सन् २०१५ को इरान–अमेरिका ‘न्युक्लियर डिल’बाट २०१८ मा एकतर्फी रूपमा बाहिरिएर पुनः इरानमाथि नाकाबन्दी लगाउन उद्यत ट्रम्पले त्यहाँ एक स्तरको तनाव बढाइसकेकै थिए । त्यो डिललाई कुनै रूपले पुनर्जीवन दिन सकिन्छ कि भनेर हाल भइरहेका कोसिसलाई सुलेमानीको हत्याले निकै पछाडि धकेलेको मात्र छैन, उनीहरूबीचको तनावलाई टकरावमा परिणत गरिदिएको छ । यसको परिणाम सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावासलाई इरानी आन्दोलनकारीले कब्जामा लिएभन्दा खतरनाक हुन सक्छ ।
त्यसै पनि सदैव युद्धको विभीषिका व्यहोरेको खाडी क्षेत्रमा अमेरिकी आक्रामकताले आगोमा घिउ थप्ने काम गरेको छ । तर, ट्रम्पको युद्ध–उन्मादले खाडी क्षेत्रमात्र पिल्सिने छैन, यसखाले अतिवादी क्रियाकलापले अन्ततोगत्वा अमेरिका र अमेरिकी जनजीवनलाई समेत असुरक्षातर्फ धकेल्न सक्छ । भविष्यमा इरान र मुस्लिम समुदायबाट पश्चिमाविरोधी आक्रामकता अरू बढ्न सक्छ । यसको सिकार फेरि पनि सर्वसाधारण हुनेछन् । यस्तो सम्भावित आत्मघाती शृंखलाको जिम्मेवार अरू कोही नभएर राष्ट्रपति ट्रम्प नै हुनेछन् । त्यसैले पनि सुलेमानी हत्या प्रकरणमा उनको र अमेरिकी नीतिको विश्वव्यापी निन्दा अनिवार्य छ ।
साभार ः कान्तिपुर सम्पादकीयबाट ।