आज:  | Thu, 30, Jun, 2022

औपचारिकतामा सकियो महिलाहिंसा विरुद्धको १६ दिने अभियान

२४ मंसिर २०७६, मंगलवार १८:५५ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान म्याग्दीमा पनि मंगलबार समापन गरिएको छ ।हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिक सम्म मनाइने दिवसको यसपालिको नारा “समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता” भन्ने रहेको थियो ।स्थानीय तह, गैरसरकारी संघ संस्थाहरुको सहभागितामा विभिन्न सन्देश तथा जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाइएको हो । बेनी नगरपालिकाको आयोजनामा विभिन्न संघ संस्थाहरुको सहभागितामा बजारमा ¥याली र समारोहको आयोजना गरिएको थियो ।नगरपालिका कार्यालयबाट प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत कार्यालय प्रमुख, सुरक्षा अधिकारी, जनप्रतिनिधी र महिला सहभागि औपचारिक कार्यक्रममा प्रमुख अतिथि बेनी नगर उपप्रमुख सन्जु बरुवालले लैङ्गिक हिंसा न्युनीकरणका लागि चेतनाको विकास र महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्ने  बताईन ।कार्यक्रममा महिला अधिकार मञ्चका अध्यक्ष दिवाकुमारी पुनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा महिला उद्यम विकास समितिका सभापति सुनिता केसी, बेनी नगरपालिकाको ८ नम्बर वडा स्तरीय आमा समूहकी अध्यक्ष भुलमाया तिलीजा, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बिष्णु गुरुङ लगायतले आ–आफ्ना मन्तब्य राखे ।महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई ‘श्राद्धमा विरालु बाध्ने’ उखानसँगै ठ्याक्क मिल्नेगरी औपचारिकताकालागी बेनी नगरपालिकाले जस्तै अन्य ५ वटै गाउँपालिकाहरुले पनि विभिन्न कार्यक्रम गरे ।अभियानका क्रममा धवलागिरी गाउँपालिकाको गुर्जामा सचेतनामुलक कार्यक्रम र मराङमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको थियो । मालिका गाउँपालिकाको वडा स्तरमा कानुनी सचेतना र मंगला गाउँपालिकामा सचेतनाका साथै निमावी र माविका छात्राहरुलाई लक्षित गरेर सेनेटरी प्याड वितरण गरिएको थियो ।रघुगंगा गाउँपालिकाले पनि सचेतनामुलक कार्यक्रम गरेको थियो भने अन्नपूर्ण गाउँपालिकाले प्रभा माविका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको थियो । बेनी नगरपालिकाको आयोजनामा घतानमा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर भएको थियो ।