उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

८ फाल्गुन २०७६, बिहीबार २१:४२ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता एपीएफ  र नेपाल पुलिस  भिड्ने भएका छन् ।
बेनीमा बिहिबार भएको सेमिफाइनलमा जित निकाल्दै एपीएफ र पुलिसले उपाधि भिडन्त पक्का गरेको हो । फाइनल खेल शुक्रबार हुनेछ । पहिलो सेमिफाइनलमा एपीएफले न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । एपीएफले मुख्य स्पाइकर प्रतिभा माली बिनाको न्यु डाईमण्डमाथि २५-९, २५-१५ र २५-१८ को सेटमा पराजित गर्यो ।
यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्यो । पुलिसले आर्मीमाथि २५-१९, २५-२३ र २६-२४ को सेटमा जित निकाल्दै एपीएफसँग भेट पक्का गरेको हो । अब आर्मीले भने तेस्रो स्थानको लागि न्यु डाईमण्डसँग खेल्नेछ । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् ।