै सहयोग होइन। उसले पिता हुनुको धर्म निभाएको हो। तिम्री छोरीको बुबाले उनको डायपर फेरिरहँदा धन्यवाद नदेऊ तिमीले जस्तै उसले पनि सन्तान हुर्काएको हो भनेर स्वभाविक रूपमा लिने गर।

३. समाजका लैंगिक मान्यतालाई अस्वीकार गर

केटीजस्तै हिँड। केटी जस्तै व्यवहार गर। केटीले जस्तो रुने गर। यस्ता मान्यता यत्रतत्र सर्वत्र पाइन्छन्। यस्तो मान्यता छोरीलाई पर्न नदेऊ। उसलाई छोरा र छोरीमा कुनै फरक हुन्छ भन्ने नै पर्न नदेऊ।

केही काम महिलाका मात्रै हुन् भन्ने मान्यता छ। त्यो मान्यतामाथि प्रश्न गर्न सिकाऊ। तिमीले मीठो खाना बनाउन जानेकी छौ। यो तिमी महिला भएकाले भएको होइन। यो त तिमीले आफ्नो हुर्काइसँगै सिकेकी हौ।

हाम्रो समाजमा महिला र पुरुषले गर्ने काम भनेर सानैदेखि नै छुट्याउन सिकाइन्छ। छोरीहरूलाई गुडिया दिइन्छ, छोरालाई खेलौना हेलिकप्टर। यो विभिन्नता बच्चाका कपडा रोज्ने क्रममा पनि हुन्छ। छोरालाई नीलो कपडा रोजिन्छ, छोरीलाई गुलाबी। यी सबैबाट छोरीलाई मुक्त राख।

४. उदार महिलावाद महिलाविभेदकै रूप हो

छोरीलाई क्षमतावान, आत्मनिर्भर व्यक्तिको रूपमा हुर्काउनेबारे प्रतिबद्ध हुँदै गर्दा तिमीले पक्कै पनि कुनै न कुनै हिसाबले उदार महिलावादसँग साक्षात्कार भएकै हुनुपर्छ। यो महिला उदारवादले लैंगिक समानतालाई दानको रूपमा ग्रहण गर्छ। ‘पतिले गाडी चलाएर के भयो र पत्नी अघिल्लो सिटमै छन् त’ – यस्तो खाले मान्यता राख्छ यो नारीवादले। यस्तो नारीवादले महिलालाई सबैकी प्रिय बन्न सिकाउँछ तर बलियो महिला बनाउँदैन। किनभने बलियो महिला सबैकी प्रिय हुँदिनन्। उनले सामाजिक मान्यताविरुद्ध उभिने हिमम्मत गर्छिन् नि त। छोरीलाई बरू अप्रिय हुन् तर बलियो बन्न सिकाउन जरुरी छ।

५. भाषामाथि प्रश्न गर, छोरीलाई प्रश्न गर्न सिकाऊ

संसारबारेका हाम्रा मान्यता र अनुमान भाषाबाट व्यक्त हुन्छन्। त्यसैले छोरीलाई आफूले सुनेको कुरामाथि प्रश्न गर्न सिकाऊ। बच्चाहरूले उदाहरणबाट सिक्छन्। त्यसैले शुरूमा आफ्नो भाषाबारे विचार गर। तिमीले आफ्ना कुकुर–बिरालोको नाम राख्ने मामिलामै पनि लैंगिक विभेद गरिरहेकी हुन सक्छौ। कतिपय अभिभावकले आफ्ना छोरीलाई ‘राजकुमारी’, ‘परी’ भन्ने गर्छन्। यस्तो लैंगिक शब्दावलीबाट मुक्त राख। राजकुमारीहरू संरक्षित हुन्छन्। परीहरूको यौवनको सौन्दर्यको तारिफ गरिन्छ। त्यस्तै परम्परागत मान्यतामाथि प्रश्न गर्न जरुरी छ। छोरीहरूलाई ‘बिहे गर्ने उमेर भएन र ?’ भन्ने गरिन्छ। त्यसलाई परिवर्तन गरेर ‘जागिर खाने बेला भएन र ?’ भनेर सोध्नुपर्छ।

६. विवाह नै सबथोक होइन

विवाह र बच्चा। समाजले छोरीहरूसँग चाहने यत्ति त हो। उनीहरूको जन्मसँगै यस्तै माग थोपर्ने गरिन्छ। यस्तो चाहनाले लैंगिक असमानता जन्माउँछ। यसबाट छोरीहरूले प्रेम र विवाहलाई नै जीवन लक्ष्य ठान्न सिक्छन्। जबकि छोरालाई रोमान्स र विवाह नै जीवन लक्ष्य हो भन्ने सिकाइएको हुँदैन। यस्तो सिकाइले शुरूदेखि नै छोरी र छोरामा विभेद जन्माउँछ।

छोरीहरुले प्रेमलाई समानताका रुपमा लिनुपर्छ। छोरीलाई प्रेम दिन मात्र होइन लिन पनि सिकाउ। प्रेम दिने र विवाह गर्नैपर्ने सिकाइले महिलालाई त्याग मात्र गर्न सिकाउँछ। त्यसपछि महिलाको जीवनको केन्द्रमा पुरुषमात्रै रहन्छ।

