‘विप्लवले प्रचण्डसँग नभेट्ने भइयो भन्नुभयो’

३ माघ २०७६, शुक्रबार १८:१२ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

माओवादी राजनीतिमा मोहन कार्की उर्फ जीवन्त ‘म्यासेन्जर’ का रुपमा परिचित छन् । १० वर्षे सशस्त्र द्वन्द्वका बेला कार्कीले प्रचण्डको दूत बनेर राजा वीरेन्द्रका भाइ धीरेन्द्र शाहसँग दुईचोटि गोप्य वार्ता गरेका थिए ।
कांग्रेसका कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, खुमबहादुर खड्काहरुसँग पनि भूमिगत रहेकै बेला भेट गरेका कार्कीले जनयुद्धकै बेला माधव नेपाल, ईश्वर पोखरेल, विष्णु पौडेललगायतका एमाले नेतालाई प्रचण्डसँग भेट गराए । उनले भूमिगत कालमै केपी ओली र प्रचण्डका बीचमा समेत ‘म्यासेन्जर’ को काम गरे ।
‘त्यतिबेला मैले माधव नेपालले मात्र एमालेलाई गाइड गर्न सक्ने देखेको छैन, केपी ओलीजीलाई पनि भेट्नुपर्ला, उनी ‘राइज’मा आइरहेका छन् भनेर प्रचण्डलाई सुनाएको थिएँ’, कार्की सम्झन्छन्, ‘त्यसपछि सुप्रिम कमाण्डरकै स्वीकृतिमा मैले ओलीसँग भेटेको थिएँ ।’
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि भने विप्लवसँग लागेर कार्की प्रचण्डबाट टाढिए । उनी विप्लव समूहको पोलिटब्यूरो सदस्य बने । विप्लव समूहमा पनि उनको भूमिका उही वार्ताकारकै रुपमा बढी देखियो । तर, नेकपा नेता जनार्दन शर्मालगायतसँग केही चरणमा वार्ता चल्दै गर्दा कार्की गिरफ्तारीमा परे ।

अन्ततः यसै साता प्रचण्डको हातबाट टीका लगाएर कार्की सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । विप्लवको स्पष्ट कार्यनीति नभएको दाबी गर्ने कार्कीसँग विप्लव समूहभित्रका केही रहस्यहरु खोतल्ने प्रयास ।

तपाईंले १० वर्षे द्वन्द्वका बेला प्रचण्डको विश्वासिलो पात्रका रुपमा सचिवालयमा रहेर काम गर्नुभयो । शान्ति प्रक्रियापछि प्रचण्डको साथ छाडेर विप्लवतिर लाग्नु भयो । अन्तिममा फेरि अहिले प्रचण्डतिरै फर्कने स्थिति कसरी बन्यो ?
प्रचण्डको नेतृत्वमा मैले हेडक्वार्टर प्रतिनिधि भएर लामो समय काम गरेँ । देशलाई आमूल परिवर्तनतिर लाने उद्देश्यले मैले प्रचण्डलाई साथ दिएको थिएँ । परिवर्तनका ग्रहधारहरुलाई पुरानो राज्यले भेट्न नसक्ने हुनाले आन्दोलनमा होमिनु परेको थियो । यद्यपि, पुरानो सत्तासँग पनि कम्प्रमाइज गर्नुपर्ने अवस्था त आयो । तर, त्यो बेलामा हामी अधिकतम कति प्राप्त गर्न सकिन्छ भन्नेमा थियौं ।
आफ्नो मूल लक्ष्यलाई नगुमाई कति प्राप्त गर्न सकिन्छ भन्ने हिसाबले प्रचण्डलाई साथ दिएका थियौं । शान्ति प्रक्रियामा आउँदा पनि साथ दिएको हो । तर, त्यसपछिका दिनमा प्रचण्डले जनयुद्धको कार्यभार पूरा गर्न नसकेका कारणले हामीले दबाव समूह बनायौं । विचार समूह भनेर हामीले पार्टीभित्र मात्रै त्यसलाई कायम राख्नुपर्छ भन्ने मान्यता राखेका थियौं । प्रचण्डसँगै हुँदा पनि विभिन्न भेला, बैठक पनि गर्‍यौं । यद्यपि, समूहले प्रचण्डलाई दबाव दिन सकेन । त्यसपछि छुट्टै पार्टी नै बन्यो । त्यसबेला उहाँलाई पनि बाध्यात्मक अवस्था भए जस्तो लाग्छ ।
अहिले विप्लवले वार्ताका लागि खटाएकै बेला तपाईं ओली–प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गर्नुको कारण के पर्‍यो ?
