ईपीएल स्थगित, सबै प्रतियोगिता रोकिने

२२ फाल्गुन २०७६, बिहीबार १६:०० मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

चीनबाट शुरू भएको कोरोना भाइरस संक्रकणको असर नेपाली खेलकुदमा पनि परेको छ। भाइरस संक्रमणको बढ्दो जोखिमका कारण नेपाली खेलकुदका प्रतियोगिताहरू पनि प्रभावित हुने भएका छन्।
१ चैतबाट शुरु हुने भनिएको ट्वान्टी–२० क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) स्थगित भएको छ। ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले अर्को सूचना जारी नभएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको बताए।
ईपीएल खेल्न यसपालि विश्व क्रिकेटका हस्ती क्रिस गेल लगायतका खेलाडी आउने तय भएको थियो। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपालभर अहिले जारी प्रतियोगिताबाहेक अब अरु सबै प्रतियोगिता तत्कालका लागि रोकिने बताए।
“कोरोना भाइरस संक्रमण बढ्दो क्रममा छ। यो के हुन्छ भन्ने नै थाहा छैन। त्यसकारण हामी नेपालमा अहिले भइरहेकाबाहेक नयाँ प्रतियोगिता नगर्न परिपत्र गर्दैछौं,” सदस्यसचिव सिलवालले भने, “नेपाल सरकारले पनि भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न आह्वान गरिसकेको छ। त्यसकारण अहिले भइरहेका प्रतियोगिताबाहेक नयाँ प्रतियोगिता तत्काल नगर्न भन्नेछौं। हामी आज भोलिमै त्यसबारे निर्णय गर्दैछौं।”
अहिले शहीद स्मारक ‘बी’ डिभिजन लिग, पोखरामा आहा–रारा गोल्डकप, इलाममा माइभ्याली गोल्डकप, सर्लाहीमा राजा जनश्री बागमती गोल्डकप, मणिमुकुन्द रनिङ शिल्डलगायतका प्रतियोगिता भइरहेका छन्।
सरकारले यसअघि नेपाल भ्रमण वर्ष–२०२०, काठमाडौंमा हुने तय भएको ह्युमन राइट्स फिल्म फेस्टिवल, सगरमाथा संवाद लगायतका कार्यक्रम तत्कालका लागि स्थगन गरेको छ। अब फुटबलको विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालमा हुने भनिएको अस्ट्रेलिया र चाइनिज ताइपेईबीचको खेल, उपमेयर महिला फुटबल लिग–२०७६ लगायतका प्रतियोगिता तत्कालका लागि स्थगन हुने सम्भावना बढेको छ।
त्यस्तै, अत्यावश्यकबाहेक कोरोना भाइरस संक्रमण भएका देशमा भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ। साथै, सरकारले भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरू नगर्न अनुरोध गरेको छ।  राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले जारी प्रतियोगिता पनि रोक्न सकिने संकेत गर्दै राखेपले छिट्टै निर्णय गर्ने बताए। उनले यसबारे आन्तरिक परिपत्र भइसकेको बताए।