गरे के हुन्‍न ?

२४ फाल्गुन २०७६, शनिबार १७:३० मा प्रकाशित (4 हप्ता अघि)
पुनहिल संवाददाता

गत फेब्रुअरी ७ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गर्दा भने, ‘चीनले ज्यादै छोटो समयमा विशेष अस्पतालको निर्माण गरेको छ, जसले चीनको उत्कृष्ट क्षमताप्रति गहिरो छाप परेको छ।’ चीनमा कोभिड-१९ को भयावह स्थिति चल्दै गर्दा अमेरिका त्यही मुलुक थियो जस्ले ठोस वस्तुगत सहयोग नगरेर चर्को टीका टिप्पणीका साथ चीनलाई हतोत्साहित गरिरहेको थियो। यो फोनवार्तापछि ट्रम्पले चीनप्रतिको रवैया फेरे र सहयोगका लागि वातावरण बनाए।

भौगर्भिक रूपमा उच्च जोखिममा पर्ने चीनले चमत्कारकै शैलीमा बारम्बार प्रमाणित गरेको छ कि गरे जे पनि संभव छ। यतिखेर कोरोनाले चिनियाँ जीवन तहसनहस बनाइरहेको छ र नजाने कहिलेसम्म डावाँडोल बनाउँदै जाने हो। तर संकटको घडीमा पनि चीनले जुन ढंगले १ अर्ब ४० करोड जनतामा सहजै राहतको अनुभूति गराउन सकेको छ, त्यो कुनै पनि देशका लागि अनुकरणीय विषय हो। भारतको जवाहरलाल नेहरू विश्वविद्यालय अन्तर्गत पूर्वी एसिया अनुसन्धान केन्द्रका प्रमुख श्रीकण्ठ कोन्दापाली भन्छन्, ‘रोग प्रतिरोध सम्बन्धी चीनको कदम एकदमै तीव्र रहेकाले अन्य मुलुकका लागि सिक्न लायक अनुभव हो।’

स्वास्थ्य सम्बन्धी मामिला भएकाले अस्पताल, औषधी, चिकित्सक, स्वयंसेवी, अन्तर्राष्ट्रिय समन्वय, सर्वसाधारणको जीउधन, दैनिक जीवनसँग सम्बन्धित कुराहरूको यति व्यवस्थित रूपमा परिचालन गर्नसक्नु सानो कुरा थिएन। साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद चीनको खुलापन, विविध सशक्त कदम र सम्बद्ध अनुसन्धान प्रतिफलबाट सारा विश्व लाभान्वित हुने ठान्छन्।

वास्तवमा त्यस्ता केही अत्यावश्यक कुराहरू जुन चीनले विना अलमल झटपट पूरा गर्न सकेको छ, त्यो महामारीका बेलामा राजनीतिक नेतृत्व, जिम्मेवार निकाय र श्रोतसाधनको परिचालन अरू मुलुकका लागि पनि उदाहरण बन्‍न सक्छ।

१०/१२ दिनमै अस्पताल जनवरी २४ तारिखदेखि दिनरात नभनी ४ हजार कामदारले दुई शिफ्टमा खटिएर १० दिनमै ‘हो शन शान’ अस्पताल बनाइभ्याए। सन् २००३ मा बेइजिङमा एक सातामा स्याउथाङशान अस्पताल बनाइएको थियो। त्यसको १७ वर्षपछि, कोरोना भाइरसविरूद्ध लड्न चीनले गत फेब्रुअरी २ तारिखमा १ हजार शैय्याको अस्पताल बनायो।