मैले विप्लवतिर जाँदा पनि आफूले हिँजो गरेका कामको अपनत्व नलिनलाई समर्थन गरेको थिइनँ । आफूले गरेको कामको अपनत्व लिनुपर्‍यो, म पनि जनयुद्धको पहलकर्ता हुँ । सुरुवातदेखि लिएर कमजोरीको जिम्मेवारी लिनुपर्दैन ? त्यो लिने हिम्मत विप्लवजीले गर्नुभएको छैन ।

एक पटक बल्ल बल्ल प्रचण्ड र विप्लवबीच फोनमा कुराकानी भो । दुई जनाबीच भेट्ने कुरा पनि भएछ । तर, फेरि मन बदलेर विप्लवजीले भेट्न मान्नु भएन । बुझ्दै जाँदा त विप्लवलाई पार्टीकै केही उरन्ठेउला ठिटाहरुले भेटेर प्रचण्डलाई भेट्न हुँदैन, कुरा गर्नै हुँदैन, उसले त फसाउँछ भनेर उक्साउँदा रहेछन् ।

यहाँनेर चाहिँ के भन्नुभएको छ भने १७ हजार जनता प्रचण्डले मारे रे, उहाँलाई षड्यन्त्रकारी भनेजस्तो गर्नुभएको छ तर, अहिले जुन मुद्दा प्रचण्डलाई छ, त्यही मुद्दा विप्लवजीलाई पनि छ, मलाई पनि छ । प्रमुखको हैसियतले अहिले विप्लवजीलाई देशभरको मुद्दा होला, मलाई चौकीको होला । पछिल्लो समयको मुद्दा मैले पनि ८ महिना भोगेर आएको हुँ । तर, ती कार्यको नैतिक जिम्मेवारी नेतृत्वमा भएको व्यक्तिले लिनुपर्छ कि पर्दैन ? भनेर मैले विप्लवजीलाई सोधेको थिएँ ।
प्रचण्डमात्रै अपराधी हो भनेजस्तो किसिमले पेश हुन पाइँदैन । यस्तो गर्न नैतिकताले दिँदैन भन्ने कुरा मेरो थियो । अहिले तपाईंको प्रधान अन्तरविरोध प्रचण्डसँग हो वा वामपन्थीसँग हो वा अरुसँग हो ? दरबारियासँग हो कि कांग्रेससँग हो ? वा कोसँग हो ? प्रधान अन्तरविरोध के हो ? वर्ग विश्लेषण गर्नुस् भनेर भनेँ ।
यो कुरा म विप्लवजीतिर गएदेखि नै भनिरहेको छु, । हामीले कारबाही कसलाई लक्षित गर्नुपर्ने हो ? त्यो पनि छैन । अनि, अन्धाधुन्द दलभित्रको दलाल मात्र भनेर त हुँदैन नि । दलभित्रका सबै दलाल ? को हो दलाल ? हामी कसको पक्षमा हो ? कि कांग्रेस महान् हुन् भन्नुपर्‍यो, कि दरबार महान हुन् भन्नुपर्‍यो भनेर मैले हरेकपटक सोध्थेँ ।
यी प्रश्नहरुमा विप्लवबाट के जवाफ आयो त ?
अब दलभित्रको दलाल ! सबै दलमा दलाल छन् भन्नुहुन्छ । सबैजना दलाल हुन्छ त कहीँ ? पार्टीगतरुपमा वामपन्थी हाम्रो मित्रशक्ति हो कि होइन ? कार्यगत एकता कोसँग गर्न सकिन्छ ? कार्यगत एकता गर्न सकिन्छ भने अझै पनि ओली–प्रचण्ड नेतृत्वको नेकपासँग गर्न सकिन्छ ।
अरु वाम दलसँग गर्न सकिन्छ । वामपन्थी जति निकट अरु त हुन सक्दैन नि । सत्ताको हिसाबले अलिअलि लडाइँ त उनीहरुसँग पनि हुन्छ तर प्रधानशत्रु किटान गर्नु पर्‍यो नि ।
पार्टीको औपचारिक बैठक बस्दा त विप्लवजीले केही भन्नु हुन्थ्यो होला नि ?
