ट्रम्पको आपराधिक आक्रामकता

२१ पुष २०७६, सोमबार १६:२८ मा प्रकाशित (6 महिना अघि)
पुनहिल संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका एक उच्च सैन्य अधिकारीको हत्या गरिएपछि खाडी क्षेत्रमा नयाँ शिराको अशान्ति र अस्थिरता बढेको छ । इरानी सेनाको विशिष्टीकृत इकाईका रूपमा परिचित ‘कुड्स फोर्स’ कमान्डरका रूपमा दुई दशकदेखि कार्यरत मेजर जनरल कासिम सुलेमानीलाई शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले ड्रोन आक्रमण गरी मारेको थियो ।

अमेरिकी रक्षा संस्थापन पेन्टागनले सुलेमानीमाथि आक्रमणका निम्ति राष्ट्रपति ट्रम्पबाटै निर्देशन आएको जानकारी दिएपछि त्यसको सर्वत्र भर्त्सना भएको छ ।

अमेरिकाले यसअघि आफ्नो मुलुकभित्र जनधनको क्षति गराउने ओसामा बिन लादेन र इस्लामिक स्टेट (आईएस) का अबु बक्र अल–बग्दादीजस्ता अतिवादी अगुवाहरूलाई पनि मारेको थियो । तर हालको हत्यालाई ती घटनासँग तुलना गर्न किन मिल्दैन भने सुलेमानी उनीहरूजस्ता कुनै आतंकवादी संगठनका नेता नभई एउटा राज्यका जिम्मेवार सैन्य अधिकारी थिए । र, उनी कुनै युद्धको मोर्चामा मारिएका पनि होइनन्, उनलाई निसाना साँधेर ड्रोन आक्रमणमार्फत सफाया गरिएको हो । वास्तवमा यो एउटा विशुद्ध हत्या हो, जसमा अमेरिकी राष्ट्रपति ट्रम्पको आपराधिक आक्रामकताले काम गरेको छ ।

मेजर जनरल सुलेमानी इरानका कुनै सामान्य जर्नेलमात्र पनि थिएनन्, त्यहाँका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले विश्वास गरेको एलिट फोर्सका प्रभावशाली कमान्डर थिए, जसको भूमिका देशभित्रभन्दा बाहिर बढी केन्द्रित हुँदै गएको थियो । खाडी क्षेत्रमा इरानी प्रभाव विस्तारको स्रोतव्यक्तिका रूपमा उनी स्थापित थिए । त्यसले गर्दा उनी अमेरिकी आँखाको तारो बन्नु अस्वाभाविक होइन । खाडी क्षेत्रमा सुन्नी इस्लामिक राज्य स्थापना गर्न लडिरहेको आईएसविरुद्धको अभियानमा सिया–बाहुल्य इरान र अमेरिकाले फरक–फरक स्वार्थका बीच आ–आफ्नै ढंगबाट एउटै काम गर्दै आएका थिए ।

आईएसलाई प्रतिरक्षात्मक दिशातर्फ धकेल्नमा जर्नेल सुलेमानीको पनि महत्त्वपूर्ण भूमिका थियो । जब त्यो मिसन सफलताउन्मुख भयो, अमेरिका आफ्नो दशकौं पुरानो ‘दुस्मन’ इरानका एक महत्त्वपूर्ण सैन्य हस्ती सुलेमानीलाई समाप्त पार्न अग्रसर भयो । खाडी क्षेत्रमा प्रभुत्व विस्तारको बहुमुखी स्वार्थ बोकेको अमेरिकाले आफूविरुद्ध सुलेमानीले अनेक षड्यन्त्र गरिरहेको अपुष्ट आरोप लगाउँदै उनको हत्याको औचित्य पुष्टि गर्न खोजेको छ । बिनातथ्य लगाइने यस्ता आरोप कुनै पनि विदेशी मुलुकका सैन्य अधिकारीलाई मार्ने कुराको लाइसेन्स बन्न सक्दैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसबीचमा आफ्नो पदीय मर्यादा र हैसियतलाई अवमूल्यन गर्ने अनेक कार्य गरेका छन् । इरानी जर्नेलको हत्या गर्ने उनको पछिल्लो आदेश यस पृष्ठभूमिको सबभन्दा सनकपूर्ण युद्ध–उन्माद हो । यसरी कुनै मुलुकका सैन्य अधिकारीलाई मार्ने अधिकार अमेरिकी राष्ट्रपतिलाई छैन । यो अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारका आधारभूत मूल्य–मान्यताको बिल्कुलै बर्खिलाफ छ । यसले अमेरिकाको लोकतान्त्रिक साख र विश्व नेतृत्वको आधिकारितालाई समेत नराम्रोसँग धुलिसात बनाएको छ ।

विगतमा अमेरिकी राष्ट्रपतिहरू जर्ज डब्लू बुस वा बराक ओबामाले सुलेमानीका बारेमा सूचना पाएर पनि यसरी हत्याको निर्देशन दिएका थिएनन् भन्ने हालै चुहिएका सूचनाहरूले समेत ट्रम्पको कदम अदूरदर्शी र गलत रहेको देखाउँछ । महाभियोग भोगेका राष्ट्रपति ट्रम्पले आगामी चुनावमा श्वेत राष्ट्रवादी ध्यान अन्यत्र मोड्न यसखाले अतिवादी कदम चालेको हुन सक्ने टिप्पणीहरू यसबीचमा सुनिने गरेका छन् । यद्यपि यस्ता तर्कले सुलेमानी हत्याको औचित्य पुष्टि गर्न सक्दैन, बरु यो बृहत्तर द्वन्द्वको कारक बन्न सक्छ ।

सन् २०१५ को इरान–अमेरिका ‘न्युक्लियर डिल’बाट २०१८ मा एकतर्फी रूपमा बाहिरिएर पुनः इरानमाथि नाकाबन्दी लगाउन उद्यत ट्रम्पले त्यहाँ एक स्तरको तनाव बढाइसकेकै थिए । त्यो डिललाई कुनै रूपले पुनर्जीवन दिन सकिन्छ कि भनेर हाल भइरहेका कोसिसलाई सुलेमानीको हत्याले निकै पछाडि धकेलेको मात्र छैन, उनीहरूबीचको तनावलाई टकरावमा परिणत गरिदिएको छ । यसको परिणाम सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावासलाई इरानी आन्दोलनकारीले कब्जामा लिएभन्दा खतरनाक हुन सक्छ ।

त्यसै पनि सदैव युद्धको विभीषिका व्यहोरेको खाडी क्षेत्रमा अमेरिकी आक्रामकताले आगोमा घिउ थप्ने काम गरेको छ । तर, ट्रम्पको युद्ध–उन्मादले खाडी क्षेत्रमात्र पिल्सिने छैन, यसखाले अतिवादी क्रियाकलापले अन्ततोगत्वा अमेरिका र अमेरिकी जनजीवनलाई समेत असुरक्षातर्फ धकेल्न सक्छ । भविष्यमा इरान र मुस्लिम समुदायबाट पश्चिमाविरोधी आक्रामकता अरू बढ्न सक्छ । यसको सिकार फेरि पनि सर्वसाधारण हुनेछन् । यस्तो सम्भावित आत्मघाती शृंखलाको जिम्मेवार अरू कोही नभएर राष्ट्रपति ट्रम्प नै हुनेछन् । त्यसैले पनि सुलेमानी हत्या प्रकरणमा उनको र अमेरिकी नीतिको विश्वव्यापी निन्दा अनिवार्य छ ।
साभार ः कान्तिपुर सम्पादकीयबाट ।