FLASH NEWS
  • Loading...

अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी पुरा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०७ पटक पढिएको
अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी पुरा

अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।
अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो ।
महोत्सव तथा प्रतियोगिताको मञ्च व्यवस्थापन, खेलमैदान निर्माण, प्रचारप्रसार लगायतका तयारी पुरा भएको प्रचार प्रसार संयोजक कृष्णप्रसाद बरुवालले बताए । महोत्सवको गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले माघ १६ गते अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ्ग वेंशीमा भब्य समारोह विच उद्घाटन गर्ने छन । माघ १६–२१ सम्म चल्ने प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको तयारी तिब्र पारिएको गाउँपालिकाले जनाएको छ ।
‘अन्नपूर्ण गाउँपालिका दर्जनबढी अति संभावनायुक्त पर्यटकीय गन्तब्य र जलश्रोतको हव नै हो । प्रशस्त पूर्वाधारयुक्त संभावना छन तर जानकारी पर्यटक र पर्यटन ब्यवयासीसम्म प्रचार–प्रसार भएको छैन’ अन्नपूर्ण गाउँपालिका प्रमख डमबहादुर गर्वुजा पुनले भने, ‘पहिलो पर्यटन विकास, दोस्रोमा जलश्रोत विकास र तेस्रोमा खेलकुद हाम्रा संभावना र क्षमता भएकोले गाउँपालिकाको लगानी त्यसैमा केन्द्रीत गरेका छौं ।’
७० बर्ष अघि मानव पाईला पुगेको अन्नपूर्ण प्रथम हिमाल अवस्थित जेठो हिमाल अन्नपूर्ण र अन्य विभिन्न पदमार्गको प्रर्वद्धन गर्न गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । पर्वतारोहणमा ऐतिहाँसिक हिमालको अपनत्व ग्रहण गर्न अन्नपूर्ण गाउँपालिकाको नामाकरण गरिएको हो ।
सन १९५० जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ्गको बाटोहुँदैे नर्थ वेसक्याम्प हुँदै अन्नपूर्ण हिमाल आरोहण गरेका थिए । अन्नपूर्ण आरोहणको २ बर्षपछि मात्र सगरमाथा हिमाल आरोहण भएको हो । हिमाल आरोहणका हिसावले अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । महोत्सव स्थलबाट अन्नपूर्ण नर्थ वेसक्याम्प पुग्ने सवै भन्दा सजिलो र छोटो पदमार्ग जोडिएको छ ।
हिमाल अवस्थिती र आरोहणको इतिहाँस दुवै म्याग्दीमा पर्ने भएपनि अन्नपूर्ण हिमाललको लाभ कास्कीको पूर्वी वेसक्याम्पले मात्र लिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अन्नपूर्ण प्रथम बाहेक निलगिरी साउथ र बराह शिखर पनि अवस्थित छन ।
विश्व प्रख्यात अन्नपूर्ण चक्रिय पदमार्ग भित्र अवस्थित अन्नपूर्ण गाउँपालिकामा पर्यटन ब्यवसायीको रुचाएको अर्को अन्नपूर्ण–धौलागिरी सामुदायीयक पर्या पदमार्ग, अन्धगल्छी, तातोपानीका मुहानहरु, नारच्या–खोप्रा–बयलीहुँदै कास्कीको घान्द्रुक जोड्ने वराह पदमार्ग, तातोपानी–भुरुङ्ग–कालीदह हँदै धौलागिरी आईसफल जोड्ने अर्को पदमार्ग पनि चल्तिमा छ ।
त्यसैविच पर्यटन महोत्सवसँगै जोडेर अन्नपूर्ण अध्यक्ष कप खेलकुद प्रतियोगिता पनि आयोजना हुने भएको छ । अध्यक्ष कप खेलकुद प्रतियोगितामा महिला/पुरुष भलिवल, महिला/पुरुष बास्केटवल र पौढ पुरुष भलिवल समावेस छन । त्यसैगरी महोत्सवमा एकल नृत्य तथा सामुहिक नृत्य प्रतियोगिता पनि संञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
‘प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तिव्र पारेका छौं । पर्यटन प्रर्वद्धन र खेलकुद विकासमा गाउँपालिकाले प्राथमिकतामा राखेको छं’ गाउँपालिकाका प्रवक्ता समेत रहेका ६ नम्बर वडाध्यक्ष कृष्णप्रसाद बरुवालले भने, ‘गाउँपालिकाको बजेट मै महोत्सव गर्न १५ लाख र खेलकुद प्रतियोगिता संञ्चालन गर्न १० लाख बजेट ब्यवस्था गरेका थियौ ।’
खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका सवै ८ वटै वडाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा
पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार तथा प्रौढ भलिबलको बिजेता उपबिजेतालाई ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।