म सिनियर पोलिटब्युरो सदस्य थिएँ । तर, पोलिटब्युरो बैठक नै बस्दैन । स्थायी समिति भनेर दुई/चारजना बस्नुहुन्छ । शंकास्पद कार्यक्रम बनाउने अनि काम गरिहाल्ने गर्नुहुन्थ्यो । नजिकै बसिरा’छ । बम पड्किरा’छ, तर त्यही पार्टीका नेताहरुलाई थाहा नहुने । मेरो डेरानजिकै, छेउमै बम पड्किन्छ तर मलाई त्यो योजनाबारे थाहै छैन । उपत्यकामा कारबाही हुन्छ, माइला लामालाई थाहा हुँदैन । मलाई र माइला लामालाई मात्र होइन, अरु साथीहरुलाई पनि थाहा नहुँदा धेरै पक्राउ परे । अहिले धेरै साथीहरू विप्लवले फसाए भनेर रोइरहनु भएको छ । कार्यकर्ताको रक्षा नहुने कस्तो कारबाही हो ?
अर्को कुरा स्थानीय चुनावका बेला पनि सैद्धान्तिक बहिस्कार गर्ने भन्ने थियो । यो दलाल संसदीय व्यवस्था भएकाले सैद्धान्तिक रुपले खारेज गर्ने भन्ने कुरा भयो । यो चुनाव उपयोग गरेर कसैलाई फाइदा छैन भन्ने थियो । तर, उहाँले सुरुमै वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’ लगायतका नेताहरुलाई लक्षित गरी बम पड्काउन थाल्नुभयो ।
पार्टीको सैन्य रणनीति के हो ? विनाटार्गेट अन्धाधुन्ध त गर्नु भएन नि । दुई/चारजना बस्ने अनि बम पड्काइहाल्ने ?
ती कारबाहीबारे पार्टीमा कुनै सल्लाह नै भएका थिएनन् कि तपाईंलाई थाहा नदिइएको ?
कहाँ सल्लाह हुनु ? कुरै भएन । सीमित दुई/तीनजना बस्नुभयो । स्थायी समिति सदस्य प्रकाण्ड, धर्मेन्द्र बास्तोल, सन्तोष बुढा बस्नुहुन्थ्यो । पछि, हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पनि थपिनुभएको थियो । त्यहीँ कुरा भयो होला ।
यसरी अन्धाधुन्ध कार्यक्रम गरेर विप्लवले भनेजस्तो वैज्ञानिक समाजवाद आउँछ र ? वैज्ञानिक समाजवादको कार्यक्रम के हो ? वैज्ञानिक समाजवाद सशस्त्र क्रान्ति हो कि शान्तिपूर्ण रुपले आउने हो ? तपाईं किसानदेखि मध्यमवर्गसम्म जाने भन्नु हुन्छ, मध्यम वर्गलाई ढोकै नखोल्ने गरेर छापामार रुपमा जानु हुन्छ भने कसरी हुन्छ ?
हिजोकै शैलीमा छापामार युद्ध गर्ने हो भने किसान पनि आउँदैन, मध्यम वर्ग त झन् आउँदै आउँदैन । मध्यमवर्गलाई साथ नलिएसम्म क्रान्ति सफल हुँदैन । मध्यमवर्गमा जानलाई दुई/चार वर्ष वैचारिक काम गरौं न भन्ने मेरो कुरा थियो, तर सुन्नु भएन ।
बम पड्काउने कुरामा मात्र तपाईंको असहमति थियो कि अन्य सैद्धान्तिक एजेण्डामा पनि थियो ?
