म्याग्दीको सम्पदा ताकमकोट

९ पुष २०७६, बुधबार २२:०१ मा प्रकाशित (6 महिना अघि)
पुनहिल संवाददाता

म्याग्दी खोला भेगको धानखेती हुने अन्तिम वस्ती एवं स्थापत्यकालको दृष्टिकोणले महत्व राखेको पुरातात्वीक वस्ती हो, ताकम ।
धौलागिरी गाउँपालिका, ७ ताकमको पुरानो नाम भने किमचौर हो । ताकमदेखी तलको धान फाँन फाँटको पुरानो नाम भने बाख्रीचौर हो । ताकम गाउँदेखी पश्चिम घना जंगलको विचमा वरीपरी वस्तीको विचको अग्लो डाडाँमा अविस्थत ताकमकोट समुद्र सतहदेखी २६०० मिटर उचाईमा छ । ताकमकोटको वरीपरी देविस्थान, सिवाङ, मुना, ताकम, धारापानी आदी वस्ती छन । कोटबाट धौलागिरी, जुर्गा, चुरेन, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल राम्रोसंग देख्न सकिन्छ ।

ताकमकोटको एकै थालोमा दुई वटा छुट्टाटुट्टै तर जोडिएका मन्दीर छन, कालिकापीठ र जगन्नाथ । ठ्याक्क मिती नखुलेपनि सोही अवधिमा ताकमकोट कालिका मन्दीर विसं १३०० तिर र जगन्नाथ, अन्नपूर्ण मन्दीर भने मल्ल राजाले विसं १६०० तिर निर्माण गरेको किम्बदन्ती छ ।

ताकम कोटमा एकै स्थलमा ऐतिहाँसिक दुई वटा मन्दीर छन । दुई छुट्टाछुट्टै कुल खानदानका राजाहरुले करिव ३ सय बर्ष अन्तरालमा निर्मित दुवै मन्दीरमा आज प्रयन्त समान पुज्य छन । ताकमकोट पुग्ने धेरै मान्छेले दुई वटा छुट्टाछुट्टै कालिका र जगन्नाथ मन्दीर भएको भेउ नै पाउँदैनन । न ताकमकै नयाँ पुस्ताले यहाँ लुकेको इतिहाँस पढेको छ ।

इतिहाँसकार चन्द्रप्रकाश बानियाँका अनुसार तारापति थापा नेतृत्वमा जुम्लाबाट आएका रन्के मगर, जैचन छन्त्याल, भृगु सुवेदी, पर्वे दमाई, लामगाडे कामी र रमाकान्त पौडेलले स्थापना ताकम राज्यमा बगाले थापाहरुले विस १२४६–१५४५ सम्म थापा वंशका ७ पुस्ताले तीन शताब्दी (२ सय ९९ बर्ष) सम्म शासन गरेका थिए । ताकम र वरपरका वस्तीमा थापा क्षेत्री, मगर, छन्त्याल, सुवेदी, पौडेल, दमाई र कामी जातिको मुख्य बसोबास छ । भण्डारी, कार्की समेत केही क्षत्री र पछि पुगेका हुन ।

ताकम राज्यका भुर्तेल थरका काजीहरुले निसीभुजी (हाल बाग्लुङ्गमा पर्ने) रुकुमबाट पिताम्बर बम मल्ललाई ल्याई ताकम राज्य टुक्राएका थिए । निजीभुजीका राजा पिताम्बरका छोरा डिम्ब वम मल्लले ताकम राज्यका दरवारिया भारदारहरु जैचन छन्त्यल र रन्के मगरका सन्तानलाई हातमा लिई ताकमका थापा राजा तल बाख्रीचौरमा धान थन्क्याउन गएको मेसोमा ताकम दरवारमा प्रवेसगरी बाजाबजाई बन्दुक पड्काएर राज्य कब्जा गरेका थिए । राज्य मल्लहरुले कब्जा धानखेतबाट थापाराजा भाईखलक समेत भागेर पूर्व फेदीमा आई वसे । भागेको थाहा भएपछि मल्ल राजाले थापाहरुलाई ‘रजाई हाम्रो कजाई तिम्रो’ तथा ‘थापाले पुज्ने शिवलिङ्ग र मल्लले पुज्ने कलङिकनी दुवैले पुज्ने’ भन्ने प्रस्ताव पठाए । प्रस्तावमा थापा खलकमा विभाजन आयो । अर्को राजाको शासनमा झुकेर नवस्ने भन्ने थापाहरु भागेर पूर्व लागे । बाँकी थापा राजाका भाईसन्तान अझै ताकममै छन । र आज प्रयन्त ताकमकोटमा दुई मन्दीर एकै स्थानमा राखी, शिवलिङ र काली (कलंङ्कीनी) एक साथ पुजा गर्ने गरिएको हो ।

