आज:  | Sat, 25, Jun, 2022

प्रभावकारी बन्दै सामुदायीक/आमा समुहका भवन

१३ पुष २०७६, आईतवार १७:१० मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
जिल्लाका प्रायः सवै वस्तीमा आमा समुहले निर्माण गरेका चिटिक्क परेका ‘आमा घर’ छन । पुरुष विदेश हिंडेपछि पारिवारिक र सामाजिक जिम्मेवारी एकै साथ सम्हाल्दै आएका आमा समुह मात्र सफल छैनन, उनीहरुले निर्माण गरेका आमा घरहरु (सामुदायिक भवन)हरु पनि उत्तिकै उपयोगी ठहरिएका छन ।समुदायमा नित्य भैरहने विवाह, वर्तवन्ध, मृत्यु संस्कार जस्ता सामाजिक कार्यक्रमबाहेक राजनैतिक बैठक तथा भेला तथा विभिन्न योजनाको भेला, उपभोक्ता समितिका वैठक, प्रशिक्षण कार्यक्रम संञ्चालन गर्न यी भवन उपयोगी भएका छनआमा समुहका भवन नभएका वस्तीमा सामुदायीक भवनको अभाव महसुस गरिएको छ । स्थानीय सरकार तथा प्रदेश तथा संघिय सांसदहरुले पनि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम तथा स्थानीय पूर्वाधार साझेदार विकास कार्यक्रममा योजना छनौट गर्दा एउटा स्थानीय तहमा कम्तीमा चार वटा सामुदायीक भवन निर्माण गर्न बजेट विनियोजन गरेका छन ।‘सामुदायकी भवनहरु सामाजिक, धार्मिक तथा अन्य बैठक भेला गर्न उपयोगी ठहरिएकोले आमा घर वा सामुदायिक भवन निर्माणमा साँसदहरुले पनि बजेट छुट्टाएका छौ’ गण्डकी प्रदेश क का सांसद विनोद केसीले भने, ‘दलका भेला वस्न समेत यी भवनले सजिलो बनाएको छ । राज्यले सामुदायीक भवनमा गरेको सानो लगानी पटक्कै खेर गएको छैन ।’पारिवारिक जिम्मेवारी बाहेक महिलाले समाजमा नित्य भैरहने न्वारान, ब्रतबन्ध/छेवर, विवाह, मृत्युपछीका काजकया जस्ता सामाजिक संस्कार सम्पन्न गर्न ठूलो योगदान पुर्‍याएका छन । ग्रामिण भेगका आमा समुहको सामाजिक सकृयता र भुमिकाबाट प्रभावित भएपछि हिजो आज सहरबजारमा समेत आमा समुह सामाजिक काममा अग्रसर हुन थालेका छन ।जुवातास र जाँडरक्सी नियन्त्रण गर्ने, सानातिना झगडालाई मिलाउने देखी गाउँको शिक्षा, श्वास्थ्य, खानेपानी, सडक जस्ता भौतिक पूर्वाधार निर्माणमा पनि म्याग्दीका सवै वस्तीका महिला सकृय छन ।‘विवाह, छेवर अन्य धार्मिक कार्य आदी सामाजिक कार्यमा खट्नेदेखी गाउँमा आउने पाहुनालाई स्वागत सत्कार गर्नसम्म आमा समुह अगाडी सर्नु पर्छ’ धौलागिरी गाउँपालिका, ६ मराङ्गकी प्रगति आमा समुहकी अध्यक्ष रत्नकला जुग्जालीले भनिन, ‘दुर्गम गाउँमा जिउँदाको जन्ती र मर्दा मलामी पुग्ने सवै महिला नै हुन ।’आमा समुह सामाजिक, धार्मिक तथा विकासे गतिविधीमा उल्लेख्य सकृय छन । सडक, खानेपानी समेतका विकासे योजना पारदर्शी बनाउन महिलालाई कोषाध्यक्ष अनिवार्य गरिएको छ । महिलाहरु आफै सकृय सामाजिक कार्यमा कसैको गुनासो छैनन । आमा समुह सकृय बन्न नसकेका गाउँ वा साना बजार तथा शहरी क्षेत्रमा झैझगडा, चोरी डकैती, लागुऔषधको समस्या बढी छ ।यसरी सामाजिक संस्कारमा सहयोग गरे वापत आमा समुहले केही स्वच्छिक शुल्क लिने गर्छन । यही नै समुहको मुल आर्थिक श्रोत हो । त्यसबाहेक विदेशबाट आउने लाहुरे वा अन्य पाहुनालाई स्वागत सत्कार गरी ‘दान झार्ने’ स्वच्छिक सहयोग र समुहका सदस्यले संकलन गर्ने मासिक न्यून रकम ‘डाली कोष’मा जम्मा गर्ने गरेका छन ।  यसरी जुटाईएको रकम पनि आमा समुहले शिक्षा, बाटोघाटो, खानेपानी लगाएतका सामाजिक कार्यमा नै लगाएका छन ।