आज:  | Tue, 28, Jun, 2022

कोरला नाकामा नेपाल पूर्वाधार शुन्य

२१ मंसिर २०७६, शनिबार ११:११ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
हिमालय शृखलालाई दक्षिण पारेपछि वालुवाका अनगिन्ती पहाड छिचोल्दै फराकिलो पठार पुगिन्छ, २४ नम्बरको सीमास्तम्भ रहेको कोरला नाका । स्वतन्त्र दुई देश बीच दुवै देशको हितमा आधारित आवागमन सुविधाको ब्यवस्थित प्रणाली नाका हो । गण्डकी प्रदेशको ‘लाईफ लाईन’ मानिएको बेनी–जोमसोम–कोरला सडक उपल्लो मुस्ताङ्गमा पर्ने २४ नम्बर पिलर पारीपट्टी ढोङ्वासेनदेखी केही परको सिगात्सेवाट आएको ‘चाईना नेसनल हाईवे २१९’ भेट्न हतारो गरिरहेको छ ? बेनीदेखी एक सय ७६ किलोमिटर टाढाको कोरला नाका खुल्ने चर्चा चल्न थालेको पनि दशक पुग्यो । तर कोरला नाका सम्म पुग्ने प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको निर्माण गति, नाका क्षेत्रमा सुरक्षा ब्यवस्था र भन्सार लगाएतका पूर्वाधार निर्माण शुन्यता देख्दा कोरला नाका पुग्ने जो कोही लज्जा बोध गर्छ । नाका पुग्दा नेपाली पक्षलाई कोरला नाका खोल्न कुनै हतारो होईन बरु ‘चाईना नेसनल हाईवे–२१९’ तल पोखरा झर्न आतुर देखिन्छ । २४ नम्बर पिलरपारी पट्टी निर्मित चौडा, कालो र चिल्लो सडक अनि भन्सार कार्यालय समेतका ब्यवसायीक भब्य भवनले यही पुष्टी गर्दछ । ‘समाचार पत्र, टेलिभिजन र भाषण पढ्दा/सुन्दा कोरला नाका संञ्चालन भै हाल्छ जस्तो लाग्छ तर यहाँको अवस्था देख्दा निरास बनाउँछ’ लोमन्थाङ्गका स्थानीयवासी ज्ञानेन्द्र विष्टले भने, ‘कोरला पुग्ने फराकिलो सडक र भन्सार समेतका भौतिक पूर्वाधार निर्माण, सुरक्षा ब्यवस्थापन समेतका विविध विषय ब्यवस्थापन तयारी देखिएको छैन ।’ मुस्ताङ्गमा पर्ने नेपाल–चीन विचको २४ नम्बर सीमा स्तम्भ रहेको कोरला नाकामा चीनले दशगजा छोडेर आधुनिक सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, एनिमल क्वारेन्टाईन, कर्मचारी आवस गृह, प्रयोगशाला, गोदाम घर । ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा प्रन्ध गाएतका पूर्वाधार खडा गरिरहेको छ । तर सीमा वारी नेपालपट्टी खाली चौर चकमन्न पल्टेको छ । संरचना निर्माणको कुनै सुरसार देखिंदैन । कोरला नाकादेखी १२ किलोमिटर दक्षिणपट्टी तल नेचुङ्गमा अवस्थित इलाका प्रहरी र कुरुवाको भरमा चलेको भन्सार कार्यालयले नाकासम्म निगरानी पुर्‍याउन जनशक्ति र साधनस्रोत दुवै छैन । कोरला भन्सार कार्याल सँगै सुरक्षार्थ खटाईएको शसस्त्र प्रहरी सदरमुकम जोमसोम छोड्न मानेको छैन । कोरला नाकाको सीमा क्षेत्रमै चिनियाँ दैनिक गस्तीमा रहेको भएपनि नेपाली सेना भने २५ किमी दक्षिणपट्टी तल लोमन्थाङ्ग छेउमा बसेको छ । नेपाल–चीन वीच गर्त वर्ष हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार चीनका चार