सुन्तलाबाट म्याग्दीमा २२ करोड १४ लाख भित्रियो

१३ फाल्गुन २०७६, मंगलवार १९:५४ मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता

यस वर्ष यहाँका कृषकले सुन्तला निर्यातगरी २२ करोड १४ लाख नगद आर्जन गरेका छन ।

दुर्गम धौलागिरी गाउँपालिका बाहेकका बेनी नगरपालिका तथा अन्नपूर्ण, रघुगंगा, मंगला र मालिका गाउँपालिकाका विभिन्न वस्तीका सुन्तला बगैचाका सुन्तला थोक मुल्यमा पोखरा, काठमाण्डौ समेतका बजारमा निर्यात गरी आर्थिक लाभ लिएका हुन । ग्रामिण वस्तीसम्म सडक पहुँच बढेपछि म्याग्दीका गाउँमा सुन्तलाको ब्यवसायीक खेती फस्टाएको छ ।

प्रधानमन्त्री कृषी आधुनिककरण परियोजना अर्न्तगतको सुन्तला जोन कार्यालय बेनीको अभिलेख अनुसार यस सिजनमा म्याग्दीका १ सय ७२ वटा कृषी सहकारी, समुह तथा निजी फर्मका ४३ हजार ६ सय ५२ ब्यवसायीक बोटबाट ३ हजार ६ सय ९० मेट्रिक टन सुन्तला जिल्लाबाहिर निर्यातगरी प्रति टन ६० हजारका दरले २२ करोड १४ लाख नगद जिल्ला भित्राएका हुन ।

‘सुन्तला खेती गरेका कृषक निराश छैनन । सुन्तला बजार देखेपछि अन्य कृषकको आर्कषण बढ्दो छ’ सुन्तला जोन संञ्चालक समितिका अध्यक्ष, अगुवा सुन्तला कृषक तथा थोक ब्यापारी खिमबहादुर पुनले भने, ‘बेनी नगरपालिकाको मुख्य सुन्तला पकेट क्षेत्र बास्कुना, सुर्केमेला, राखुमा सुन्तला फुल लागेको बेला परेको असिनाले धेरै नष्ट गरेपछि अपेक्षित उत्पादन भएन । अर्को वर्ष थप १५ हेक्टर क्षेत्रफलमा लगाएको सुन्तलाले फल दिने विश्वास गरेका छौं ।’

सुन्तला जोन कार्यालयको तथ्याङ्ढ अनुसार बेनी नगरपालिकाबाट सवैभन्दाबढी १ हजार ४ सय ११ मेट्रिक टन, मालिका गाउँपालिकाबाट ७ सय १० मे.टन, अन्नपूर्ण गापाबाट ६ सय ४४ मे.टन, मंगला गापाबाट ४ सय ९० मे.टन र थोरै रघुगंगाबाट ४ सय ३३ मेटन सुन्तला निर्यात भएको छ ।

ग्रामिण वस्तीसम्म सडक पहुँच पुगेपछि कृषकले शुरु गरेको ब्यवसायीक सुन्तला खेतीले परम्परागत जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ । सुन्तला खेतीमा राम्रो आर्कषण देखेपछि तराईका मारवाडी समुदाय समेत पहाडमा उक्लेर सुन्तला खेती गर्न सुरु गरेका छन ।

‘समुदायले ऋण खोजेर खनेको कच्ची सडक अहिले उपयोगी भएको छ । बारीबाट सुन्तला वेचेर पैसा हात लागेपछि गाउँलेहरु कोदो बारीमा सुन्तला खेती विस्तार गरेका छन’ मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले भनिन्, ‘गाउँमा सडक पुगेपछि सुन्तला मात्र होईन अन्य कृषी उपज पनि बजार पुर्‍याउन सजिलो भएको छ । कृषकमा जाँगर बढेको छ ।’

ब्यापारी हात–हातमा पैसा र गाडी लिएर सुन्तला खोज्दै कृषकको वारीमा पुग्न थालेपछि कृषकको आर्थिक जीवनमा फेरवदल ल्याउन थालेको छ ।  ग्रामिण सडक उत्पादनशील हुनु पर्छ । नगद आम्दानी विना जीवनस्तर उकासिन सक्दैन । सडक भए यातायात चल्छ, ढुवानी सहजहुँदा गाउँको उत्पादन  बजार पुग्छ, दैनिक उपभोग्य बस्तु सस्तो मुल्यमा दैलोमा आईपुग्छ ।

सुन्तला जोन कार्यालयको अभिलेख अनुसार जिल्लामा ३ हजार ७ सय ७७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । गत बर्ष ४ हजार ५ सय ४८ बोटमा ३ हजार ६ सय मेट्रिकटन सुन्तला निकासी भएको थियो ।

‘म्याग्दीखोला, रघुगंगा र कालीगण्डकी नदीको दुवै कोखामा रहेका वस्तीमा सुन्तला खेतीको अनुकुल वातावरण छ । कृषकलाई थप ब्यवसायीक वनाउन तालिम, अनुदान र निरोगी बेर्ना उत्पादन/वितरण र रोगको उपचारमा कृषकको घरदैलोमा पुग्ने प्रयास गरेका छौं’ सुन्तला जोन कार्यालयकी नायव प्राविधिक सहायक रुपा विकले भनिन, ‘असिनाले असर गरेकोले यो वर्ष उत्पादन घटेको देखिन्छ । मौषम अनुकुल भए अर्को बर्ष कम्तीमा ५ हजार मे.टन उत्पादन बढाउने लक्ष्य छ ।ं’

सुन्तला जोन कार्यालयका अनुसार बेनी नगरपालिकाका नं ३, ४, ९ वडाका भकिम्ली, बास्कुना, नेप्टेचौर, अन्नपूर्ण गाउपालिकाको १–७ वडाका दोवा वेशी, भुरुङवेशी, दाना, नारच्याङ, घारा र हिस्तानको तल्लो क्षेत्र, रघुगंगा गापाको वडा १ बेगवान्दुक, २ भगवती, ३ पिप्ले र ५ झिंको पुछार क्षेत्र, मंगला गापाको कुहुँ, बाबियाचौर, अर्मन, बरंजासमेत सवै वडा र मालिका गापाको ४–७ का वडाका देविस्थान, ओखरवोट, विमलाई सुन्तला जोन बनाईएको छ । सुन्तलाको खेती हुने सवै वस्ती कम्तीमा हिउँदे सडक जोडिएका छन ।

‘दोसल्लेका सवै ४४ घरका बारीमा हाल २—५ बर्षका दुई हजार एक सय, फल दिने दुई हजार दुई सय सुन्तला छन’ अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष समेत रहेकी सुन्तला कृषक केशमाया पुनले भनिन, ‘यो वर्ष दुई हजार सुन्तला र २ सय कागतीका बोट थपेका छौं । विस्तारै पुरै गाउँ सुन्तला जातका फलफुलको बगैचा बनाउँने लक्ष्य छ ।’