परम्परागत तरिकाले लडेर त युद्ध जितिँदैन नि । बम त हिजै पड्काइएको हो । पेस्तोल पनि हिजै बोकिएको हो । हिजोको परम्परागत किसिमको युद्धको शैलीले काम लाग्दैन । त्यसैले चुनावपछि बनेको दुई तिहाइको वामपन्थी सरकारले गरेका गलत कामको भण्डाफोर गर्दै जनतालाई साथमा लिएर सडक कब्जा गर्नुपर्छ भन्ने मेरो प्रस्ताव थियो । बम पड्काउने हो भने म सहमत हुँदिनँ भनेर स्पष्टसँग राखेको थिएँ ।
विप्लव चाहिँ नयाँ मोडल यही हो भन्नुहुन्छ । नयाँ मोडल भन्ने अनि फौजी रणनीति चाहिँ परम्परागत गर्ने त ? यो त हुन सक्दैन । त्यहीँ विवाद आइरहेको छ । यो न माओवादी हो, न लेनिनवादी हो । न माओले अवलम्वन गरेको नीति हो । न त लेनिनले अवलम्वन गरेको नीति हो । कार्यदिशा अनुसारको कार्यनीति भएन । कार्यदिशा त मध्यवर्गमा जाने भनेको छ । त्यसैले जुझारुको खालको जनसंघर्ष उठाउनुस् भन्ने मेरो कुरा थियो ।
विप्लव समूहभित्र तपाईं लगायतका केहीको विरोधका बाबजुद निरन्तर विष्फोटन र आक्रमणका घटना भए । लामो समय विप्लवलाई साथ पनि दिनुभयो । यो हिसाबमा तपाईं विप्लवको संरचनाबारे पनि राम्रोसँग जानकार हुनुहुन्छ । उनीहरुसँग कस्तोखाले शक्ति छ ?
बम पड्काउन, टावरमा आगो लगाउनलाई धेरै शक्ति नै चाहिँदैन क्या । छापामार गतिविधि सानो समूहबाट पनि हुन्छ । युवाको एउटा समूह बनाए भइहाल्यो । कसैले पनि सेना धेरै बनाउँदै बनाउँदैन । किनभने सेना धेरै बनाउनु भनेको बोझ हो ।
हिजो माओवादी आन्दोलनमा पनि जे–जे भने पनि माओवादी सेना धेरै बनाइएको थिएन । ७ डिभिजनको फर्मेसन मात्रै घोषणा गरिएको हो । धेरै सेना भएजस्तो देखाएर मनोवैज्ञानिक लडाइँ लडिएको थियो । तर, सेनाचाहिँ एक डिभिजन बराबर पनि थिएनन् माओवादी जनयुद्धमा । विप्लवजीसँग पनि सेना धेरै छैनन् । फौजी कुरामा सेना बनाउनुभएकै छैन ।
बाहिर त विप्लवसँग सेना पनि छ । हतियार पनि छ, भत्ता पनि दिन्छ भन्ने छ नि ?
मैले अघि पनि भनें नि सेना धेरै बनाउनु भनेको पार्टीका लागि बोझ हो । किनभने, व्यवस्थापन गर्नुपर्‍यो, त्यसलाई लजिस्टिक चाहियो । तर हुँदै नभएको भनेचाहिँ होइन । संगठन बनाएपछि, कार्यक्रम गर्न आयस्रोत त चाहियो । आर्थिक संकलनका लागि चन्दा उठाउनु परिहाल्यो । कार्यकर्ता पाल्न परिहाल्यो । अलि अलि कार्यकर्तालाई पनि बाँड्नु पर्‍यो । भत्ता दिन्छ रे भनेको कुरा यही हो ।
यो चन्दा उठाउने कुरामा पनि मेरो फरक धारणा थियो । विप्लवजीले टिकट लिएर सत्ता खोस्न जाने हो कि चन्दा रसिद लिएर गाउँपालिका अध्यक्षलाई थमाउने हो ? हातमा चन्दा रसिद परेपछि डराएर त जसले पनि दिइहाल्छ नि । केन्द्रीय सत्ताले जेसुकै ह्वीप जारी गरोस्, उसले चन्दा दिन्छ । मलाई एक जना जनप्रतिनिधिले भन्दै थिए, गाउँपालिका अध्यक्ष हुन एक करोड खर्च भएको छ । अलिकति चन्दा दिएर जोगिइन्छ भने किन नदिने भनेर ।
तपाईंले ०६३ सालअघि शान्ति प्रक्रियामा आउनुअघि वार्ताका लागि भूमिका खेल्नुभयो, विप्लवमा हुँदाचाहिँ कस्तो फरक पाउनुभयो ?
