आज:  | Sat, 25, Jun, 2022

स्वरुप फेर्दै झोलुङ्गेपुल

६ पुष २०७६, आईतवार १७:०२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
ग्रामिण जनजीवनको प्रमुख आधार मानिएको झोलुङ्गे पुलले मानिसको जीवन सहज मात्र बनाएको छैन, त्यहाँको आर्थिक, सामाजिक विकासमा उल्लेख्य सहयोग पुर्‍याएको छ । धेरैभन्दा धेरै जनतालाई लाभान्वित बनाउन, न्युनतम लगानी निर्माण गर्न सकिने झोलुङ्गे पुल ग्रामिण जीवनको प्रमुख आवश्यकता र चाहना हो ।हिंडेर तर्न नसक्ने नदी वा खोला पार गर्न, छिटोछरितो यात्राकालागी रैथाने प्रविधीमा आधारित काठे पुल वा हिउँदे पुल फड्के वा साँघुको स्थाई विकल्पको रुपमा म्याग्दी र बाग्लुङ्गको पश्चिमी भेगका रुम, तमान क्षेत्रका लोहार (कामी जाती)ले स्थानीय खानीबाट झिकेका फलामका साङ्लो बनाई झोलुङ्गे पुलको विकास गरेको मानिन्छ । खोलाको वल्लो र पल्लो किनारामा साङ्लो झुण्डाएर (झोलुङ्गो ) बनाईएकोले झोलुङ्गे पुल भनिएको हो ।झोलुङ्गे पुलमा आधुनिक प्रविधी भित्रिनु अघि गाउँवस्ती जोड्ने स्थानीय सीप र साधनको प्रयोग गरिन्थ्यो । रैथाने सीपमा आधारित कालिगढ तथा प्रविधी अहिले करिव विस्थापित भएको छ । यस्ता झोलुङ्गे पुलले ग्रामिण भेगमा शिक्षा, श्वास्थ्य सेवा लगाएतका आर्थिक लाभ लिनमा सहयोग गरेको छ ।त्यो वेलाका त्यो बेलाका पुल अधिकांश विस्थापित भए । भएका एकाध पुल जीर्ण छन । नेपालमा प्रचलनमा रहेका झोलुङ्गे पुल  म्याग्दी र बाग्लुङ्गको पश्चिम भेगमा परम्परागत रुपमा स्थानिय लोहारहरुले तयार पार्ने झोलुङ्गे पुलको रुपरेखा र डिजाईनमा तयार पारिएका हुन् ।नेपालमा आधुनिक झोलुङ्गे पुलको अवधारण भने डा. टोनी हागनले भित्राएको मानिन्छ । शुरुमा झोलुङ्गे पुलमा काठको प्रयोग गरिन्थ्यो तर हिजोआज बनविनास रोक्न स्टीलका फ्यालक प्रयोग गरिन्छ । अझै दुर्गम गाउँहरुमा फाट्टफुट्ट काठको प्रयोग गरिन्छ । झोलुङ्गे पुलमा सस्पेन्सन, सस्पेण्डेड र ट्रसगरि तिन प्रकारका झोलुङ्गेपुल प्रचलनमा छन ।झोलुङ्गे पुलको क्षेत्रमा १६ बर्षदेखी काम काम गरिरहेको गैहृसरकारी संस्था मिलनको झोलुङ्गे पुलको डिटेल अभिलेख अनुसार जिल्लामा विभिन्न नदी तथा खोलामा २ सय १२ वटा झोलुङ्गे पुल रहेका छन । छुट्टै २७ वटा झोपु नयाँ स्थानमा निर्माणाधिन छन । चालु झोपु मध्य सुरक्षित झोपु संख्या ८७ वटा मात्र हुन । बृहत मर्मत गर्नु पर्ने अवस्थाका २१ वटा झोपु छन । अति जोखिमपूर्ण अवस्थाका झोपुको संख्या ४७ वटा छन । सडक विस्तार तथा मोटरपुल निर्माणपछि प्रयोगहीन अवस्थामा २४ वटा झोलुङ्गे पुल छन ।झोलुङ्गे पुलले नदी वारपार गर्न सजिलो मात्र बनाएको छैन, उनीहरुको शिक्षा, श्वास्थ्य वजार पहुँच, विभिन्न सेवा लिन सजिलो भएको छ । छिटोछरितो यात्राकालागी आवश्यक ठानिएका झोलुङ्गे पुलले दुई वा धेरै गाउँलाई जोड्ने मात्र हैन, आर्थिक, सामाजिक विकासमा सकृय पार्न सहयोग पुर्‍याएको छ ।जिल्लामा झोलुङ्गे पुल  निर्माणको लामो अनुभव संगालेको मिलन संस्थाका अनुसार एक सय मिटर छोटो एउटा झोलुङ्गे पुल निर्माण गर्न सरदर ४ सय श्रम दिन लाग्छ । कुल श्रमदिनमध्य २२ प्रतिशत दक्ष कामदार, १६ प्रतिशत अर्धदक्ष कामदार, अदक्ष कामदार ५० प्रतिशत र ढुवानी/भरिया १२ प्रतिशत लाग्छ । स्थानीय मजदुर प्रयोग गरिने भएकोले झोपु निर्माणदेखी नै प्रत्यक्ष आर्थिक लाभ लिन सक्छन ।