आज:  | Tue, 05, Jul, 2022

दुर्गमका दुःख

९ माघ २०७६, बिहीबार १६:४१ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
हिमाली जिल्ला म्याग्दीको पश्चिम टुप्पोमा धौलागिरी हिमश्रृखलाका ६ वटा टाकुरा, चुरेन र पुथा हिमालको फेदीमा अवस्थित धौलागिरी गाउँपालिका भौगोलिक तथा सेवा सुविधाको हिसावले अति दुर्गम हो । धौलागिरी गापाका अधिकांश वस्ती अहिले बाक्लो हिउँले छोपिएको छ । ३ हजार ८ सय मिटर अग्लो देउराली पास काट्नै पर्ने बाध्यताले १ नम्बर वडा रहेको गुर्जा गाउँ त पैदलमार्गबाट विच्छेद नै भएको छ । गाउँपालिकाको १ र २ वटाको धेरै भाग ढोरपाटन सिकार आरक्षमा पर्छ । जिल्लाको कुल भुभागको ४५ प्रतिशत १०३७ बर्ग किलोमिटर क्षेत्रफल ओगट्ने धौलागिरी गाउँपालिका अनगिन्ती दुखले घेरिएको छ । ‘गर्भमा पर्यटन, जडिबुटी, जलविधुत लगाएत प्रशस्त संभावना बोकेर पनि दुखै दुखको घर हो, धौलागिरी गाउँपालिका’ गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन, ‘कर्मचारी नै नआउने/नटिक्दा गाउँसरकारको प्रत्याभुत गरानै हम्मे भएको छ । भुगोल जस्तो कठिन उस्तै छ, स्थानीयको चेतना स्तर । फेरिन्छ, हरेस खाएकी छैन ।’ गाउँ–गाउँमा सिंह दरवार पुर्‍याउने संघिय संरचना अनुसार राज्य पुनसंचना हुँदा राज्यले दिने सेवा पाउन उल्टो सास्ती पाएको गुनासो छ । धौलागिरी महिलाले नेतृत्व गर्ने देशका थोरै गाउँपालिका मध्य एक हो । कठिन भुगोल, विधुत, संञ्चार, यातायात, बैंक जस्ता आधारभुत सुविधाको न्यून पहुँच अझ स्थाई सरकार भनिने कर्मचारीको सँधैका अभाव धौलागिरी गाउँपालिकाका मुख्य चुनौति हुन । आधारभुत पूर्वाधार उपलब्ध नहुने र खटाएका कर्मचारी कार्यस्थल नआउँदा योजनाहरु कार्यान्वयन गर्न हैरानी छ । गाउँपालिका केन्द्रमा वैंक तथा प्रहरी पनि छैन । राम्रो संञ्चार अभाव छ । स्थानीय सरकार गठन भएको दुई बर्षमा बल्न, यो बर्ष धौलागिरीमा इन्जिनियर र लेखापाल पुगेका छन । ८ मध्य ६ वटा वडाले वल्न सचिव पाएको छ । एक गाउँ, एक कृषी/पशु प्राविधिकको नारा कागजमा सिमित छ । अझै सव ओभर सियर, कृषी र पशुका एक जना पनि प्राविधिक छैनन । अधिकांशल स्वास्थ्य चौकीमा अनमी र अहेवको पद रिक्त छ । ‘गाउँ–गाउँमा सिंहदरवार नारा आयो ब्यवहार आएन । गाउँपालिकामा दक्ष जनशक्ति नहुँदा कुनै कागजपत्र अंग्रेजीमा अनुवाद गर्न अझै सदरमुकाम धाउनु पर्ने बाध्यता छ’ धौलागिरी गाउँपालिका, १ गुर्जाका सेवाग्राही तिर्थबहादुर छन्त्यालले भने, ‘राम्रो संञ्चार सुविधा नभएकोले अलि ठूलो क्षमताको फाईल इमेल गर्न समेत बेनी पुग्नु पर्छ । विवाहमा फोटो/भिडियो खिच्ने प्राविधिक समेत बेनीबाट झिकाउनु पर्ने बाध्यता टरेको छैन ।’ धौलागिरी गाउँपालिका ४ मुना र ५ ताकमबाहेक अन्यत्र मोटर बाटो पुगेको छैन । त्यही सडकमा पनि हिउँदमा मात्र सवारी चल्छन । गाउँपालिकाको अधिकांश वस्ती माईक्रो हाईड्रो र सोलार वत्तिको भरमा छन । इन्टरनेट र टेलिफोन छैन । केहीमा बाहेक अधिकांश क्षेत्रमा मोवाईल फोनले पनि काम गर्दैन । लघुजलविधुत पनि विग्रेकोले गाउँपालिका केन्द्रमा त सोलार बत्ति एक मात्र विकल्प हो । ताकम र मुनामा आंशिक बाहेक अन्यत्र धान खेती पनि हुँदैन । हिउँदमा मात्र सवारी चल्ने कच्ची मोटरबाटो पनि यी दुई वडासम्म सिमित छ । ‘बैंकिङ्ग कारोवार गर्न समस्या भएकोले सदरमुकाममा सम्पर्क कार्यालय राख्न बाध्य भएका छौं’ प्रमुख प्रशासकिय अधिकृत गोविन्द नेपालीले भने, ‘राष्ट्र वैंकले तोकेको प्रभु बैंकलाई तोकेको हो तर आधारभुत सुविधा नभएकोले चार घन्टा तल ताकममा बसेको छं ।’ भौगोलिक विकटता, कर्मचारीको अभाव, टेलिफोन, इनटरनेट, विधु, सडक, कार्यालय भवन समेतका आधारभुत पूर्वाधारका समस्या मात्र छैन, धौलागिरी गाउँपालिका, केन्द्र विवादमा पनि फसेको छ । गाउँ कार्यपालिकाले केन्द्र विवाद टुँगो लगाएपनि असन्तुष्ट वडा ५ ताकमबासीले राजपत्रमा प्रकाशित मुनाको घट्टेखोला केन्द्र बदरगरी पाउन सर्वोच्च अदालतमा रिट हालेपछि अर्को कानुनी अल्झन थपिएको छ । ‘गाउँमा काम गर्नु भन्दा मलाई कहिले कर्मचारी खोज्न काठमाण्डौ मन्त्रालय पुग्छु त कहिले मुद्धाको प्रतिवादी लगाउन र तारेख धाउन’ अध्यक्ष पुनले थपिन्, ‘बैंकको सेवा लिन चार घन्टा तल ताकम ओर्लनु पर्छ । उपभोक्तालाई झन बढी सास्ती भएको छ । अन्य सेवा कार्यालय पनि छरिएकोले अर्को समस्या थपेको छ ।’ धौलागिरी गाउँपालिका मात्र होईन, हिमाली जिल्ला म्याग्दीको धौलागिरी पहिलो र टुक्चे पीकको फेदीमा अवस्थित रघुगंगा गाउँपालिका, निलगिरी, अन्नपूर्ण र बराह शिखरको फेदीको अन्नपूर्ण गाउँपालिकाको अवस्था पनि उस्तै छ । अर्को मालिका गाउँपालिका पनि भौगोलिक रुपमा विकट मात्र होईन आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा पनि पिछडिएको तथा दुर्गम हो । यी गाउँपालिकाका केही वस्ती यति सम्म दुर्गम र विकट छ कि हत्तपत्त कोही एक्लै हिँड्न डराउँछन, अझ महिला प्रायः एक्लै हिँड्न सक्दैनन । पातलो जनसंख्या भएका तर छिरिएका यी वस्तीका विचमा अग्ला पहाड, घना जंगल छिचोल्नु पर्ने र बाघ, भालुको अधिक आक्रमणले एक्लै हिंड्न असहजिलो भएको हो । ‘दुर्गम भेगका मागपनि धेरै छैनन तर गरी पुर्‍याउन उत्तिकै असहजिलो । ढुवानी लागतले साना बजेटका योजना आफै हराउने । कर्मचारी पुर्‍याउन र टिकाउनै गाहृो हुँदा योजनाको अनुगमन फितलो हुने रहेछ’ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘८ नम्बर वडा कुईनेमा पहिलो पटक सामुदायीक स्वास्थ्य चौकी स्थापना गरी अहेव/अनमी पुग्दा पहिलो पल्ट श्वास्थ्यकर्मी देखे, आफ्नै आगनमा औषधी देखे ।’