आज:  | Tue, 28, Jun, 2022

सुरक्षित गर्भपतनसँगै छिप्छ अपराध

२६ पुष २०७६, शनिबार १६:३५ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
सुरक्षित गर्भपतन सेवाको आडमा केही बलात्कारजन्य अपराध लुक्ने गरेको भेटिएको छ । मान्यताप्राप्त सरकारी स्वास्थ्य संस्थामा कार्यरत सूचीकृत स्वास्थ्यकर्मीले बलात्कृत किशोरी/महिलाको गर्भपतनपछि पेशागत गोपनीयताको कारण कानुनबाट अपराध छिप्ने गरेको बताएका छन् ।
‘अप्ठेरोमा परेका महिलाको अनिच्छुक गर्भपतन गराउँदा राम्रो गरेँ, कसैको उद्धार गरें भन्ने लाग्छ । तर कहिलेकाहीं बलात्कार जस्तो अपराध लुकाएँ भन्ने लाग्छ, पछुतो लाग्छ । तर पेशागत मर्यादाले बोल्न मिल्दैन,’ बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले भने, ‘कलिला किशोरी गर्भपतन गराउन आउँछन् । पहिलो गर्भपतन गर्दा पछि स्वास्थ्यमा असर पर्ने कुरा गर्भवती र अभिभावक दुवैलाई सम्झाउँछु । बलात्कारबाट गर्भ रहेको भए पनि घटना सार्वजनिक गर्न सक्दिन, गर्भपतन गर्छु भन्छन् ।’
जिल्ला अस्पतालमा मात्र होइन, जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा पनि बलत्कार पीडित गर्भपतनका लागि आउने त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् । हालै आइपास नेपालको आयोजनामा अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सुदृढीकरणका लागि अनुगमन क्रममा पनि स्थानीय स्वास्थ्यकर्मीले कहिलेकाहीं गर्भपतनसँग बलात्कारको अपराध र अपराधी लुक्ने गरेको सुनाए ।
भुरुङ तातोपानी स्वास्थ्यचौकीमा परिवार नियोजनका स्थायी र अस्थायी साधन प्रयोग गर्ने भन्दा गर्भपतन गराउन आउनेको संख्या धेरै छ । स्वास्थ्यचौकीको अभिलेखअनुसार चालु आवको पाँच महिनामा १९ महिलाले परिवार नियोजनका अस्थायी साधन प्रयोग गरे भने २३ जनाले गर्भपतन गराए । स्वास्थ्यचौकीको सुरक्षित गर्भपतन सेवा क्षेत्र रहेको अन्नपूर्ण गापाका १–६ वडाका गर्भवती हुने उमेर समुहका तीन हजार जनसंख्या अनुपातमा गर्भपतन संख्या अधिक मानिएको छ ।
सुरक्षित गर्भपतन सेवा सुरु भएयता २०६९/७० यता चालु आवको मंसिरसम्म भुरुङ तातोपानी स्वास्थ्य चौकीमा २ सय ५६ जनाले गर्भपतन गराए । तर सोही अवधिमा पिल्स र डिपोलगायतका अस्थायी साधन भने २ सय ९ जनाले मात्र प्रयोग गरे । बेनी जिल्ला अस्पतालसमेत जिल्लाका सवै १४ सुरक्षित गर्भपतन सेवादिने स्वास्थ्य संस्थामा ज्यानै जोखिममा राखेर अनिच्छुक गर्भपतन गराउने किसोरीको संख्या बर्सेनि बढ्दो छ । कानुनले २० वर्षमुनि विवाहमा रोक लगाए पनि गर्भपतन गराउने भने १५–२० वर्ष उमेर समूहका उल्लेख्य छन् ।
‘सेवा क्षेत्रको जनसंख्या थोरै भएपनि यहाँ जलविद्युत् आयोजना, बेनी–जोमसोम सडक आयोजनासमेत विभिन्न विकास आयोजना धेरै भएको र त्यहाँ कार्यरत महिला मजदुर संख्या बढी भएकोले गर्भपतन गराउनेको संख्या बढी देखिएको छ,’ चौकीकी स्वास्थ्यकर्मी निता पुनले भनिन, ‘हाडनाता, बलत्कारबाट पीडित महिला पनि इज्जतको डरले अति गोप्य खोज्छन । हामीले विवरण त माग्दैनौं, तर कम उमेरका भए वालबच्चा संख्या र गर्भपतनले स्वास्थ्यमा पार्ने असरवारे परामर्श गर्दा यस्ता कुरा शेयर गर्छन् ।’
