महामारीले जाति वा समुदाय देख्दैन, तर तिनैलाई दोष ?

९ फाल्गुन २०७६, शुक्रबार २०:४३ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

कोरोनाभाइरस प्रसार हुने क्रम बढ्दै जाँदा अर्को असर पनि फैलिएको छ– विभेद। चीन भित्र वुहानका जनतालाई कुनैबेला कुष्ठरोगीलाई गरिने दुव्र्यवहार दोहोराइन्छ। चीनबाहिर चीनियाँ जनतालाई मौखिक र भौतिकरुपमै दुव्यर्वहार गरिएको, चिनियाँ रेष्टुरेण्टलाई घृणा गरिएको घटना सार्वजनिक भएका छन्।
विडम्बना, यो नयाँ प्रवृत्ति भने होइन। मानव जातिको इतिहासमा यस्ता महामारी पटक–पटक फैलिएका छन्। र, हरेकपटक महामारी फैलिँदा कुनै न कुनै समुदायलाई त्यो रोग फैलाएको लाञ्छना लगाइने गरिएको छ। तर, पटक–पटक पुष्टि भएको सत्य हो – रोगले कसैलाई विभेद गर्दैन। वास्तवमा, कोरोना भाइरसजस्ता रोगव्याधीले हाम्रो साझा मानवतामाथि आएका संकट सम्झाइरहन्छन्।
एकपटक प्लेगको महामारी सम्झौं। कालो मृत्यु भनेर चिनिएको यो महामारी सन् १३४८ मा युरोपमा फैलिएको थियो। यसले केही वर्षमै युरोपको जनसंख्याको एक चौथाईको ज्यान लिएको थियो। मृत्युको मात्रा बढ्दै जाँदा केही क्रिश्चियनहरूले यहुदीहरूको आलोचना गर्न थाले। केही यहुदी समुदाय शुरुमा यो महामारीबाट जोगिएका थिए। त्यही उदाहरण देखाएर उनीहरूले महामारी फैलाउनमा यहुदीको हात रहेको आरोप लगाए। त्यतिबेला रोगहरू किटाणुका लाग्छन् भन्ने थाहा भइसकेको थिएन। उनीहरूले यहुदीहरूले इनारहरूमा विष छरेको लाञ्छना लगाए। ‘यहुदीहरू क्रिश्चियनहरूको शासनको अन्त्य चाहन्छन् त्यसैले उनीहरूले विष र चीज दलिएका भ्यागुता र माकुराहरूमार्फत् विष फैलाए’ भन्ने दावी गरे।
यो अतिवादी धारणाले निम्त्याएको रक्तपात प्लेग जत्तिकै डरलाग्दो थियो। अहिले जर्मनीमा रहेका यहुदी समुदायका सयौं मानिसहरू यसको शिकार बने। शहरका चोकहरूमा मानिसको भीडले यहुदीहरूलाई जिउँदै जलाउन थाल्यो। ‘महिला र उनीहरूका सन्तानहरूलाई क्रुरता र अमानवीयतापूर्वक बलिरहेको आगोमा फालियो’ – त्यतिबेलाका एक अभिलेखकर्ताले लेखेका छन्।
प्लेगको महामारी जति जति बढ्दै गयो, त्यति नै मात्रामा यो हिंसा पनि फैलियो। स्पष्टै छ, यो आमसंहारले प्लेगको महामारी त रोकिएन। त्यसपछि फैलिएका महामारीमा यही तहको क्रुरता त रहेन तर कसै न कसैलाई बलिको बाख्रा बनाउन भने छोडिएन। खासगरी आफ्नो भन्दा फरक समुदायका मानिसलाई मासेपछि रोगबाट बचिन्छ भन्ने विश्वास भने कायमै रह्यो।
यसको एउटा उदाहरण १५ औं शताब्दीमा भएको भिरंगीको प्रकोप हो। प्लेगको विपरीत यसले रोगीलाई बिस्तारै माथ्र्यो। प्लेगजस्तै गरी यसले पिडा दिँदैनथ्यो। तर जसै यो भिरंगी युरोपभरि फैलियो विदेशीहरूलाई यसका कारकको ठहर्‍याइन थालियो।
एकजना इतिहासकारले लेखेका छन् – ‘हरेक राष्ट्रिय समूहले अर्को समूहलाई भिरंगीको कारक ठहराउँथ्यो।’ जर्मनले फ्रेञ्चलाई ‘फ्रेञ्च रोग’ भन्दै आरोप लगाए। फ्रेञ्चले इटालीयनहरूलाई आरोप लगाए। पछि पोल्याण्डकाहरूले रुसीलाई आरोप लगाए, पर्सियालीले तुर्कहरूलाई। मुसलमानले हिन्दुलाई लाञ्छना लगाए, जापानीले पोर्चुगालीहरूलाई ।
कुनै रोगबाट बच्न आफूभन्दा फरक व्यक्तिलाई बहिस्कार गर्ने यो प्रवृत्ति काम लाग्दो थिएन तर यसले निश्चित समूहका मानिसलाई भने प्रभाव पाथ्र्यो। जर्मनहरूले फ्रेञ्च वेश्यालाई अस्वीकार गर्न थाले, फ्रेञ्चले इटालीयनहरूलाई तैपनि युरोपभरी भिरंगी फैलिन भने छोडेन।