सामुद्रिक तथा तीन सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने मध्यको नेचुङ–लेक्जे (कोरला) नाका पूर्वाधार निर्माण तयारी क्रममा छ । तर नेपालीले अपेक्षा गरेजस्तो तथा राजनिती र ब्युरोक्रेसीले हल्ला गरे झै कोरला नाका संञ्चालन गर्न आवश्यक पूर्वाधार बनाउन नेपाली पक्ष अति सुस्त छ । ‘नेपाली ब्युरोक्रेसी र कानुन बोली जस्तो काममा तत्पर छैन । कानुनी जालझेलको अल्झन झिकिरहन्छ’ म्याग्दीबाट प्रतिनिधी सभा सदस्य भुपेन्द्र थापाले भने, ‘स्थानीय चिनियाँ बन्दरगाहको उपयोग गर्दै दैलोको सडकमा ठूला लरी गुडेको हेर्न आतुर छन ।’ कोरला नाकामा नेपाली सुरक्षाकर्मी र सरकारी प्रतिनिधि नहुँदा त्यहाँ पुगेका आन्तरिक तथा बाहय पर्यटकलाई चीनियाँ प्रहरी र सेनाले दुर्ब्यवहार गर्ने गरेका छन । दशगजा क्षेत्रको २४ नम्बर पिलरमा पुगेर तस्वीर खिच्दा समेत चिनिय सुरक्षाकर्मी नेपाली भुमि पसेरै धम्क्याउने गरेका छन । ‘चिनिया सुरक्षाकर्मीसँगको भाषाको समस्याले गर्दा सीमा नाकामा पर्यटकले असुरक्षित महसुस गर्छन । कहिलेकाहीं हामी आफैले समस्या झल्ने गरेका छौं’ इलाका प्रहरी कार्यालय नेचुङ्गका प्रहरी हवल्दार श्याम कुमार थापाले भने, ‘स्थानीयवाहेक एक्लै दुक्लै नाकामा पुग्नु असुरक्षित नै लाग्छ ।’ मुस्ताङ्गका संघिय सांसाद प्रेमप्रसाद तुलाचनका अनुसार चीनियाँ पक्षले कोरला नाकाको दशगजा क्षेत्रमै भन्सार कार्यालय, सुरक्षाकर्मी तैनाथ गरेको भएपनि नेपाली पक्षले सीमाभन्दा धेरै तल मात्र बस्न खोजेको भन्दै आलोचना भएपछि कोरला नाकाको २४ नम्बर पिलर क्षेत्रमै नेपाली पक्षले पनि भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजारबढी रोपनी जग्गा अधिग्रहण गरेको छ । यस अघि नाकाभन्दा १२ किलोमिटर दक्षिण तल नेचुङ्गमा भन्सारकालागी जग्गा अधिग्रहण गरिएकोमा अब्यवहारिक भन्दै विरोध भएपछि नाका क्षेत्रमै चिनिया भन्सारको आमने–सामनेहुनेगरी भन्सार बनाउने तयारी भएको छ । ‘चीनियाँ भन्सार कार्यालयको आमने–सामने हुनेगरी नेपाली भन्सार कार्यालय स्थापना गर्न जग्गा प्राप्ती भएको छ । अघिल्ला समयमा १२ किमी तल भन्सार कार्यालय स्थापना गरिएको र जग्गा लिईएकोले अहिले जग्गा प्राप्ती समस्या आएको हो’ सांसद तुलाचनले भने, ‘अर्थ, गृह, रक्षा र प्रधानमन्त्री सवैलाई कोरला नाकाको यथार्थ लेखेरै जानकारी गराएको छु । गृह र अर्थमन्त्रीले कोरला नाका ब्यवस्थित संञ्चालन गर्न काम भैरहेको छ ।’ कोरला नाकामा भन्सार कार्यालय, बन्दरगाह, सुरक्षा प्रवन्ध समेतका पूर्वाधार निर्माणमा मात्र होईन नाकाबाट हुने पारवाहन तथा सामान ढुवानी गर्न चौडा र मापदण्ड योग्य सडक निर्माणपनि उस्तै ढिलाई भैरहेको छ । पोखराबाट भुपी शेरचन मार्गहुँदै म्याग्दीको बेनी पुगेपछि कालीगण्डकी नदी पछ्याउँदै हिमालय श्रृखलालाई दक्षिण पारेर अनगिन्ती अक्करे भीर र डाँडा छिचोल्दै उकालो लागेको छ, बेनी–जोमसोम–लोमन्थाङ–कोरला राजमार्ग । कोरला नाकासँग जोडिन ५ नम्बर प्रदेशको वुटवल र ६ नम्बर प्रदेशको रुकुमबाट पस्ने मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर राजमार्ग बाग्लुङ्गबाट तल मालढुङ्गाहुँदै बेनीमा जोडिएर उकालो लाग्छ । बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरमा निर्माण गर्न लागिएको सडकमध्य बेनी–तातोपानी, तातोपानी–लेते, टुक्चे–जोमसोम, चैले–स्याङ्वोचे, चराङ–छोसेर खण्डको काम ज्यादै निरासाजनक छ । निर्माण ठप्प छ । ठेकदारहरु भाग्ने बाहना खोज्दै छन । हिमालपारीको जिल्ला मुस्ताङ्ग पुग्न आतुर लाखौं यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन । ‘सरकारले ब्यवस्था गरेको नयाँ कानुन अनुसार टिक्न नसकेपछि आयोजनाको विभिन्न प्याकेजमा संलग्न ठेकदार कम्पनीहरु काम रोकेर अन्यत्रको साईट हेर्न गएका छन । यताको काम ठप्प छ । ठेकदारसँगै आयोजनाका प्राविधिकहरु पनि वेपत्ता छन’ मुस्ताङ्गबाट प्रतिनिधी सभा सदस्य प्रेम तुलाचनले भने, ‘सम्झौताको मिती भित्र होईन थप एक बर्ष म्याद थप्दापनि काम सकिने छाँट छैन ।’ हाल कोरला नाका स्न १९८१ को नेपाल–चीनबीच ब्यापार सम्झौता अनुसार सीमाबाट ३० किमी क्षेत्रका बासिन्दालाई परम्परागत विनिमय ब्यापार (वार्टर ट्रेड) आधारित छ । अहिले कोरला सिल वोर्डर हो । वर्षको दुई पटक सीमा क्षेत्रमा ब्यापार मेला लाग्छ । वर्षमा दुईचोटि (जेठ–असार र भदौ–असोजमा) कोरला नाकामा हाट लाग्छ, जहाँ दुवै देशका व्यापारीले आ–आˆना सर–सामान लगेर एक अर्कालाई बेच्ने गर्छन । लोमन्थाङ्ग समेत उपल्लो मुस्ताङ्गका घर पसलहरुमा लत्ता–कपडा, खाद्यान्न, पेय पदार्थ र इलेक्ट्रोनिक, घर बनाउँदा चाहिने सिमेन्ट, काठ लगाएत सवै चिनियाँ सामाग्रीको एकलौटी किनवेच हुन्छ । सामान झार्न लोमन्थाङ भन्दा अलि पर चिनियाँ गाडी नै आइपुग्छन । कोरला नाकामा पूर्वाधार निर्माणमा ढिलाई भएको मात्र होईन त्यहाँ खटिने कर्मचारी हिँउदमा जाडो छल्न वेंशी झर्ने भएकोले कात्तिकपछि ब्यापारीले यो नाका भएर सामान नेपाल भित्राउने गरेका छन । सरकारले नै कात्तिक महिनादेखी फागुनसम्म प्रहरी र कर्मचारीलाई सदरमुकाम जोमसोम र तल्लो क्षेत्रमा बोलाउने भएकोले कोरला नाका रित्तो हुने गरेको छ । ‘हिउँदमा सवै वेला हिउँ पर्दैन । उपल्लो क्षेत्रबाट सरकारले नै आफ्ना कर्मचारी कात्तिकदेखी तल झार्छ त्यही बेला यता गलत मनसाय राख्ने ब्यापारीले फाईदा उठाउँछन । हिउँदका दिन केही ब्यापारिकालागी जे सुकै वारपार गर्न सजिलो हुन्छ’ स्थानीय पाल्तेन ढेल्ढुव गुरुङ्गले भने, ‘कोरला नाका ब्यवस्थित गर्ने हो भने सवै महिना कोरला नाका क्षेत्रमै सुरक्षाकर्मी र भन्सार कर्मचारी बस्नु पर्छ ।’