तपाईंलाई रिस कत्तिको उठ्छ ? यी हुन् रिस शान्त पार्ने २५ तरिका

१४ माघ २०७६, मंगलवार २०:०३ मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता
रिस स्वभाविक प्रक्रिया हो, तर यसलाई व्यवस्थापन गर्न नसक्दा बेफ्वाँकको झमेलामा फस्ने जोखिम बढी हुन्छ ।
२ माघमा गायिका आस्था राउत फेसबुकमा एकाएक क्रुद्ध अनुहारमा देखिइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै उनले फेसबुकमा भिडियो लाइभ गरिन्।
रिसको झोंकमा उनले सिंगो प्रहरी संगठनलाई अनेकन् शब्द प्रयोग गरेर गाली गरिन्। उनीमाथि दुर्व्यवहार भएको थियो, थिएन भन्ने फरक प्रश्न हो। तर, सत्य के हो भने उनले रिसको झोंकमा गाली गरिन्।
यस्तो रिस आस्था राउतलाई मात्र उठ्दैन। हामी धेरैलाई रिस उठ्छ र तत्काल प्रतिक्रिया जनाउछौँ। रिस मानिसको सामान्य स्वभाव हो। तर, रिसलाई व्यवस्थापन गर्न नसक्दा भने गम्भीर गल्ती हुन सक्छ। रिसको झोंकमा मानिसले गर्ने गालीले सम्बन्ध नै बिग्रन सक्छ। र, कहिलेकाहीँ त्यसले अनावश्यक झमेला पनि झेल्नुपर्छ। जसरी आस्था राउतले अहिले झेल्नु परिरहेछ।
त्यसो भए कसरी गर्ने त रिस नियन्त्रण ? विभिन्न अध्ययनको सहारामा हेल्थलाइन डट कमले यस्ता उपाय सुझाएको छ।
१. अंक गन्नुहोस्
जब–जब रिस उठ्छ दाह्रा नकिट्नुहोस्। अंक गन्न थाल्नुहोस्। सुल्टो उल्टो जताबाट गने पनि हुन्छ। धेरै रिस उठेको छ भने बढी संख्यासम्म गन्नुहोस्। यसो गर्दा तपाईंको मुटुको चाल कम हुँदै जान्छ र रिस पनि शान्त हुन्छ।
२. लामो श्वास फेर्नुहोस्
रिस उठ्दा श्वासप्रश्वास तीव्र हुन्छ। त्यसैले रिस उठ्दा ठ्याक्कै उल्टो तरिका अपनाउनुस्। बिस्तारै लामो लामो श्वास फेर्नुहोस्। नाकबाट सास लिएर मुखबाट फाल्ने गर्नुहोस्।
३. व्यायाम गर्नुहोस्
शारीरिक व्यायामले तपाईंका मस्तिष्कका नसाहरू शान्त बनाइदिन्छन् र रिस घटाइदिन्छ। त्यसैले रिस उठे हिँडडुल गर्नुहोस्, बाइक लिएर कतै निस्कनुहोस् नभए फुटबल खेल्नुहोस्। यी क्रियाले खुट्टासम्म रगत पुर्‍याउँछ। मस्तिष्कलाई शान्त बनाइदिन्छ।
४. मांसपेशीलाई खुकुलो बनाउनुहोस्
तनाव वा रिसमा हुँदा मांसपेशीहरू साह्रा हुन्छन्। त्यसैले रिस उठेको बेलामा सकेसम्म मांसपेशीलाई खुकुलो बनाउने प्रयत्न गर्नहोस्।
५. मन्त्र जप्नुहोस्
आफ्नो निम्ति कुनै एउटा शब्द वा वाक्यलाई मन्त्र बनाउनुहोस्। जतिबेला रिस उठ्छ त्यो मन्त्र बारम्बार दोहोर्‍याइरहनुहोस्। यसका लागि ‘शान्त’, ‘ठीक छ’ जस्ता शब्द उपयुक्त हुन सक्छन्।
६. पाखुरा र घाँटी घुमाउनुहोस्
घाँटीलाई ३६० डिग्रीमा घुमाउने र औंलाले कुममा छोएर पाखुरा घुमाउने अभ्यास योगको एक अंग हो। यसले तपाईंको रिस शान्त बनाइदिन्छ। यो अभ्यासका लागि बेग्लै ठाउँ पनि चाहिँदैन।