विप्लवजीसँग हुँदा मैले दुईवटा कुरा गरेँ । एउटा– चुनाव अगाडि नै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई भेटेँ । चुनाव रोक्नुपर्‍यो भन्ने माथिल्लो तहबाटै निर्देशन आएकाले मैले बालुवाटार निवासमै गएर भेटेको हुँ । बाहिर बम पड्किरहेका बेला हाम्रो भेट भएको थियो ।

बम पड्काउने कुरा पार्टीको योजना अनुसार भएकै थिएन । वर्षौंदेखि उपत्यकामा बसेर जनवर्गीय संगठनको नेतृत्व गरेको मान्छे मलाई नै यो कुरा थाहा थिएन । मलाई मात्र होइन, विप्लवजीलाई पनि यस्तो हुँदैछ भन्ने थाहा थिएन ।

देउवाजीलाई म पहिल्यैदेखि चिन्थें । त्यतिबेला चाहिँ उहाँको सचिवालयको एक जना सदस्यमार्फत समय लिएर भेटेको थिएँ । हामी पनि चुनावमा सहभागी हुन तयार छौं तर, चुनाव एक महिना पछि सार्नुपर्‍यो भनेर मलाई विप्लवजीले म्यासेज दिनुभएको थियो । मैले यो कुरा प्रधानमन्त्री देउवालाई भनें । देउवाजीले ‘मैले चुनाव सार्न सक्दिनँ । प्रधानन्यायाधीश सुशीला कार्कीले जसरी पनि चुनाव गर भनेर निर्देशन दिइसकिन्’ भन्नुभयो ।
तर, मैले देउवासँग गरेको भेटवार्ताको अपनत्व विप्लवजीले लिनुभएन । सरकारसँग गरेको त्यो कुरा जीवन्त कामरेडले गरेको व्यक्तिगत कुरा थियो भन्नुभयो । सिन्धुलीमा भएको केन्द्रीय समिति बैठकमा मैले ‘तपाईं अपनत्व लिनुहुन्न भने म आम कार्यकर्तामा जान्छु’ भनेर सीधा भन्दिएँ ।
खासमा हेमन्तप्रकाश (सुदर्शन) जीले अलिकति प्रोभोक गर्दिनुभएछ । देउवाजीसँग कुरा गर्नू भनेर मलाई विप्लवजीले नै भन्नु भएको थियो । यो कुरा मैले सबैलाई भन्ने कुरा पनि भएन । पछि सबैले थाहा पाए । त्यसपछि सरकारसँग घाँटी जोड्न किन खोजेको भनेर आलोचना गरेछन् । त्यतिबेला विप्लवजीले ‘मैले नै कुरा गर्न पठाएको थिएँ’ भन्न सक्नु पर्थ्यो तर भन्नुभएन ।
जसरी प्रचण्डले माओवादी द्वन्द्वका बेला मैले जीवन्तजीले वार्ताको वातावरण बनाउन, केपी ओली, माधव नेपाल, ईश्वर पोखरेल र विष्णु पौडेल भेट्न भनेको थिएँ भनेर ओनरसिप लिनुभएको छ, त्यसरी नै विप्लवजीले किन नलिने ? प्रचण्डजस्तो डाइनामिक मान्छे विप्लव होइनन् भन्ने लाग्यो । मलाई विप्लवले ‘जीवन्त सर’ भन्नुहुन्थ्यो । बैठकमा ठाडो भाषा कहिल्यै बोल्नुभएन ।
तपाईंले त यो कुरा पार्टीका अरुलाई पनि जानकारी दिएर लिक गरिदिनुभयो रे नि त ?