महामारी तीव्रताका साथ फैलिएका बेलामा यो अत्यावश्यक परियोजना थियो। यो प्रविधिको चमत्कार मात्रै थिएन, चिनियाँहरूको सहिष्णु तथा एकतावद्ध भावनाको प्रतिक थियो। वुहानको तीव्र गतिको अस्पताल संरचना निर्माणले जिज्ञासा पनि उब्जाएको छ, कसरी चीनले निर्माण अवधि यसरी छोट्याउन सक्यो ? यति हतारोमा बनिएको अस्पताल सुरक्षित छ ? प्रिफेब्रिकेटेड मोड्युलबाट बनेको अस्पतालका लागि फ्याक्ट्रीमै तयार पारिएका उपकरण ट्रकमा हालेर निर्माणस्थलमा जडान गरिएको थियो। विज्ञहरूका अनुसार प्रविधिमैत्री चिनियाँले सहज ढंगले जिम्मेवारीपूर्वक निर्माण गरेको यो अस्पताल पूर्णतया सुरक्षित छ।

यो अस्पताल निर्माणाधीन छँदा जनवरी २६ तारिखदेखि शुरू भएको ‘लैशनशान’ अस्पताल पनि १२ दिनमै निर्माण सम्पन्‍न भएको हो। ७९ हजार ७०० वर्गमिटर क्षेत्रफल रहेको सो अस्पतालमा १६ सय शैय्या क्षमता छ भने २ हजार चिकित्सकले काम गर्न सक्छन्। फेब्रुअरी ८ तारिखदेखि यसले बिरामीलाई सेवा दिन थालेको हो।

कामको चटारोबीच जनवरी २९ मा चीनले वुहान सहरको ह्‍वाङ्चौ जिल्लामा २ दिनमै ह्वाङ्काङ् नामक अस्पताल बनाएर विश्वलाई चकित बनायो । फेब्रुअरी ३ देखि नै अस्पतालमा १ हजार बिरामीलाई उपचार गर्न थालिएको थियो।

वुहानस्थित इन्टरनेसनल कन्भेन्सन तथा प्रदर्शनी केन्द्र यतिखेर वर्गाकार कक्ष अस्पतालमा रूपान्तरित भएको छ। फेब्रुअरी ५ तारिखदेखि त्यहाँ झण्डै २ सय जना बिरामीले उपचार गर्न सक्छन्। होङशान रंगशाला र वुहान सांस्कृतिक लिभिङ रूम पनि वर्गाकार अस्पतालमा रूपान्तरित भएका छन्। तीनवटा अस्पतालमा गरी कुल ४४ सय शैय्या राखिएको छ। अन्य १३ वटा ठाउँमा पनि यस्ता कक्षहरू लगाएर कोरोना भाइरसविरूद्धको रणनीतिक लडाइँ थालिएको छ। तत्काल आवश्यकतालाई चिन्‍नसक्ने र हतारोमा पनि परिपक्‍व काम गर्न सक्ने यो शैलीले प्रष्ट्याउँछ, चाहेमा गर्न नसकिने केही रहेनछ।

चिकित्सा स्रोत  बिरामीको चाप बढेपछि चिकित्सकहरूको परिचालन अपरिहार्य थियो। चीनमा प्रान्त प्रान्तबीच एउटा हार्दिक सहकार्यको भावना छ। यहाँ एउटा प्रान्तले अर्को प्रान्तलाई सहयोग गर्छन् र एकअर्काको उत्थानका लागि सहकार्य गर्छन्। कोरोना भाइरसका संक्रमितहरूको संख्या दिनप्रतिनदिन उक्लिरहेको बेला सानोतिनो जनशक्तिले भ्याउनेवाला थिएन। चीनका अनेकन प्रान्तबाट टोली टोली बनाएर स्वयंसेवी रूपमा चिकित्साकर्मीहरू खटिए। अस्पतालमा व्याप्त सर्वसाधारणको कोलाहलका बीच कुनै डाक्टरले खाने, बस्ने सुविधाको गुञ्जायस नगरिकनै सेवा दिइरहेका छन्।