७. मानसिक अभ्यास गर्नुहोस्
जुन परिस्थितिमा रहँदा रिस उठिरहेको छ, त्यसबाट उन्मुक्त हुन मानसिक अभ्यास काम लाग्न सक्छ। त्यसका लागि शान्त कोठामा बस्नुहोस्। आँखा बन्द गर्नुहोस् र आफूलाई शान्त बनाउने कुनै दृश्य कल्पना गर्नुहोस्। त्यसरी कल्पना गरेको दृश्यलाई मनमनै हेर्ने प्रयास गर्नुहोस्। पूरै ध्यान दिनुहोस्। पानीको रङ कस्तो छ? हिमाल कति अग्ला छन्। चरा कसरी चिरबिर चिरबिर गरिरहेछन्। ध्यान दिनुहोस्।
८. मधुर संगीत सुन्नुहोस्
रिस शान्त गराउन संगीतले निकै सहयोग गर्न सक्छ। रिस उठेको बेलामा कानमा इयरफोन कोच्नुहोस् र मस्त गीत सुन्नुहोस्। गतिमा झुम्नुहोसु, रम्नुहोस्।
९. कुराकानी बन्द गर्नुहोस्
रिस उठेको बेलामा जे पनि भन्न सकिन्छ। तर, भनाइ नै छ, जिब्रो फलामको त हुँदैन तर, काँटीले भन्दा बढी घोच्छ। घोच्ने शब्दहरूले सम्बन्ध बिगारिदिन्छ। त्यसैले रिस उठेको बेलामा मौन बस्नु उपयुक्त हुन्छ। बच्चाहरूले जस्तै मुखमा गम लगाएसरी मौन बस्नुहोस्। यसरी मौन रहँदा जे कारणले रिस उठेको हो त्यसबारे तपाईंका विचार पनि केन्द्रित हुन्छन्। रिसाउनुको साटो तपाईं समाधानका उपाय खोज्नुहुनेछ।
१०. विश्राम लिनुहोस्
जिन्दगी अचेल निकै व्यस्त छ। यो व्यस्तताले पनि रिस उठाउन सक्छ। त्यसैले रिस उठेको बेला विश्राम गर्नु उपयुक्त हुन्छ। यस्तो विश्राम लिँदा एक्लै बस्नुहोस्। आफ्नो उत्तेजना कम हुने समय पर्खनुहोस्। रिसको बेलामा मानिसहरूलाई सुनाउँदा पनि सहीमा सही मिलाइदिने कोही न कोही भेटिन्छ। त्यसले झनै रिस उठ्न सक्छ। सम्झाउने, बुझाउने मानिससँग त उल्टो रिस उठ्छ, हैन त ?
११.  उपयोगी काम गर्नुहोस्
रिस ऊर्जा पनि हो। त्यो ऊर्जालाई कतै उपयोग गर्दा पनि रिस मर्छ। त्यो ऊर्जालाई स्वस्थवर्द्धक र उत्पादनमूलक काममा उपयोग गर्नुहोस्।
१२. डायरीमा नोट गर्नुहोस्
कहिलेकाहीँ यति धेरै रिस उठ्छ, धेरै प्रयास गर्दा पनि शान्त हुनै गाह्रो हुन्छ। त्यस्तो भए डायरी निकाल्नुहोस् र नोट गर्नुहोस्। आफ्ना भावना जति त्यहीँ पोख्नुहोस्। मनको बह पोखेपछि रिस पनि शान्त हुन्छ।
१३. शीघ्र समाधान खोज्नुहोस्
रिस यत्तिकै उठ्दैन त्यसको केही न केही कारण हुन्छ। तर, रिस समाधान होइन। तत्कालै गर्न सकिने समाधान बरू रिसको उपचार हुन सक्छ।
१४. जवाफको अभ्यास गर्नुहोस्
रिस उठ्दा कस्तो जवाफ दिनुहुन्छ ? ठीकै छ जवाफ दिनुहोस् तर अरूको सामुन्ने होइन। जे जवाफ लगाउँछु भन्ने सोच्नुभएको छ त्यसको अभ्यास गर्नुहोस्। अरुले नसुन्ने गरी जति गाली गरे पनि के नै फरक पर्छ र ? रिस चाहिँ शान्त हुन्छ।
१५. रोक्नुहोस् भन्ने चिन्ह लगाउनुहोस्
संसारैभरि प्रयोग हुने ‘रोक्नुहोस्’ संकेतले रिस रोक्न सहयोग गर्छ। यसले तपाईंलाई तुरुन्तै रोकिन मानसिकरूपमा तयार गराउँछ।
