आज:  | Tue, 28, Jun, 2022

जस्तो हेर्‍यो त्यस्तै देखिन्छ जिन्दगी हार्न नजानेकी जब्बर जायत्रीको कथा

१७ पुष २०७६, बिहीबार १६:२६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
सौन्दर्य परिभाषामा होइन कर्ममा हुन्छ। र, जिन्दगी जतिसुकै अप्ठ्यारोबाट गुज्रे पनि सुन्दर हुन्छ। नसोचेको मोडबाट गुज्रिनुपर्छ। नचाहेको भोगाइ भोग्नुपर्छ। हिंड्ने रहर सबैको हुन्छ, तर बारम्बार लड्नुपर्छ। हिंड्दा–हिंड्दै लड्नु, ठोक्किनु, भत्किनु र आफैंलाई सम्हाल्दै अघि बढ्नु– यही हो नियम जिन्दगीको। र त मान्छे, मान्छे बन्छ। 
जसले फुल्न सिकिन् हार्न जानेको भए जायत्रीको कथा त्यतिबेलै टुंगिन्थ्यो। आगोका लप्कासँगै उनको जीवनमा पूर्णविराम लाग्थ्यो। तर, उनले हार्न सिकिनन्। र त उनी यहाँ छिन्। र त उनको जीवन सुन्दर छ। सम्झिँदा पनि अत्यास लाग्छ। त्यो आगोको लप्का। त्यो चिच्याहट। त्यो असह्य वेदना। र, फेरिएको जिन्दगी। रसुवाको एक गाउँमा घर थियो। बा–आमा खेतीपाती गर्थे। आफूले नपढे पनि छोराछोरी पढाउनुपर्छ भन्ने बुझेका थिए। दिदी र भाइसँग उनी पनि स्कुल जान्थिन्। रमाउँदै घर आउँथिन्। गृहकार्य गर्थिन्। आमाले पकाएको खान्थिन्। दिदी भाइसँग हासखेल गर्दै निदाउँथिन्। जिन्दगी ठीकठाक त चल्दैथियो। तर, त्यो आगोको लप्का। त्यो चिच्याहट। त्यो असह्य वेदना। सम्झिँदा पनि अत्यास लाग्छ। अचेल बेलाबेला ऐनामा हेर्छिन्। विगतले छोडेका डामहरू हेर्छिन्। नसोचेको बाटोको यात्रा नै जिन्दगी रै’छ। नचाहेका मोड आउनु नै जिन्दगीको नियम रै’छ। जसले जिन्दगीको यो नियम बुझ्छ उसले मात्र फुल्न सिक्दोरहेछ। यो नियम बुझ्न जायत्रीलाई पनि समय लाग्यो। त्यो आगोको लप्का नपरेको भए सायद जिन्दगीलाई उनी अर्कै तरिकाले हेर्थिन्। “मैले पनि रूपको घमण्ड गर्थे हुँला”, जायत्री भन्छिन्, “तर अहिले लाग्छ भित्री मन राम्रो चाहिने रै’छ। भित्री मन राम्रो भएपछि संसार राम्रो देखिँदोरहेछ।” तर, त्यो रात ? त्यो आगोको लप्का ? त्यो आर्तनाद ? चाहेर पनि बिर्सन कहाँ सक्छिन् र ? आठ वर्षकी मात्र थिइन् उनी। फूलको कोपिलाजस्तै। जिन्दगीको बिहानी प्रहरमा रमाउँदै गरेकी। सधैँजस्तै हास्दैखेल्दै स्कुलबाट आएकी थिइन्। गृहकार्य सकेर बेलुका खानापछि आमा, दिदी र भाइसँग गोठमा सुत्न गएकी थिइन्। मस्त निद्रामा थिइन्। एक्कासि ब्युँझिइन्। पीडाले ब्युँझेकी थिइन्। के भइरहेछ अनुमान पनि गर्न सकिनन्। केवल आगोको लप्का थियो। र, शरीरमा पीडा। वरिपरि दिदी, भाइ र आमा पनि छटपटाइरहेथे। उनीहरू सुतेको गोठमा कसैले आगो लगाइदिएछ। त्यसैको शिकार बन्न पुगे उनीहरू। उनका बा र गाउँले मिलेर उनीहरूलाई तुरुन्तै रसुवाकै अस्पतालमा पुर्‍याए। “आमालाई खासै धेरै पोलेको थिएन। दिदीलाई केही दिनमा नै निको भयो। भाइ भने एक हप्तामै बित्यो”, उनी सम्झिन्छिन् संकट निम्तिएको त्यो दिन। अनि उनी ? उनी भने जीवन र मरणको दोसाँधमा संघर्षरत