मैले सुदर्शनजीलाई यो कुरा सेयर गरेको थिएँ । विप्लवजीले पनि ‘तपाईंले देउवासँग भेटेको कुरा सुदनर्शनजीलाई किन भन्या’ भन्नुभयो । मैले सुदर्शनजीलाई भन्नु कमजोरी भयो भनेँ । त्यो स्वीकार्छु । तर, पार्टीले युद्ध सुरु गरेको छैन । त्यसैले हाम्रो लाइनअनुसार वैचारिक, राजनीतिक र कूटनीतिक काम गर्नुपर्छ ।
जसरी जनयुद्धको बेलामा पनि प्रचण्ड धिरेन्द्र, शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल सबैसँग सम्पर्कमा रहेर रणनीति बनाउनुहुन्थ्यो । डाइनामिक नेतामा यी सबै गर्नसक्ने आँट, हिम्मत र योजना चाहिन्छ ।
तर, विप्लवजीको निर्देशनअनुसार मैले शेरबहादुर देउवासँग भेटेको कुरालाई खिल्ली उडाइयो । चितवनमा तीन दिन पोलिटब्युरो बैठक बसेर सिन्धुलीमा राखिएको केन्द्रीय समितिको बैठकमा पनि केही साथीहरुले त्यही वार्ताको कुरा उठाए । मलाई हेर्दै, के हो वार्ता भयो रे भन्ने सुनियो भन्दै कुरा गर्दै थिए, छेडछाड गर्ने हिसाबले ।
मैले स्पष्ट भनिदिएँ– सरकारसँग वार्ता अनिवार्य छ । हिजो जनयुद्धका बेलामा मोर्चावद्ध युद्ध भएका बेलामा पनि वार्ता गर्ने हामी नै हौं । अहिले केही पनि भएको छैन । हाम्रो एकीकृत जनक्रान्तिमा अझै हजारपटक वार्ता गरेर मध्यम वर्गलाई ल्याउनुपर्छ । यहाँ वार्ता कुनै नौलो कुरा होइन । हेडक्वार्टरले कसैलाई लगाएको छ भने एकदम ठीक गरेको छ, भन्दिएँ मैले ।
डिफेन्स उनीहरुले नै गर्नुपर्‍यो भन्ने मेरो धारणा थियो । यसो बुझेँ, कसैले ठीक हो भन्न सक्ने स्थिति देखिनँ । अपनत्व लिने देखिएन, अनि म बैठक छाडेर हिँड्दिएँ । त्यहाँबाट म बैठकमा पनि बसिनँ ।
बैठकचाहिँ सबै नेपालमै हुन्थ्यो कि भारतमा पनि हुन्थे ? विप्लव पनि नेपालमै बस्छन् कि भारततिर ?
भारतमा बस्न त पार्टीको संगठन हुनुपर्‍यो नि । विप्लवजीको संगठन भारतमा छैन । उहाँ नेपालमै बस्नु हुन्छ । हिजो प्रचण्ड नेतृत्वको माओवादीलाई भारतले पालेको भन्थे । तर, खासमा त्यहाँ बस्ने नेपालीहरुले माओवादीलाई पालेका थिए । पञ्जाबमा मात्रै एक लाख सदस्य थिए, एकता समाजको नाममा । सबैको लेबी आउँथ्यो । हामीले दोस्रो राष्ट्रिय सम्मेलन पञ्जाबमै खुलारुपमा गरेका थियौं ।
हिजो प्रचण्डहरु जनता भएकै ठाउँमा बसेका हुन् । अहिले विप्लवजी प्रवासमा बस्न सक्ने सम्भावना छैन । किनभने संगठन छैन । कि त विप्लवजी भारतको दलाल हुनुपर्छ, कि रअको एजेन्ट हुनुपर्छ । अनि मात्र संरक्षण गरिदिन्छ, भारतले ।
वार्तामा विप्लव समूह कुन तहसम्म लचक हुने र के–के छाड्ने भन्ने थियो ?
पार्टी शान्ति प्रक्रियामै थियो । हामी शान्तिपूर्ण गतिविधिमै थियौं । जति पनि घटनाहरु भए ती भूलबस भएको थियो र त्यस्ता कमजोरीलाई सच्याउँदै शान्ति प्रक्रियामा जान तयार छौं भन्ने थियो । त्यसैले सरकारले विध्वंशकारी घोषणा नगरोस्, अराजनीतिक शब्दले सम्बोधन नगरियोस्, प्रतिबन्ध नलगाओस् भन्ने हाम्रो माग थियो ।
हामी हिंसा गर्दैनौं भन्ने कोणबाट कुरा गर्ने क्रममा म काठमाडौं आएको थिएँ । त्यही क्रममा पक्राउ पनि परेँ । तर, त्यो कुराको अपनत्व लिन अहिले पनि विप्लवजीले सक्नुभएको छैन । तर, मैले चाहिँ हिरासतमा बस्दा पनि वार्ताको विकल्प छैन भनेर पहल गरेको थिएँ ।
एकातिर हिंसा गर्दैनौं भन्ने, अर्कोतिर मानवीय क्षति हुने गरी एनसेल मुख्यालयमा बम पड्काउने गर्नु भयो नि तपाईंहरुले ?
