FLASH NEWS
  • Loading...

पाईपमै जम्यो खानेपानी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८७ पटक पढिएको
पाईपमै जम्यो खानेपानी

अधिक चिसोले पाईपमा नै पानी जमेपछि घोडेपानीमा खानेपानी वितरण अवरुद्ध भएको छ ।
बढी चिसोले करिव २ किलोमिटर परवाट ल्याएको खानेपानी पाईप भित्र पानी जमेपछि आपूर्ति बन्द भएपछि पर्यटकीय वस्ती घोडेपानीको देउराली क्षेत्रका कम्तीमा ३० वटा पर्यटक होटल, रेष्टुरेन्टहरुमा वितरण गरिएको खानेपानी अवरुद्ध भएको हो । प्रायः घाम नपर्ने क्षेत्र भएकोले मुहान र पाईपमा पानी जम्ने गरेको हो । चिसोले पानी जम्ने समस्या यो वर्ष मात्र भएको होईन, वर्षेनी हिउँदका मध्य मंसिरदेखी फागुनसम्म यस्तो समस्या दोहोरिन्छ ।
‘चिसोले पाईप भित्रै पानी जम्दा घोडेपानीमा खानेपानी आपूर्ति वन्द छ । पर्यटक/पाहुनालाई समेत पानी पुर्‍याउन झन समस्या भएको छ’ ब्यवसयाी तारा पुनले भनिन्, ‘सवैलाई सँधै पानी पुर्‍याउन टाढाका मुहानबाट पानी ल्याएका छौं । मुहान ओसेपमा भएकोले घाममा पग्लदैन ।’
घाम समेत नपर्ने जंगलभित्र रहेको मुहानमै पानी जम्दै तल घरका ट्याङ्ढीसम्मको पानी जम्ने गरेको छ । मुहानदेखी रिर्जव ट्याङ्ढीसम्मको मेन पाईपमा पनि पानी जमेकोले पाईप फुट्ने समस्या देखिएको छ । रिजर्व ट्याङ्ढीदेखी घरघर पुर्‍याइएको वितरण पाईपमा पानीको मात्रा र बहाव कम हुँदा चिसोले पुरै जम्ने गर्छ ।
‘मुहानमै पानी जम्छ र दिनमा घाम लाग्दा गाउँलेहरु गै पाईप निकालेर घाममा सुकाई र टक्टक्याएर पाईपको आईस झारी पानी सप्लाई गर्ने गरेका छौं’ अर्का ब्यवसायी टेकसर बुद्धुजाले भने, ‘हिउँदका तीन महिना वर्षेनी यस्तै समस्या हुन्छ । विकल्पमा अर्को मुहानको पानी ल्याएका छौं तर यो अपुग भएकोले आलोपालो गरी पानी भर्ने गर्छौं ।’
खानेपानी आपूर्ति बन्द भएकोले गाग्री र जर्किन बोकेर नजिका मुहानबाट पानी ल्याउने गरेका छन । दिनमा घाम लागेको क्षेत्रमा पाईपको पानी पग्लने तर ओसेप क्षेत्रको पाईपमा जमेको पानी नपग्लने भएकोले प्रेसर थेग्न नसकी फुट्ने गरेको हो ।