१६. दैनिक तालिका परिवर्तन गर्नुहोस्
तपाईंको दैनिक तालिका एकोहोरो हुँदा पनि रिस उठ्ने भएको हुन सक्छ। जीवनको एकरसताबाट जोगिन दैनिक तालिका परिवर्तन गर्नुहोस्।
१७. साथीसँग गफ गर्नुहोस्
रिस उठेको बेला जोसँग रिस उठेको छ ऊ सँग नबस्नुहोस्। बरू साथीसँग गफ गर्नुहोस्। विश्वासयोग्य साथीसँग सबै प्रसंग बेलिविस्तार लगाउनुहोस्। उसले अवश्य पनि त्यसलाई नयाँ कोणबाट हेर्न सघाउनेछ।
१८. हास्‍नुहोस्
खराब माहोललाई राम्रो माहोलले सुधार्छ। त्यसैले रिस उठ्दा कमेडी शो हेर्नुहोस्, जोक पढ्नुहोस्। हाँस्नुहोस्।
१९. कृतज्ञता ज्ञापन गर्नुहोस्
भनिन्छ नि, हरेक कालो बादलको वरिपरि चाँदीको घेरा हुन्छ। त्यस्तै सर्वत्र खराबी हुँदा पनि केही न केही त राम्रो भइरहेको हुन्छ। त्यो राम्रो के छ खोज्नुहोस्। अनि हेर्नोस् त, तपाईंको रिस शान्त पार्ने र सकारात्मक प्रतिफल दिने कति धेरै चिज तपाईंकै वरिपरि छन्। तीप्रति कृतज्ञ हुनुहोस्।
२०. समय लिनुहोस्
कहिलेकाहीँ रिसको झोंकमा जवाफ दिइहालिन्छ। पछि लाग्छ, त्यसरी नभनेको भए पनि खासै फरक पर्दैनथ्यो। त्यसैले जतिसुकै रिस उठे पनि जवाफ दिन हतार नगर्नुहोस्। समय लिनुहोस्। यो समयले तपाईंलाई शान्त बनाउँछ। सोचिसम्झी दिएको जवाफ त गतिलै हुन्छ होइन र ?
२१. चिठ्ठी लेख्नुहोस्
जसले रिस उठाएको छ त्यसलाई चिठ्ठी वा इमेल लेख्नुहोस्। तर, नपठाउनुहोस्। च्यातिदिनुहोस् वा मेटाउनुहोस्। यसरी रिस पोख्दा शान्त पनि भइन्छ। कसैलाई हानि पनि हुँदैन।
२२. क्षमा गरेको कल्पना गर्नुहोस्
बुद्ध भन्छन्, “कसैलाई क्षमा दिँदा उनीहरूको बानी त फेरिँदैन तर, तपाईंलाई हुन सक्ने हानि भने रोकिन्छ।” जसले रिस उठाउँछ, उसलाई क्षमा दिनुहोस्। क्षमा दिन गाह्रो हुन्छ। त्यसैले उनीहरूको अगाडि नै जानुपर्दैन। आफूले क्षमा दिएको कल्पना गर्नुहोस्।
२३.समानुभूति गर्न अभ्यास गर्नुहोस्
तपाईं जोसँग रिसाइरहनुभएको छ, उसको ठाउँमा भएको भए के गर्नुहुन्थ्यो होला ? कहिलेकाहीँ हामी आफ्नो कोणबाट मात्र हेरेर रिसाइरहेका हुन्छौं। उनीहरूको कोणबाट हेर्ने अभ्यास गर्दा के थाहा तपाईंले नयाँ समाधान फेला पार्नुहुन्छ कि ? त्यसो नभए पनि रिस त पक्कै शान्त हुन्छ।
२४. रिस देखाउनुहोस्
रिसको झोंकमा गाली गर्नु वा हातपात गर्नु पक्कै पनि समाधान होइन। तर, सौम्य तरिकाले सभ्य भाषामा पनि रिस देखाउन सकिन्छ। आफ्नो रिस जायज लाग्छ भने नरिसाइकन रिस देखाउनु उपयुक्त हुन्छ।
२५. रिसलाई सिर्जनामा बदल्नुहोस्
रिसलाई कुनै सिर्जनशील काममा पनि पोख्न सकिन्छ। चित्र कोर्ने, कविता लेख्ने वा बगैंचा स्याहार्ने काम नै गर्दा रिस त शान्त हुन्छ नै सिर्जनशीलता पनि बढ्छ। कसैलाई गाली गर्नुको साटो सिर्जनशील किन नबन्ने ?