मैले अघि पनि भनें नि । बम पड्काउने कुरा पार्टीको योजना अनुसार भएकै थिएन । वर्षौंदेखि उपत्यकामा बसेर जनवर्गीय मोर्चाको नेतृत्व गरेको मान्छे मलाई नै यो कुरा थाहा थिएन । मलाई मात्र होइन, विप्लवजीलाई पनि यस्तो हुँदैछ भन्ने थाहा थिएन । माइला लामा स्याङ्जातिर हुनुहुन्थ्यो, म धादिङमा थिएँ ।
यो घटनाबारे त मैले राति ९ बजेतिर ललितपुरका सेक्रेटरी विपिनले ठूलो घटना भएजस्तो छ दाइ, मान्छे पनि हताहती भएजस्तो छ, भनेपछि थाहा पाएँ । उहाँले हामीलाई पनि थाहा थिएन दाइ भन्नुभयो ।
बम पड्किएर मानवीय क्षति भएपछि हल्लाखल्ला मच्चियो । विप्लव जीले हाम्रो संलग्नता छैन भनेर विज्ञप्ति निकाल्न ठिक्क पर्नु भएको थियो । विज्ञप्तिको ड्राफ्ट बनिसकेको थियो, तर सुदर्शनजीले बीबीसीमा अन्तर्वार्ता दिएर हामीले गराएको भन्नुभयो । ‘कहिलेकाहीँ मकै पिस्दा घुन पनि पर्छ’ भन्नुभयो । त्यसपछि महासचिव (विप्लव)को विज्ञप्ति जारी हुनबाट रोकियो ।
त्यसपछि पनि तपाईंले वार्ताको पहल गर्नुभएको थियो क्यारे ? कसरी गर्नुभयो ?
नख्खुको घटनाले महासचिव र सुदर्शनजीको टक्कर पर्‍यो । पुस १७ गतेतिर विप्लवजीले मलाई फोन गर्नुभयो । जीवन्त सर, पार्टी गलत ट्रयाकमा जान लाग्यो, सच्याउनुपर्‍यो भन्नुभयो । राज्यले दमनको नीति पनि अख्तियार गर्दै लगेको छ । पार्टीलाई अराजनीतिक चार्ज लगाउनसक्छ भन्नुभयो ।
केपी ओलीसँग पनि मेरो राम्रो सम्पर्क भएकाले उहाँले मलाई त्यसो भन्नुभएको थियो । तपाईंले पहल गर्नुपर्‍यो, अराजनीतिक चार्ज लगाउनुभएन । गल्ती कमजोरीका बाबजुद पनि राजनीतिक अभियान चलाउने हो भनेर भन्नुपर्‍यो भन्नुभयो । त्यसपछि मैले प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार कुन्दन अर्याललाई सम्पर्क गरेँ । प्रभाकरलाई पनि गरेँ । उहाँहरुसँग नियमित सम्पर्कमै थिएँ । कुराकानीको पहल गर्दागर्दै सरकारले पार्टीमाथि प्रतिबन्ध लगाइहाल्यो ।
म भने काठमाडौं जान्छु र ओलीसँग सीधा कुरा गर्छु भनेर चैत १ गते बिहान काठमाडौं आएँ । दिउँसो २ बजे विप्लवजीसँग कुरा भयो । उहाँले तपाईंले जुनियरसँग गफ नगर्नुस्, सीधै ओली, प्रचण्ड र शेरबहादुरसँग कुरा गर्नुस् भन्नुभयो । पहिल्यै बिभिन्न नेताहरुसँग भेटघाट गरिरहेको थिएँ । मैले पनि विप्लवजीलाई तपाईंले शीर्ष नेताहरुसँग सीधा सम्पर्क गर्नुस् भनेर भनेको थिएँ । तर, प्रचण्डसँग विगतमा एउटै पार्टीमा रहेको सम्बन्धले गर्दा पनि तपाईंले प्रचण्डसँग कुरा गर्दा सहज हुन्छ भनेको थिएँ ।
त्यसपछि विप्लवजीले बल्लबल्ल एकपटक प्रचण्डसँग फोनमा कुरा गर्नुभएछ । दुई जनाबीच भेट्ने कुरा पनि भएछ । तर, फेरि मन बदलेर विप्लवजीले भेट्न मान्नु भएन । जीवन्त सर, प्रचण्डसँग नभेट्ने भइयो भनेपछि म छक्क परेँ । बुझ्दै जाँदा त विप्लवलाई पार्टीकै केही उरन्ठेउला ठिटाहरुले भेटेर प्रचण्डलाई भेट्न हुँदैन, कुरा गर्नै हुँदैन, उसले त फसाउँछ भनेर उक्साउँदा रहेछन् ।
एकपटक प्रचण्डको छोरा प्रकाशसँग पनि विप्लवजीको कुराकानी भएको भएको भनेर सुन्नमा आएको थियो । त्यो कुन प्रसंगमा थियो ?