संसारभरी कोरोना भाइरस फैलिरहेको समयमा बिर्सनै नहुने तथ्य के हो भने, कोही पनि मानिसलाई यो भाइरसको संक्रमण ऊ जस्तै अर्को मानिसबाट भएको हो। यसमा कुनै जाति, समुदाय वा देशवासीलाई लाञ्छना लगाउनु गलत हो।

संयुक्त राज्य अमेरिकामा पनि यस्तै भएको थियो। १९ औं शताब्दीमा पटक पटक भएका ठूला बसाईसराईले यो देशमा आधारभुत रुपमै परिवर्तन ल्याएको थियो। र, यसरी बसाईसरी आउने हरेक जातिय समुदायले कुनै न कुनै रोग ल्याएको लाञ्छना व्यहोर्ने गरेको छ।
आइरिसहरूको अनुभव एउटा विशिष्ट उदाहरण हो। १९ औं शताब्दीको शुरुतिर ठूलो मात्रामा आइरिशहरू अमेरिका गए। दुर्भाग्यवश, उनीहरू अमेरिका पुगेसँगै शहरहरूमा हैजा फैलियो। क्याथोलिकहरूलाई घृणा गर्ने प्रोटेस्टेण्ट सम्भ्रान्तका लागि यही बहाना भइदियो। उनीहरूले यिनै आइरिसहरूले यो रोग ल्याएको ठहर्‍याए। रोगको नाम नै राखिदिए– ‘आइरिस रोग’।
सायद यस्तै चिन्तनको प्रभावमा परेर हो, केही राम्रा भनिएका डाक्टरले पनि मानिसहरूलाई समुदायविशेषलाई लाञ्छना लाग्नेगरी रोगीहरूलाई सल्लाह दिने गर्छन्। ‘आइरिसहरूले जस्तो व्हिस्की नखाऊ’, उनीहरू भन्छन्, ‘पानी पिउ, पानी।’ खासमा हैजा सार्वजनिक इनारहरूबाट फैलिएको थियो। तर, रोगलाई निश्चित समुदायसँग जोड्ने मुर्खता गरिएको थियो।
यसरी कुनै रोगका लागि लाञ्छना व्यहोर्नुपर्ने अरु समुदायहरू पनि छन्। युरोपमा प्लेग र टाइफाइड भित्र्याएको भनेर दुव्र्यवहार भोगेका यहुदीलाई संयुक्त राज्य अमेरिकामा क्षयरोगका संवाहक भनेर लाञ्छना लगाइयो। अमेरिकामा क्षयरोगलाई ‘यहुदी रोग’ वा ‘सूचीकार रोग’ भनिन्थ्यो किनभने धेरैजसो यहुदीले लुगा सिलाउने काम गर्थे। यहुदी विरोधीहरूले खुशीखुशी यो मान्यता प्रसार गरे। यहुदीहरू रैथाने ‘आंग्लो–सेक्सन’भन्दा विपरीत देख्दै रोगी, कमजोर देखिने प्रचार गरे। सत्य भने अर्कै थियो। यहुदी आप्रवासीहरू रैथानेभन्दा धेरै वर्ष बाँच्थे र उनीहरूमध्ये क्षयरोगी पनि निकै कम थिए। तर यी तथ्यले ‘जातीय सिद्धान्तवादी’हरूलाई सन् १९२० को दशकमा आप्रवासन रोक्ने माग गर्न रोकेन।
अरु महामारीमा पनि यस्तै प्रवृत्ति दोहोरिएको छ। सन् १९१६ मा अमेरिकाको न्यू योर्क शहरमा पोलियोको महामारी फैलियो। त्यतिबेला इटालीयन आप्रवासीहरू त्यो शहरमा बस्ती बसाउँदै थिए। केही डाक्टर र स्वास्थ्यकर्मीहरूले उनीहरूलाई नै यो रोगको कारक ठहर्‍याए। न्यूयोर्कका बासिन्दाले इटालियनहरूलाई पूर्णत बहिस्कार गरे। उनीहरूलाई त्यहाँ बस्नै दिइएन। तर पोलियोको महामारी फैलिन भने रोकिएन। वास्तवमा इटालियनहरूलाई आरोप लगाउँदै गर्दा नै धेरै रैथानेहरूमा पोलियो फैलिसकेको थियो।
वास्तवमा भाइरस वा ब्याक्टेरियाले वुहान हो कि वासिङ्टन भनेर वास्ता गर्दैनन्। तर, कुनै महामारी फैलिनुको कारकको रुपमा निश्चित देशका मानिसलाई वा समुदाय विशेषलाई आरोप लगाउने प्रवृत्तिले यो यथार्थबोध गर्ने चेतना गुमाइदिन्छ। सत्य के हो भने, भाइरस वा ब्याक्टेरियाले अगाडि जो भेटिन्छ उसैलाई शिकार बनाउँछन्।
संसारभरी कोरोना भाइरस फैलिरहेको समयमा बिर्सनै नहुने तथ्य के हो भने, कोही पनि मानिसलाई यो भाइरसको संक्रमण ऊ जस्तै अर्को मानिसबाट भएको हो। यसमा कुनै जाति, समुदाय वा देशवासीलाई लाञ्छना लगाउनु गलत हो।
– लेखक ‘युनिभिर्सिटी अफ् जर्जिया’मा इतिहासका सह–प्राध्यापक हुन्। ‘जापान टाइम्स’मा प्रकाशित लेखको नेपाली अनुवादः लक्ष्मण श्रेष्ठ। हामीले देखाापढीबाट लिएका हौं ।