आज:  | Tue, 28, Jun, 2022

चिजको माग बढेपछि कृषक उत्साही

१० पुष २०७६, बिहीबार २१:३१ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका, ६ घारका कृषक समुहले उत्पादन गरेको चीजको माग र विक्रि बढेपछि गाई पालक उत्साही भएका छन । हिमालय चीज उत्पादन कृषी सहकारी संस्था मार्फत उत्पादित चीज नजिकका घोडेपानी, तोतोपानीमा मात्र होईन पोखराको लेकसाईडका होटलमा पनि विक्रि हुन थालेपछि गाई पालक कृषक उत्साही छन । दुध बेचेर दैनिक नगद बुझ्दै आएका कृषक आफ्नै समुहले चलाएको चिजको माग बढेपछि ढुक्क भएका हुन । ‘पुस्तौदेखीका गाई गोठ राख्ने प्रचलन घटेपनि अन्त्य भएको थिएन । धेरैका घरमा गाईको दुध थियो तर वेच्ने ठाउँ थिएन । त्यसैले कृषक मिलेर चिज उद्योग स्थापना गरेका थियौं । चिज विक्रि हुन्न कि भन्ने डर थियो तर राम्रो विक्रि भयो’ संस्थाका सचिव श्याम खड्काले भने, ‘चीज उद्योगले प्रयाप्त नाफा आर्जन गर्न नसकेपनि कृषकले दुध वेचेर मात्र मासिक ३०–३५ हजार पाएका छन । दुध नवेच्ने कृषकले पनि घाँस, दाऊरा बेचेर आम्दानी लिएका छन ।’ संस्थाले गत बर्ष ३८ लाख मुल्य बराबरको चिज र ५ लाखबढीको घ्यू समेत ४३ लाख विक्रि गरेको थियो । यो बर्ष ४० लाखको चीज र ६ लाख मुल्यको घ्यू वित्रि गर्ने लक्ष्य छ । दुधको मात्र बढेकोले लक्ष्यभन्दा बढी चिज उत्पादन हुने अनुमान छ । कृषी सहकारीले उत्पादित शुद्ध र गुणस्तरिय चिजको स्वाद पर्यटकले रुचाएपछि पोखराका पर्यटकिय होटल/रेष्टुरेन्टमा माग बढेको हो । स्थानिय तातोपानी, घोडेपानी, कास्कीको घान्द्रुकदेउराली, टाडापानीमा विक्रि हुने चीजको माग ठूलो शहरमा हुन थालेपछि कृषक हौसिएका छन । गाउँमा चीज उद्योग स्थापना हुँदा गाई पाल्ने कृषकले मात्र लाभ पाएका छैनन, चीजका मुख्य उपभोक्ता पर्यटकले ताजा र गुणस्तरिय चीज उपभोग गर्न पाएका छन । होटल/रेष्टुरेन्ट ब्यवसायीले सुपथ मुल्यमा गुणस्तरीय चीज दैलो मै पाएका छन । गाई पशु नपाल्ने कृषकले पनि घाँस वेचर आम्दानी गरेका छन । खेतीयोग्य जमिनले कम्पोष्ट मल पाएको छ, स्थानीयले रोजगारी पाएको छ । संस्थाले मासिक कर्मचारी तलव र दुध, इन्धन समेत मासिक ३ लाख ५० हजार भुक्तानी गर्छ । ‘पशु चौपाया पाल्दा झरीवादल र चाडपर्व केही भन्न पाईन्न । पशु पाल्न सजिलो छैन, दुख छ । तर महिना पुगेपछि कर्मचारीले तवल बुझे झै दुधको पैसा बुझ्न पाउँदा सवै दुख विर्सन्छ’ अगुवा कृषक लिलबहादुर खड्काले भने, ‘१२ महिना सडक नचल्ने भएकोले बर्खायाममा उत्पादित चीज स्तरिय भण्डारण क्षमता बढाउनु पर्ने छ ।’ चीज बजारको सहजता, प्रयाप्त घाँसे क्षेत्र, मोटरबाटोले दैलोमा पुग्ने हुँदा दाना लैजान सहज, विजुली पानी र संञ्चार सेवाको सहज पहुँच वस्तीसम्म पुगेपछि परम्परागत गाई गोठहरु सुधार गर्दै ब्यवसायीक बन्न थालेका हुन । संस्थामा अहिले ३५ जना कृषक आवद्ध छन । उद्योगमा दैनिक हिउँदमा पनि १ सय ८० लिटर दुधबाट २० केजी चिज र २ केजी घ्यू उत्पादन हुन्छ । यहाँको चीज बेनी, घोडेपानीबाहेक पोखरा लेकसाईडको केही स्टोरले खरिद गर्ने गरेका छन । चिजको थोक मुल्य प्रति केजी ८ सय र खुद्रा मुल्य आठ सय ५० रुपैयाँ छ । न्यौनी घ्यू प्रति केजी ८ सय ५० रुपैयाँमा विक्रि हुने गरेको छ ।