मार्केटिङमा पौराणिक ग्रन्थको प्रेरणा

२० मंसिर २०७६, शुक्रबार १२:११ मा प्रकाशित (7 महिना अघि)
पुनहिल संवाददाता

आवश्यकताहरुको सिर्जना गर्नु नै मार्केटिङ हो। योगीबाट भोगी नबनाई बजारीकरण हुँदैन। 

पौराणिक ग्रन्थहरुमा वर्णन हुने अप्सराहरु सबैभन्दा राम्रा बजार व्यवस्थापक हुन् । एकपटक विचार गरौं, को हुन् अप्सरा ? र अप्सराको प्रवेश कतिबेला हुन्छ ?
एकातिर इन्द्र छन् जो स्वर्गमा बस्छन् । एकदिन इन्द्रले देख्छन्, एकजना ऋषिले तपस्या गरिरहेछन् । यो तपस्याबाट इन्द्रले असुरक्षा महसुस गर्छन् । जसरी आफ्नो उत्पादनप्रति ग्राहकहरुको ध्यान जान छोडेपछि उद्यमीहरु आत्तिन्छन् त्यसरी नै इन्द्र पनि आत्तिन थाल्छन् । ऋषिले आँखा बन्द गर्नुको अर्थ हो, ग्राहकले आँखा चिम्लिदिनु । उत्पादनहरु प्रति ध्यान नदिनु । त्यसोभए के गर्ने त ? इन्द्रले अप्सराको प्रयोग गर्छन् ।
उनले अप्सरालाई ऋषिका आँखा खुलाउन पठाउँछन् । अप्सरा जान्छिन् र अनेक प्रयास गरेर ऋषिका आँखा खोलिदिन्छिन् । आजको भाषामा भन्ने हो भने, अप्सरा भनेको ‘सेल्स एन्ड मार्केटिङ टिम’ हो । उनीहरु ग्राहकसम्म पुग्छन् । आफ्ना उत्पादनबारे व्याख्या गर्छन् । मानिसहरुलाई विश्वास दिलाउँछन् । र, उत्पादन खरिद गर्न बाध्य पार्छन् । खासमा उनीहरुले ग्राहकलाई आँखा खोल्न बाध्य पारिहेका हुन्छन् ।
बुद्ध धर्ममा भने यस्तो हुँदैन । बुद्धले यी सबैको विरोध गर्छन् किनभने उनले बजारको कुरा गरेका छैनन् । उनले त मानसिक शान्तिको वकालत गरेका छन् ।
बजार आवश्यकताको खरिद–बिक्री हुने ठाउँ हो । त्यसैले मार्केटिङ गर्नु भनेको आवश्यकता सिर्जना गर्नु हो । नर्तकी अथवा अप्सराहरु बजारका प्रतिक हुन् । उनीहरुले नाचगान गरेर बजारमा आवश्यकता सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले आनन्दको माग सिर्जना गर्छन् । हामीले किन रमाइलो गर्न खोज्छौं ? किनभने हामी आनन्द लिन चाहन्छौं । हामी आनन्द लिन किताब पढ्छौं, भ्रमण गर्छौं, कपडा किन्छौं । अनेक गर्छौँ । भोग र आनन्द जोडिएको छ ।
खासमा योगीबाट भोगी बनाउनु नै मार्केटिङ (बजार व्यवस्थापन) हो । अप्सराहरुले यही नै गरिरहेका हुन्छन् । उनीहरुले योगीलाई भोगी बनाइदिन्छन् ।
मैले यसरी अप्सरा भनिरहँदा धेरैलाई कुनै सुन्दर नर्तकी लाग्नसक्छ । अप्सरा को हुन् ? अप्सरा एक विचार हुन् । अप्सरा प्रतिक हुन् । मानिसहरुका ईच्छा बुझ्ने र त्यो पूरा गरिदिने कर्मको प्रतिक ।
जस्तै, मानिसहरु अहिले जसरी हुन्छ सम्पर्कमा रहिरहन चाहन्छन् । मोबाइलले मानिसको यही चाहना बुझे । त्यसैले मोबाइल एउटा अप्सरा हो । के तपाईं फोनबिना बाँच्न सक्नहुन्छ त ? त्यसैले त भनेको, योगीलाई भोगी बनाउनु नै बजार व्यवस्थापन हो ।
आविष्कारहरु पनि यसैगरी नै भएका छन् । किनभने हरेक योगीभित्र भोगीपन हुन्छ । हरेकको भिन्दाभिन्दै भोगको चाहना चिनेर पूरा गरिदिने सिलसिलामा नै विभिन्न सामग्रीको आविष्कार भएको हो ।
मार्केटिङ भनेकै यही हो । चाहना चिन्ने र पूरा गरिदिने ।
एउटा उदाहरण दिन्छु, प्रेसर कुकरको । पहिला अल्छि महिलाहरुमात्र प्रेसर कुकर प्रयोग गर्छन् भनिन्थ्यो । त्यसैले महिलाहरु अन्यौलमा थिए । उनीहरु कसैको प्रतिक्षामा थिए जसले भनिदेओस् – प्रेसर कुकर अल्छिपनको प्रतिक होइन ।
त्यसैले विज्ञापन बने । जसले भन्यो – प्रेसर कुकर प्रेमका प्रतिक हुन् । विज्ञापन थियो – जसले पत्निलाई गर्छ प्यार, ऊ कसरी गर्न सक्छ प्रेसर कुकरलाई अस्विकार ? यो वाक्यले योगी अर्थात् ‘अल्छि महिला’लाई भोगी अर्थात् ‘प्रेमिका’ बनाइदियो ।
बजार व्यवस्थापनसँग जोडिने अर्को पाटो व्यक्तिगत पहिचानको पनि हो । व्यक्तिगत पहिचानले बजारमा ठूलो प्रभाव पार्छ ।
पहिचान निर्माण गर्ने बेलामा शुरुमै तपाईं के गर्नुहुनेछैन भन्नेबारे स्पष्ट हुनुपर्छ । जस्तै, रामले कहिल्यै होली वा रासलीला खेलेनन् । त्यसैले उनी शासक नै देखिए । चाहे जंगलमा होस् वा दरबारमा । उनले यी काम नगरेरै आफ्नो पहिचान निर्माण गरे । अर्कोतर्पm कृष्ण कहिल्यै शासक बनेनन् । उनले सधैं रमाइलो गरे । मोजमज्जा गर्ने मानिस राजा त हुँदैन ।
त्यसैले के नगर्ने भन्नेमा स्पष्ट हुनुपर्छ । मानिसहरु जे पनि बन्न चाहन्छन् । उनीहरु रमाइला पनि, गम्भिर पनि, शासक पनि, जोकर पनि बन्न खोज्छन् । त्यसैले केही बन्दैनन् ।

देखापढीमा देवदत्त पटनायकको लेख ।
तस्वीर श्रोत ः गुगल ।