रहिन्। उनको शरीरको ८४ प्रतिशत भाग जलेको थियो। जग्गा बेचेर बुबाले उनलाई उपचारका लागि काठमाडौं ल्याए। भन्न त धेरैले बाँच्दिन भनेका थिए, तर सुष्मा कोइराला मेमोरियल अस्पतालमा उनको पुनर्जन्म भयो। त्यहीँ भेट भएका जर्मनीका डाक्टरद्वय आन्ड्रियास र तिलकोन उनका लागि ईश्वर बनेर आइदिए। उनीहरूले के मात्रै गरेनन् ? अप्रेसन गरेर रातभर कुरे। उपचार खर्च तिरिदिए। १० वर्षसम्म त जायत्री अस्पतालमै बसिन्। त्यसपछि तिनै डाक्टरहरूले उनलाई होस्टेल राखिदिए। होस्टेलमा बसेर पढ्न थालिन् उनले। हो, शरीरमा पीडा थियो। अरूको भन्दा फरक थियो उनको रूप। तर, साथ पाएकी थिइन्। आड पाएकी थिइन्। हारिनन्। थाकिनन्। फुल्न थालिन् निरन्तर। हरिभक्त कटुवालले लेखेकै थिए – ‘फुल्नु त यहाँ बेस हो फुल्नैपर्छ काँडामा गुलाफ भई फुल्नैपर्छ हिलोमा कमल भई फुल्नुपर्छ कसैले भरेको हावामा बेलुनझैं नफुले भीरमा पनि गुराँस भएर फुल्नुपर्छ।’ र, त्यो प्रेमिल हात उमेर अवसर र चुनौतीको शृङ्खला हो। उमेरका कुइनेटाहरू अनेकन् नयाँ–नयाँ समस्या लिएर आउँछन्। र, छेउछाउमा हुन्छन् अवसरहरू पनि। उमेर बढ्दै जान थालेपछि जायत्रीले दुनियाँको सक्कली अनुहार देख्न थालिन्। समाज त उनले सोचेभन्दा निकै फरक रहेछ। निकै घिनलाग्दो रहेछ समाजको मुहार। जायत्रीको अनुहार हेरेर समाज आफ्नै मुख कुच्याउँथ्यो। समाजको त्यो कुच्चिएको मुख देखेर उनको मन बटारिन्थ्यो। “मान्छेहरूले ‘ओहो कस्तो मान्छे’ भन्थे”, उनी सम्झिन्छिन्, “त्यो सुन्दा घाउले दिएको भन्दा बढी पीडा हुन्थ्यो।” मान्छेले टिप्पणी गर्छन् भनेरै बाहिर निस्कँदा अनुहार ढाक्थिन् उनी। तर, मान्छे स्वभावैले जब्बर हुन्छ। कहाँ सजिलै हार्छ र मान्छे ? पटक–पटक लड्छ। पटक–पटक उठ्छ। त्यसैले त अर्नेट हेमिङ्वेले लेखेका छन्– ‘मान्छे ध्वस्त हुन सक्छ, पराजित हुँदैन।’ हारिनन् जायत्रीले पनि। संघर्ष गरिरहिन्। हो, उनी थाक्थिन्। निराश हुन्थिन्। मान्छेका अवहेलना र तिरस्कारले मुटु बिझाउँदा कति रोइन् कि उनलाई थाहा छ, कि उनका आँखालाई। तर, हारिनन्। पराजित भइनन्। हो, त्यही संघर्षको दौरान त हो ऊ भेट भएको। शिशिर ऋतुमा हिउँले पात झारिएका रुखहरूले वसन्तमा पलाउन जुन संघर्ष गर्छन्, त्यस्तै संघर्षमा थिइन् उनी। त्यहीबेला ऊ आइपुगेको थियो, वसन्त बनेर। नाम त थियो– हेमन्त। ऊ यसरी आयो मानौं वसन्तका सारा याम एकैपटक आइपुगे। मानौं सात घाम एकैपटक उदाइदिए। आठ कक्षामा पढ्नै थिइन् उनी। होस्टेलमै बस्ने एकजना दिदीको माध्यमबाट हेमन्तसँग चिनजान भयो। भेटघाटपछि हेमन्तले जायत्रीको नम्बर लिए। “तर मलाई शुरूमा रूचि नै थिएन”, लजाउँदै सुनाउँछिन् जायत्री। रूचि होइन खासमा विश्वास थिएन। संकोच थियो नि आफैंभित्र, जरा गाडिबसेको। एउटा लडाईं त आफैंसँग लड्नै बाँकी थियो नि। त्यो लडाईंको सूत्रधार बनिदिएका थिए– हेमन्त। हेमन्तले फोन गर्थे, बारम्बार। प्रेम गर्छु भन्थे। जायत्रीले