सुगम वा दुर्गमको गुञ्जायस रहेन बरू पेशागत जीवनमा नयाँ संघर्षको अनुभव बटुल्ने मौका मिल्यो चिकित्साकर्मीहरूलाई। अतः घरपरिवारको सान्‍निध्य छोडेर कोरोना विरूद्धको युद्ध मैदानमा होमिन कुनै चिकित्साकर्मीले आनाकानी गरेन। आइपरेको खण्डमा निर्देशन पालना गर्न ज्यानकै बाजी राख्नसक्ने चिकित्सक हुनु पनि चीनका लागि गौरबको विषय हो। बिरामीका लागि भगवानको अवतार लिएर लागिपर्ने चिकित्सक अस्पतालसम्म कसरी पुगे? चिकित्सा सामग्रीहरूको अभाव हुन नदिन हरेक निकाय उत्तिकै चनाखो भएको देखिन्छ। उचित समन्वय गर्न सकियो भने विपत्तिका बेलामा स्वयंसेवी, स्वास्थ्य उपकरणका स्रोत साधनदेखि जनशक्ति व्यवस्थापन गर्न नसकिने भन्‍ने होइन भन्‍ने अर्को उदाहरण यो पनि हो।

लक डाउन– यदि चीनले बेलैमा सम्पूर्ण क्षेत्रहरू ‘लक डाउन’ गर्न नसकेको भए अहिले वुहानको महामारीले सारा चीन क्षीण भैसक्थ्यो। १ अर्ब ४० करोड जनसंख्यालाई यथास्थितिमा सीमित पार्नु सहज कुरा होइन। चीनमा निर्माण गरिएका घरआवासको संरचनाले पनि यो संभव भयो। ठूला आवास क्षेत्रमा भएका कम्पाउण्डका ढोकाहरू बन्द गरेर निश्चित ढोकाबाट आवतजावत गर्ने र गेटमै आउने जाने मानिसको हाजिरी राख्ने, तत्कालै सबैतिर सूचना प्रवाह गर्ने छरितोपना उदाहरणीय छ। यसैकारण अहिले कोरोना भाइरसलाई साँघुरो घेरामा सीमित गर्न सकिएको छ। सर्वसाधारणलाई विश्वस्त तुल्याउन सकियो भने यो पनि असंभव काम होइन रहेछ।

बजार आपूर्ति कोरोनाका कारण वुहान सहर जनवरी २३ तारिखदेखि ‘लक्ड डाउन’ भयो। यसको संचार विश्वभरि भयो। वैज्ञानिकहरूले कोरोना भाइरसको प्रतिरोधका लागि मास्क महत्वपूर्ण हुने कुरा सुझाए। लगत्तै बजारमा मास्कको अभाव हुन थाल्यो। नेपाल घुम्न गएका केही चिकित्साकर्मी र अन्यले पनि हज्जारौं मास्क किनेर कोरोना प्रभावित क्षेत्रका अस्पताललाई हस्तान्तरण गरे। कतिपयले आफ्नो लगेजका कम महत्वपूर्ण सामान मिल्काए र मास्क भरेर चीन फर्किए। विश्वका विभिन्‍न ठाउँमा भएका चिनियाँले मास्क लगायत स्वास्थ्यका लागि अत्यावश्यक सामग्री चीनमा पठाए। चौबीसै घण्टा रमझम हुने विशाल चीन नै एकाएक ठप्पजस्तै भयो। सडक सुनशान भए। बजारमा मानिसहरूको भीड शून्यजस्तै भयो। सुपरमार्केटहरूमा सामग्रीहरूको अभाव देखिन थाल्यो। तथापि अपेक्षा छ, महामारी छिट्टै अन्त्य हुनेछ। केही समयका लागि मितव्ययी बनूँ। तर बजार मूल्य र नियन्त्रण राखेर जनताको असन्तुष्टी चुलिन नदिनु सानो खतरा टार्नु होइन।

नेपाल साप्ताहिकबाट साभार ।