ताकममा थापा खलकपछि १८८२ असोज १४ गतेसम्म समालवंशी मल्लहरुले शासन गरे । विस १८४३ असोज १४ गते काली अमरसिंह थापा नेतृत्वमा आएको गोर्खाली सेनाले ताकम राज्यलाई नेपालमा एकिकरण गरेको इतिहाँस छ । ऐतिहाँसिक तथा पुरातात्वीक महत्वको ७ सय बर्ष पुरानो कालिका र ४ सय बर्ष पुरानो जगन्नाथ मन्दीर स्थानीयले विभिन्न क्षेत्रमा आर्थिक सहयोग जुटाई २ करोड २० लाखको लागतमा पुननिर्माण गरेका छन ।

‘भुकम्पले मन्दीरमा क्षति पुगेपछि पुरातत्व विभागमा पुग्यौं । विभागले भित्री संरचना नविगारी पुनःनिर्माण गर्नु भनेकोले गुरुयोजना बनाई मन्दीर पुननिर्माण थालेका हौं’ ताकमकोट मन्दीर पुननिर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले भने, ‘भविश्यमा पनि भुकम्पबाट क्षति नहोस भनेर आरसिसि संरचनामा मन्दीर बनाएका हौं । बाहिरी संरचना परिवर्तन भएपनि मन्दीर भित्रको गर्भगृह छोएका छैनौं ।’
कालिकाको स्वरुप ठूलो फलामको ओदानलाई मान्ने गरिएको छ । ताकमको यही ओदानलाई शक्तिपीठको रुपमा मान्ने गरिएको छ । कोटलाई मालिका र धौलागिरी गाउँपालिका भित्रका १५ वडा (साविकका गाविस)को साझा मौलो मान्ने गरिन्छ ।

‘ताकमकोट साक्षत शक्तिपीठको रुपमा गहिरो विश्वासगरी मनले इच्छाएको वर माग्ने गर्छौं । ताकमकोट र कालिका देवी र प्रतिक ओदानको मानमनितो नगर्नेलाई राम्रो नभएको पुख्यौंदेखीको अनुभव छ’ धौलागिरी गापा, ७ ताकमका वडाध्यक्ष समेत रकेका ताकमकोट मन्दीर ब्यवस्थापन समितिका अध्यक्ष कलानिधी शर्माले भने, ‘ताकमकोटको शक्ति मन्दीर पुनःनिर्माण गर्न जग राख्न आएकी तत्कालिन बालबालिका तथा जेष्ठनागरिक मन्त्री थममायाँ थापा उनी हेलिकोप्टरका पाईलट प्रत्यक्ष साक्षी हुन ।’

स्थानीयका अनुसार ०७५ मंसिर २८ गते तत्कालिन मन्त्री थममायाँ थापा हेलिकोप्टरमा पुनःनिर्मित ताकमकोट मन्दीर शिलन्यास गर्न पुगिन । दिनभर औपचारिक कार्यक्रम भयो तर मन्दी थापा र हेलिकोप्टरका पाईलट मन्दीरको प्रसाद र टिका ग्रहण नगरी फर्केने तयारी गरे । तर घन्टौ प्रयास गर्दा पनि हेलिकोप्टर स्टार्ट नै भएन । हैसानी भयो । कसैले मन्दीरमा पुजा राम्रो नभएको र कालिका प्रतिक ओदानको मानमनितो नभएको सुसाएपछि पाईलटले मन्दीरमा गै धुप वाली क्षमा मागे । तत्काल हेलिकोप्टर स्टार्ट भयो, मन्त्री राजकानी फर्किन । यस घट्नापछि पछिल्लो पुस्तामा पनि मन्दीरप्रति आस्था झन मौलाएको छ ।


एतिहासिक सम्पदाको जीर्णोद्वार गरी जस्ताको त्यस्तै स्वरुपमा संरक्षण गर्नु पर्नेमा धमाधम भत्काएर आरसिसि कंकिट मन्दीर निर्माण गर्न थालिएको छ । संरक्षकको दायित्व बोकेका निकायको वेवास्ता र स्थानीयले महत्व नबुझ्दा बर्तमान तथा सन्ततिकालागी पूर्वजले बनाएका ऐतिहासिक स्मारक, देवस्थलको अस्तित्व नासिदै गएका हुन । कंक्रिटबाट घर तथा भवन निर्माण गर्ने प्रचलन बढेसँगै नेपाली प्रविधीबाट निर्मित एतिहासिक मठमन्दीर, पाटीपौवा, पुराना घर तथा मौलिक प्रविधी पनि नास हुँदै गएका हुन ।