आहा रारा गोल्डकपको खेल तालिका सार्वजनिक

२१ फाल्गुन २०७६, बुधबार १०:४७ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

पोखरामा वर्षेनी आयोजना हुने ‘आहा रारा गोल्डकप’ को १८ औँ संस्करण यही फागुन २२ गते देखि चैत्र १ गतेसम्म पोखरा रंगशालामा आयोजना हुँदैछ ।

अखिल नेपाल फुटबल संघले दिएको तालिका अनुसार नै प्रतियोगिताको मिति तय गरिएको आयोजक सहाराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।सहाराले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि खेल तालिका पनि सार्वजनिक गरेको छ ।
प्रतियोगितामा सामेल रुसलान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल आयल निगम मनाङ्ग म¥याङ्गदी क्लब, ब्रिगेट व्बाईज क्लब, नेपाल पुलिस क्लब, नेपाल ए. पि. एफ. क्लब, संकटा क्लब, झापा ११ फुटबल क्लब, गान्टोक सिटी फुटबल क्लब, भारत र सहारा क्लब पोखराबीचको खेल तालिका पनि प्रकाशित भएको छ ।

प्रतियोगिता संयोजक तथा क्लबका उपाध्यक्ष हरिराम गुरुङका अनुसार उद्घाटन खेल ब्रिगेड ब्वाइज र आयोजक सहाराबीच हुनेछ भने २३ गते सशस्त्र प्रहरीको एपिएफ क्लब र झापा–११ भिड्नेछन् । २४ गते सहारा र ब्रिगेडबीचको विजेताले बाइ पाएको नेपाल पुसिलसँग प्रतिष्पर्धा गर्नेछ । यसैगरि २५ गते बाइ पाएको मनाङ मस्र्याङ्दीसँग एफिएफ क्लब र झापा–११ को विजेताले प्रतिष्पर्धा गर्नेछ । २६ गते गान्तोक फुटबल क्लब र थ्रिस्टार भीड्ने छन् । २७ गते संकटा र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ भने २८ समूह ए को र २९ गते ससमूह बिको सेफिफाइनल तय गरिएको छ । फाइलन भने १ चैतमा हुनेछ । १७ औं संस्करणको विजेता रुसलान थ्रिस्टार क्लब र उप विजेता त्रिभुवन आर्मी क्लब रहेको थियो । अहिलेको प्रतियोगितामा लिग बिजेता मछिन्द्रले भने सहभागिता जनाएको छैन ।

आयोजक सहारा क्लबले क्याराभान गोल्डकपदेखि सुरु गरेको यो यात्रा अब १८ औँ संस्करणसम्म आइपुगेको छ । सहयात्री एसियाकै पहिलो चाउचाउ ब्राण्ड ‘रारा’सँग जोडिएपछि प्रतिष्ठित प्रतियोगितामा ‘आहा रारा’को फुर्को जोडिएको हो । त्यसो त, आहा पनि रारा उत्पादक हिमश्री फुड्सकै सहउत्पादन हो ।
‘आत्मा साक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौँ’ भन्ने भावनासहित २०५५ सालमा पोखरामा पुरानो बसपार्क क्षेत्रमा सहाराको स्थापना भएको थियो । बसपार्कको व्यवस्थापन, शान्ति सुरक्षा तथा सरसफाइमा युवाहरुलाई परिचालन नै क्लबका सुरुवाती कार्यक्रम थिए । संस्थापक अध्यक्ष थिए, बसन्त थकाली । खेलकुदप्रति रुचि राख्ने थकालीले सहारालाई खेलकुदसँग जोडे । उनकै अगुवाईमा २०५८ सालमा क्याराभान गोल्डकप आयोजना गरियो । त्यसपछि भने क्लबले पछि फर्केर हेरेन ।अर्कोवर्ष पोखराकै प्रतिष्ठित हिमश्री फुड्सले फुटबल प्रतियोगिता आयोजनामा काँध थाप्यो । प्रतियोगिता निरन्तरख आयोजना हुने वातावरण बन्यो । सहाराको यो अभियानमा बेलायतमा रहेका नेपालीहरुले खुबै सघाए । सहयोग र मित्रताको हात बढाउने अगुवा थिए, नविन गुरुङ । उनकै अगुवाईमा बेलायती नागरिकहरुले सहारालाई सघाए । खेल आयोजनामा अब्बल देखिएको सहाराले भरथेग मात्रै पाएन, समाजसेवाको चौघेरा ठूलो बनायो । अनाथ र असहाय बालबालिकारुलाई समेटेर उसले सहारा एकेडेमी नै चलायो । सहाराले अनाथ र असहायहरुलाई सहयोग मात्रै गरेन,खेलाडी उत्पादनमा पनि योगदान दियो । सहाराकै उत्पादन अनिल गुरुङले नेपाली राष्ट्रिय टिमकै कप्तानी सम्हाले ।

क्लबका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार योपटक प्रथम र दोश्रो पुरस्कारको विगतको धनराशीमा बृद्धिगरि क्रमशः १० लाख १ हजार र ५ लाख १ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ । प्रतियोगिताको अनुमानित आम्दानी १ करोड १८ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च ९९ लाख ३८ हजार ५ सय रुपैयाँ प्रक्षेपण गरिएको छ । प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । एकेडेमीमा हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।
यतिबेला खेलस्थल पोखरा रंगशालाको स्वरुप पनि फेरिएको छ । धुलेचौरमा बसेर फुटबल हेर्ने बाध्यता हटेको छ । करिब १३ हजार दर्शकले आहा रारा गोल्डकप नयाँ बनेको प्यारापिटमा बसेर हेर्न पाउनेछन् । त्यसैले यो प्रतियोगितामा आयोजकले प्रि–क्वाटरका खेलहरुको १ सय क्वाटरफाइनलको १५०,सेमिफाइनलको २ सय र फाइनलको २५० रुपैयाँ प्रवेश शुल्क तोकेको छ । पत्रकार सम्मेलनमा हिमश्री फुड्सका अध्यक्ष तथा संघीय सांसद सूर्यबहादुर केसीले खेलकुदको विकासको लागि निरन्तर सहयोग पु¥याउने उद्घोष गरे ।
सुजललाई सम्मान
सहारा क्लबले १८आँै संस्करणको आहा रारा गोल्डकपको मेसोमा राष्ट्रिय खेलाडी सुजल श्रेष्ठलाई सम्मान गर्ने भएको छ । उनलाई ३५हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ । यसअघि राष्ट्रिय खेलाडीहरु भरत खवास र रकम चेम्जोङ सो पुरस्कारबाट सम्मानित भइसकेका छन् ।