संघको चुनावभन्दा अगाडि गुल्मीमा हाम्रो बैठक थियो । प्रकाशले मलाई फोन गरेर अंकल, अब विप्लव दाइसँग भेट्नुपर्ने भयो भनेर भनेका थिए । त्यतिबेला म त्यता जानको लागि मलेखुमा थिएँ । प्रकाशसँग कुरा भएपछि मैले विप्लवलाई फोन गरेर प्रचण्डले भेट्न खोजेको कुराको जानकारी दिएँ । उहाँले अहिले बाटोमा छु, अलि माथि गएर म खबर गर्छु भन्नुभयो । म मुग्लिन नपुग्दै ‘प्रचण्डसँग नभेट्ने भइयो’ भनेर पो जवाफ दिनुभयो ।
नेकपामा फर्किएपछि ओली–प्रचण्ड नेतृत्वको नेकपामा तपाईंको स्थान कहाँ रहन्छ ? केही तय भएको छ ?
मैले केही भनेको छैन । म आफैं भन्दिनँ पनि । म हिजो प्रचण्डको हेडक्वार्टरमा हुँदा पनि पोजिसन नखोजेर त्यतिकै काम गरेको मान्छे हुँ । म बरु आफूले पाउने केन्द्रीय सदस्य त्याग गरेको व्यक्ति हुँ । ०५५ सालमा प्रचण्डले मलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गर्दा मैले मलाई होइन, बरु अनिल शर्मा ‘विरही’लाई बनाउनुस् भनेर प्रस्ताव गरेको थिएँ । अनिल जी केन्द्रीय सदस्य हुनु पनि भयो ।
पार्टी प्रवेशपछि प्रधानमन्त्री ओलीसँग कुरा भएको छ ?
छैन । उहाँ विरामी हुनुभएकाले पनि कुरा हुन नपाएको हो । विष्णु पौडेलसँग चाहिँ कुरा भइरहन्छ । उहाँमार्फत् सन्देश आदानप्रदान भइरहन्छ । विष्णु पौडेलले ओलीजीको फोन  नम्बर पनि दिनुभएको थियो ।
तपाईं आवद्ध पूर्वपार्टीका महासचिव विप्लवलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ ?
विप्लव वार्तामा आउनुपर्छ, अनिवार्य ल्याउनुपर्छ भन्ने पक्षमा छु । मैले अहिले पनि त्यसका लागि पहल गर्छु । विप्लव आफैंमा नराम्रो होइन । अहिलेको परिवर्तन ल्याउन उहाँको पनि योगदान छ । विप्लवजीले भन्ने वैज्ञानिक समाजवाद र ओली–प्रचण्डले भन्ने समाजवादमा उस्तै उस्तै हुन् । त्यसैले यसमा बहस गर्नुपर्छ । मैले प्रचण्डलाई पनि यो प्रस्ताव राखिसकेको छु । प्रचण्डजी र विप्लवजी दुवैले खाका ल्याउनुपर्‍यो भनेर भनेको छु ।

साभार ः  अनलाइनखबर