७. तिम्री छोरीलाई आफ्नोपन र आफ्नै पहिचानको विकास गर्न उत्साह देऊ

छोरीलाई हुर्काउँदा आकर्षक हुन नसिकाऊ। छोरा र छोरीलाई हुर्काउने मामिलामा गरिने विभेद् यो पनि एउटा हो। केटाहरूलाई इमान्दार र वाचाल हुन सिकाइन्छ। उनीहरूलाई सभ्य र आज्ञाकारी हुन सिकाइँदैन। छोरीहरूलाई भने ‘लज्जालु’, ‘नम्र’, ‘इज्जतिली’, ‘आज्ञाकारी’ हुन सिकाइन्छ। छोरीहरूलाई हिंसा गरिँदा पनि उनीहरूलाई गुनासो गर्न सिकाइँदैन।

तिम्री छोरीलाई सानै उमेरदेखि हरेक काम सहमतिमा हुनुपर्छ भन्ने सिकाऊ। उदाहरणका लागि, यदि कुनै बच्चाले उनको खेलौना खोस्छ भने तिम्री छोरी झगडा गरोस्। पक्कै पनि दयालु हुनु राम्रो हो। तर, दयालु हुनुको अर्थ हिम्मत हार्नु होइन। आफ्नी छोरीलाई आफ्नो विचार र अनुभव व्यक्त गर्न सिकाऊ।

८. रोजेको लुगा लगाउन देऊ

कोही केटीहरू ‘टमब्वाई’ जस्ता हुन्छन् कसैलाई मेकअप मनपर्छ। तिम्रो छोरीले जस्तो रोज्छिन्, उस्तै रोज्न देऊ। यो उनको रोजाइ हो। धेरैले नारीवाद र नारीपनलाई विपरीतरूपमा लिन्छन्। यो पनि महिलाद्वेषी विचार हो। छोरीलाई नारीवादी बनाइरहँदा नारीपनको विरोध गर्न जरुरी छैन। त्यसैले उनले जस्तो लुगा लगाउँछिन्, जस्तो फेसन रोज्छिन् रोज्न देऊ। र, यो नितान्त उनको रूचिले निर्धारण गर्ने हो भन्ने सिकाऊ।

९. शुरूदेखि नै यौन र प्रेमबारे बुझाऊ

तिमीले घरमा मात्रै आफ्नी छोरीलाई हरथोकमा ध्यान दिन सक्छौ। तर, दुनियाँमा उनले धेरथोकको सामना एक्लै सामना गर्नुपर्नेछ। त्यसैले उनलाई समयमै सही जानकारी देऊ।

सबैभन्दा शुरूमा यौनबारे बुझाऊ। उनको यौन जीवन उनले नै छनौट गर्ने हो भनेर सिकाऊ। यौनलाई बच्चा जन्माउने प्रक्रियाको रूपमा मात्र बुझाउने चलन छ। पक्कै पनि यौन सम्पर्कका परिणाम संक्रमण र प्रजनन हुन्छ भन्ने बताउनुपर्छ। सँगसँगै उनलाई भावनात्मकरूपमा यौनसम्पर्क कति सुन्दर हो भन्ने पनि सिकाउनुपर्छ। कुमारीत्व नै महिलाको सबथोक हो भन्ने भ्रम उनलाई बोकाउनु हुँदैन। सँगसँगै उनलाई महीनावारीबारे पनि सिकाऊ। यो नितान्त प्राकृतिक विषय हो यसबारे लज्जित हुनुपर्दैन भन्ने पनि बताऊ।

१०. संसारमा हुने विविधताबारे बताऊ

हुर्किँदै जाँदा तिम्री छोरीलाई संसार विविधताले भरिएको पाउनेछिन्। यो विविधता सहनभन्दा पनि यसलाई आत्मसात गर्न सिकाऊ। विविधता गलत पनि होइन, सही पनि होइन। विविधता संसारको विशेषता हो भन्ने छोरीले जान्न जरुरी छ। उनले विविधतालाई आत्मसात गर्न सिकिन् भने जस्तोसुकै अवस्था पनि सामना गर्नेछिन्।

सबैभन्दा पहिलो आत्मसात् भनेको उनी र अरूबीचको फरक हो। कसैले कसैलाई पनि हानि नहुने गरी आफ्नो विशेषता व्यक्त गर्न सकिन्छ भन्ने सिकाऊ। उनलाई उनका अनुभव मात्रै सबथोक होइनन् भन्ने सिकाउनुपर्छ। मानिसहरू सबैलाई आफूजस्तै बनुन् भन्ने चाहन्छन्। जो जस्तो छ उसलाई त्यही रुपमा स्वीकार्न सिकाउनुपर्छ। तिमीले छोरीलाई महिलाहरू पुरुषभन्दा सक्षम छन् भनिरहनुपर्दैन। उनलाई महिला र पुरुष समानरूपमा सक्षम छन् भनिदेऊ। आखिर हामी सबै मानिस हौं।

चिमामान्डा न्गोची अदिची, देखापढीबाट