स्वास्थ्य कार्यालयका अनुसार आव ०७५/७६ मा गर्भपतन गराएका एक हजार २ सय ५३ गर्भवतीमध्ये ७५ बढी २० वर्षमुनि (१५–२० वर्ष) का कलिला किशोरी छन । गर्भपतन गराउनेमध्ये ८० प्रतिशत २०–२५ वर्ष उमेर समूहका, १० प्रतिशत २५–४० वर्ष समूह र ३ प्रतिशत ४० वर्ष उमेर काटेका र करिब ८ प्रतिशत २० वर्षमुनिका किशोरी छन । स्वास्थ्य कार्यालयका अनुसार गत आवमा औषधि सेवन गरी एक हजार एक सय ९० र अपरेसनगरी ७३ जनाले गर्भपतन गराए । गर्भपतन गर्नेमध्ये बेनीमा ५ सय २९ जनाले औषधी र ७३ जनाले अपरेसन गर्नुपरेको थियो । बेनीमा बाहेक अन्यत्र सर्जिकल सुविधा छैन ।
अप्ठेरो परिस्थितिमा मात्र १२ हप्तासम्मको अनिच्छुक गर्भ सूचीकृत र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट पतन गराउन पाइने कानुनी ब्यवस्थाको गलत अभ्यास गर्दै किसोरी तथा युवतीले परिवार नियोजनको साधनको रुपमा प्रयोग गरिरहेको सरोकारवालाले बताएका छन । बलात्कार वा सामाजिक तथा परिवारको दबाबमा अनिच्छुक गर्भधारण गरेका महिलाको स्वास्थ्य तथा सामाजिक मर्यादालाई कायम राख्न गर्भपतनलाई महिला अधिकारसँग जोडिएको हो । तर पछिल्लो पुस्ताले गर्भपतनलाई परिवार नियोजनको साधनको रूपमा उपयोग गरिरहेको देखिएको छ ।
‘गर्भपतनले महिलाको पाठेघर स्वास्थ्यमा गम्भीर असर गर्छ । परिवार नियोजनका साधन नै अनिच्छुक गर्भ रोक्ने पहिलो उपाय हो,’ सुरक्षितगर्भपतन सम्बन्धी सरकारी स्वास्थ्य संस्थामा सहयोग गर्दै आएको आइपास नेपालकी जिल्ला प्रमुख थमकुमारी कुँवरले भनिन, ‘तर अनिच्छुक गर्भ भइहालेमा भने तालिमप्राप्त र सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनु सुरक्षित हुन्छ ।’
आइपासका अनुसार जिल्लामा सूचीकृत स्वास्थ्यचौकीमा पुगेर गर्भपतन गराउनेको हाराहारीमै औषधी पसल तथा अन्य विधिबाट असुरक्षित गर्भपतन गराउने छन् । बेनी अस्पतालमा मात्र गत आवमा ५५ गर्भवती जटिल समस्या लिएर आएका थिए ।
अवैध क्लिनिकमा पुगेर पाठेघर सफा गर्नेको संख्या पनि धेरै रहेको अनुमान छ । जिल्ला अस्पतालसमेत १४ सुरक्षित गर्भपतन केन्द्रमा छन । तर सबैमा तालिमप्राप्त स्वास्थ्यकर्मी भने छैनन् । ‘१५–१६ वर्षकै उमेरमा गर्भपतन गर्न आउनेको संख्या ५ प्रतिशत छ । गर्भपतन गर्न वैधानिक संस्था रोजेकाले यी किसोरी बालविवाहबाट पीडित हुन्,’ बेनी अस्पतालमा सुरक्षित गर्भपतन सेवा संयोजक रविना पुनले भनिन्, ‘सुरक्षित गर्भपतन सेवा दुरुपयोग हुन थालेको छ ।’
गर्भपतनमध्ये नौ साताभित्रको गर्भ बढी र बाँकीले १२ साताभित्रको गर्भपतन गराएका हुन् । जिल्ला अस्पतालबाहेक, दरवाङ प्राथमिक स्वास्थय केन्द्र, ताकम, लुलाङ, अर्मन, ज्यामरुककोट, भकिम्ली, शिख, भू–तातोपानी, भगवती, पिप्ले, पाखापानी, सिंगासमेत १३ स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन र सुत्केरी सेवा दुवै उपलब्ध छ । जिल्ला अस्पताल बेनीबाट गर्भपतन एवं सुत्केरी सेवा लिन पर्वतको धाइरिङ, शालिजा, लेखफाँट, बाँसखर्क र माझफाँटबाट पनि आउँछन् । ‘दुर्गम भेगका स्वास्थ्यचौकीमा समेत गर्भपतन गर्ने संख्या धेरै छ,’ संयोजक रविना पुनले भनिन, ‘वैदेशिक रोजगारीबाट फर्केपछि तत्काल गर्भ निरोधक साधनको प्रयोग नहुनु समस्या हो । यौन स्वच्छन्दता र नियोजनका साधन प्रयोगमा लापरबाही पनि बढी छ ।’
कान्तिपुरमा समाचार प्रकाशित छ ।