‘सरकारले उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र मिस्त्रीलाई छुट्टाछुट्टै तालिम दिने भएकोले एउटा झोलुङ्गे पुलले पुर्‍याउने दिर्घकालिन लाभ बाहेक स्थानीयले तत्काल सीप तथा नेतृत्व विकासको अवसर प्राप्त गर्छन’ मिलन म्याग्दीकी कार्यकारी निर्देशक दीवा तिलिजाले भनिन, ‘झोलुङ्गे पुलले धेरै वस्ती बजार बनेका छन । झोलुङ्गे पुलबाट मान्छेलाई मात्र होईन भेडा गोठ समेत पशुचौपायालाई समेत लाभ पुगेको छ ।’लामा झोलुङ्गे पुलको लहरखोला वा नदीको साँघुरा घाँटी खोजेर बनाईने झोलुङ्गे पुलले समाजको फेरिदो आवश्यकतालाई जोड्न छोडेपछि छोटा झोलुङ्गे पुलले स्वरुव फेर्न थालेका छन ।पहाडको टुप्पोको वस्तीबाट पल्लो पाखोको वस्ती नजिकै देखिएपनि हिँडेर पुग्न दिनभरी लाग्ने भएपछि फेदीको खोला/नदीमाथी निर्मित छोटा झोलुङ्गेको विकल्प वल्लो डाँडादेखी पल्लो डाँडा जोड्ने लामा पुलको माग बढेको हो ।मोटरबाटो गाउँवस्ती उक्लेसँगै नयाँ वस्ती विस्तार हुन थालेका छन । पुराना वजार ओझेल परेसँगै परम्परागत घोडेटो/गोरेटो बाटो तथा झोलुङ्गे पुल विस्थापित हुने र नयाँ–नयाँ वस्ती र बजारसँग जोडिन नयाँ झुलुङ्गे पुलको माग बढेको हो । जिल्लाका ६ वटा स्थानीय तहमा १३ वटा एक सय २० मिटर लामा झोलुङ्गे निर्माण भैरहेका छन । ट्रेलव्रिज सपोर्टको प्राविधिक सहयोगमा थप १५ वटा लामा र अग्ला पुल निर्माण भैरहेको छ ।साविकको जिल्ला विकास समितिले रघुगंगा गापा १ का बेग र बान्दुक वस्ती जोड्न बेगखोलामाथी ३ सय ६६ मिटर लामो र पानीको सतहदेखी १ सय ४८ मिटर अग्लो झोलुङ्गे पुल नेपालको सवै भन्दा लामो भएको दावी छ ।‘पहाडका वल्लो डाँडा र पल्लो डाँडामा रहेका वस्ती जोड्न लामा प्रकृतिका झोलुङ्गे पुलको माग बढी छ’ प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘धौलागिरी गाउँपालिकाको मुदी र खिवाङ्ग जोड्न, अन्नपूर्ण गापाको नागी–राम्चे जोड्ने, रघुगंगाको पाखापानी र दर्मिजा जोड्ने, बेनी नगरपालिकाको रत्नेचौर र बाग्लुङ्ग जोड्ने समेत तीन दर्जन झोलुङ्गे पुलको माग छ ।’स्मारक बन्यो मंगलाघाट पुलबेनीको पश्चिम मंगलाघाटमा म्याग्दी नदीमाथी निर्मित र चालु अवस्थाको झोलुङ्गे पुल बाग्लुङ्ग गल्कोटका लालबहादुर शेरचनले विसं १९२५ तिर म्याग्दीको रुमको खानीबाट निकालिएको फलामलाई साङ्लो बनाई निर्माण गरेका थिए ।बेनी र बाग्लुङ्ग जिल्लालाई जोड्न बेनी बजारको मंगलाघाट स्थित म्याग्दी नदी माथी निर्मित झोलुङ्गे बेनी–सुर्केमेला कृषी सडकबाट खसालेको ढुङ्गाले हिंड्ने बाटो पुरिएपछि प्रयोगहिन छ । क्षतिग्रस्त एतिहाँसिक पुलमा मान्छे आवतजावत नभएपनि अहिले बेनी नगरपालिकाले मर्मत गरी संरक्षण गरेको छ ।‘मंगलाघाटको पुरानो झोलुङ्गे पुल स्थानीय म्याग्दी नदी वारपार गर्ने माध्यममात्र होईन, यो बेनीको एतिहाँस र सभ्यताको परिचय पनि हो । मधेशको बुटव–भोटको (मुस्ताङ्ग) हुंदै तिब्बत लाई तत्कालिन ब्यापारीक शहर बेनीसंग जोडने प्रमाण हो’ बेनी नगरपालिका, ७ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘पारीपट्टी खनिएको मोटरबाटोले झोलुङ्गे पुलको लठ्ठा चुडिएपछि पुरानो साँङ्ले लठ्ठामा नयाँ लठ्ठा जोडेर काठका पलेक राखी संरक्षण गरेका हौं । हाम्रा सन्ततिले पुर्खाले खोला तर्ने माध्यम देख्न सकुन ।’प्राचिन स्मारक संरक्षण ऐन २०१३ (संशोधनसहित)को परिभाषा अनुसार स्थापत्यकालको दृष्टिकोणले सय बर्ष नाघेका र सो कालमा मानिसले निर्माण गरी उपभोग गरेका वस्तु तथा इतिहास बोध गराउने वस्तु आदीलाई ‘पुरातात्विक बस्तु’ मानिएकोले बेनीको ‘मंगलाघाट झोलुङ्गे पुल’ स्मारकको रुपमा रहेको छ ।