आज:  | Tue, 05, Jul, 2022

माथी सेताम्मे हिउँ, तल पर्यो तातोपानी

२७ पुष २०७६, आईतवार १५:५६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
डाँडाकाँडा सेताम्मे हिउँले ढाकिएको छ । माथी गाउँमा हिउँको चिसो स्याँठ छ । तल म्याग्दी र कालीगडकी नदी किनारामा भत्भती पोल्ने तातोपानीका मुहान छन ।पुसको कठ्याङग्री चिसोबाट बच्न खोलाका माछा पनि दुलो पस्ने वेलामा माथी हिउँको सिरेटोमा नुहाउनै मुस्किल भएपछि गाउँलेहरु नुहाउन तल तातोपानीका मुलहरुमा धुईरिएका छन । चिसो सिरेटोमा उभिएर शरिरका न्यानो कपडा फुकाल्दा, फुत्त आवाज निक्लन्छ, आच्छ्यु, जाडो ।‘घर छेउमा तातोपानी भएकोले विहान सवैरै उठ्यो, तातोपानी गयो, आधा–एक घन्टा तातोपानीमा चोपलियो, खललल पसियो बगायो, बडो आनन्द हुन्छ । दिनभरी ज्यान हलुङ्गो बन्छ’ अन्नपूर्ण गाउँपालिका, ६ पोखरेका खड्ग गिरीले भने, ‘जोडो सिजनमा प्राकृतिक उपचारकालागी पोखरीमा डुब्न मात्र होईन, चिसो पानीले नुहाउन नसक्ने सवै तातोपानीमा आईरिन्छन । उपचारपनि हुने, तातोपानीले नुहाउन पनि पाईने ।’चिसो मौषममा तातोपानीको पोखरीमा डुबेर बस्दा छुट्टै आनन्द । तातोपानीमा डुब्दा हाडजोर्नीको प्राकृतिक उपचार सित्तैमा हुन्छ । शरिरलाई आराम पनि हुन्छ । परम्परादेखी नै स्थानीयले जाडोमा नुहाउँदै आजको ब्यवसायीक प्राकृतिक श्वास्थ्य लाभ लिने अस्पताल र आर्थिक उपार्जनको थलो बनेको हो ।म्याग्दी जिल्लामा कालीगण्डकी, राहुघाट र म्याग्दी खोला किनारामा ८ स्थानमा प्राकृतिक तातोपानीका मुलहरु छन । यी मुलहरुमा परम्परादेखी स्थानीयले जाडो भगाउन तातोपानीमा डुबुल्की मारेर (हट वाटर स्पा गरी) प्राकृतिक नुहाउँदै आएका छन । घर छेउको धाराको चिसो पानीमा शरिर पखाल्न आँट नहुनेहरु टाढाटाढाबाट पनि गम्छा, सावुन, सेम्फो र फेर्ने कपडा झोलामा बोकेर दिनभरको निमेक खेर फालेरै तातोपानी नुहाउन आउने धेरै हुन्छन । तातोपानी डब्दै जाँदा स्थानीयको अनुभवले अहिले यहाँका तातोपानीका पोखरीहरु  प्राकृतिक अस्पताल कहलिएका छन ।केही तातोपानीका मुलहरुको ब्यवसायीकरण गरिएपनि कालीगण्डकी नदी किनाराको रातोपानी, नारच्याङ, महभीर, दग्नाम र मुदी समेतका तातोपानीका मुलमा अझै परम्परागत शैली अस्थाई पोखरी बनाईन नुहाउने र डुबुल्किी मार्ने प्रचलन जीवित छ ।संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा अवस्थित तातोपानी प्राचिन काल भारत–भोट (तिब्बत) नुन ब्यापार गर्ने थलो थियो । भोटको नुन लिएर बेच्न झरेका थकाली र नुन किन्न आएका ढाँक्रेहरुले कालीगण्डकी नदी किनारामा तातोपानी देखेपछि अस्थाई पोखरी बनाई ‘जाडो फाल्न’ नुहाउन थलेका हुन ।७० बर्ष अघिसम्म सिङ्गाको स्वता नजिक म्याग्दी खोला बगरमा तातोपानीको मुल निक्लन्थ्यो, बग्थ्यो । हिउँदमा गोठालाहरु खोला किनाराको तातोपानीमा अस्थाई पोखरी बनाई नुहाउने चलन थियो । हिउँदको जाडो छल्न तातोपानीको पोखरीमा डुब्दा हाडजोर्नी र पेटका विरामीलाई फाईदा भएपछि वरपरका वस्तीबाट मान्छेहरु डुब्न आउन थालेका हुन । विस्तारै वचन विज्ञापनले मान्छेहरु तातोपानी डुब्न आउने क्रम बढेको हो ।बेनी नगरपालिका, ४ स्थित म्याग्दी खोला किनाराको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका, २ स्थित कालीगण्डकी किनारको भुरुङ–तातोपानीको मुहान बढी प्रख्यात छन । सिङ्गा तातोपानीमा विरेनुन र भुरुङ्ग र नारच्याङ्ग तातोपनीमा नुनको गन्ध र स्वाद पाईन्छ । अन्य स्थानका तातोपानी भने गन्ध रहित छन ।अन्नपूर्ण गाउँपालिका अर्न्तगत कालीगण्डकी नदी किनारामा पर्ने महभीर, रातोपानी र नारच्याङ वेंशीमा पनि तातोपानीका मुलहरु छन । यहाँका तातोपानीमा वरपरका बस्ती र पोखरा, काठमाण्डौ, वुटवल समेतका सहरमा बसाई सरेकाहरु स्थानीयहरु यहाँका तातोपानीमा डुब्न आउने गरेका छन ।पश्चिम धौलागिरी फेदीको गुर्जा र मुदी बगरामा पनि तातोपानीको मुहान छन । बस्तीबाट धेरै टाढा भएकोले यहाँ गुर्जा र मुदीको बगराका मान्छे डब्छन । रघुगंगा गाउँपालिकाको पिप्ले, दग्नाम, दर्मिजा, चिमखोला, कोटगाउँ, पाखापानी र झिं वस्तीको पुछारमा रहेको यो तातोपानीमा स्थानियले डुबेर प्राकृतिक उपचार गर्ने गरेका छन ।लामो पदयात्राबाट गलेको थाकेको शरिरलाई आराम दिन, जोर्नी मर्केको, चोट लागेका विरामीले श्वास्थ्य आरोग्यताकोलागी तातोपानी थेरापी वैकल्पिक उपचार पद्धति हो । पृथ्वीको धेरै तल पुगेको पहाडका ढुङ्गगा भित्री म्याग्माले तातेको ढुङ्गामा पानीको मुल सम्पर्कमा पुग्दा तलको वाफाले धकेलिएर बाहिर तातोपानीको मुहान निक्लने मान्यता छ ।‘म्याग्दीमा तापक्रम मापन गरेका ७ वटा मुहानमध्य रातोपानीमा सवैभन्दा बढी तातो ७३ डिग्री र धौलागिरी फेदीको बगराको तातोपानीमा कम २५ डिग्री सेल्सियस भेटियो’ जाईकाको सहयोगमा तातोपानीको अध्ययन गरिरहेका याम खड्काले भने, ‘तातोपानीमा भएका मिनिरल्स र अन्य विवरण विज्ञ टिमबाट अध्ययन भैरहेको छ ।’