भने रूचि नै देखाउँदैनथिन्। बरू ‘फोन नगर’ भन्थिन्। कतिसम्म भने नम्बर नै फेर्थिन्। उनलाई लाग्थ्यो रे, “ऊ त देख्दा पनि राम्रो छ। यस्तो मान्छेले मलाई किन मन पराउला र ? पक्कै पनि केही स्वार्थ हुन सक्छ।” बस्, यही संकोचले गाँजेको थियो उनलाई। एउटा लडाईं त आफैंसँग लड्नै बाँकी थियो। जित्नु थियो आफैंले आफूलाई हेर्ने दृष्टिकोण। जायत्रीको लडाईंलाई हेमन्तको जीवन कथाले आड दियो। “सौतेनी आमाको कारण बाल्यकाल दुःखमा बितेको सुनाउँथ्यो हेमन्त। आफ्नो कथा सुनाउँदा सुनाउँदै रुन्थ्यो पनि। त्यहीँ आँसुले मलाई पगाल्यो”– सुनाउँछिन् जायत्री। प्रेमको बाटोमा आँसुले डोब बनाउँदो रहेछ। त्यहीँ डोब पछ्याउँदै जायत्री अघि बढिन्। आठ कक्षा पढ्दा हेमन्तले गरेको प्रेम प्रस्ताव एसएलसी परीक्षा दिएपछि स्वीकार गरिन्। त्यसपछि परिवारलाई मनाउने काम शुरू भयो। परिवार तयार भएपछि उनीहरूले तामाङ संस्कृतिअनुसार सगुन गरे। सगुन गरेको डेढ वर्षपछि विवाह। आठ वर्ष प्रेम सम्बन्धमा रहेपछि दुई वर्ष अघि मात्रै जायत्री र हेमन्तले बिहे गरेका हुन्। धुमधाम भयो उनीहरूको बिहे। विवाहमा धेरै खर्च नगरौं भनेकी थिइन् रे जायत्रीले। तर हेमन्तले भनेछन्– “बिहे भनेको जिन्दगीमा एकपटक गर्ने हो, गर्नुपर्छ। पछि यस्तो केटी रहेछ, लुकेर बिहे गर्‍यो भन्ने ठाउँ नदिउँ। कसैले औँला उठाउने ठाउँ नहोस्। त्यसैले धुमधामसँग बिहे गर्ने हो।” अहिले त उनीहरूको चार महीनाकी छोरीसमेत भइसकेकी छन्। हो, अहिले पनि हेमन्तको परिवारमा जायत्रीलाई पूर्ण स्वीकार गरिसकेका छैनन्। बेवास्ता गरिदिन्छन्। उनको चित्त दुख्छ। उनले दया चाहेकी होइनन्। उनलाई कसैले विचरा भने पनि नराम्रो लाग्छ। “म विचरा होइन। विचरा भन्दा केही नभएजस्तो, केही गर्नै नसक्ने जस्तो लाग्छ”, जायत्रीको गुनासो छ, “मान्छेहरू अनुहार हेरेर केही नपढेजस्तो, नजानेजस्तो ठानेर हेप्न खोज्छन्। त्यस्ता मान्छे देख्दा रिस उठ्छ।” रिस त उनलाई ती मान्छे देख्दा पनि उठ्छ जसले हेमन्तले उनलाई विवाह गर्दा टाउको दुखाउँछन्। “आफ्नो इच्छाले प्रेम गरेर विवाह गर्दा पनि अरूलाई किन टाउको दुख्छ ?”– यस्तै सोध्छिन् रे हेमन्तलाई। हेमन्त भने सरल छन्। सरल जवाफ दिन्छन्– “सानैदेखि दुःख पायो, सौतेनी आमाको हातमा हुर्कियो, राम्रोसँग खान पाइएन, जुठो भाँडा माझियो। अब त यहाँसम्म आइसकियो, आफैं गर्ने हो। कसैले केही भनेर केही हुँदैन।” हेमन्तको यही सरलपनले ढुक्क बनाएको छ उनलाई। साँखुमा हेमन्तको काठको शो–रुम छ। धेरथोर आम्दानी भइहाल्छ। जिन्दगी चलेकै छ। “अब मेरो जिन्दगीभरको सपना छोरी भएकी छ। आफूले पूरा गर्न नसकेको चाहना छोरीले पूरा गरोस् भन्ने लाग्छ। मेरी छोरीको कारणले म चिनिन पाउँ भन्ने लाग्छ”– जायत्री भन्छिन्। आदरणीय पाठक, हामीलाई देखापढीमा सुनीता साखकर्मीले लेखेको लेख यो लेख पठनीय लाग्यो त्यसैले साभार गरी  केही अंश प्रस्तुत गरेका छौं । – सम्पादक