मुक्तिनाथको दैलोमा मदिरा बोटलको थुप्रो

१७ मंसिर २०७६, मंगलवार १८:११ मा प्रकाशित (7 महिना अघि)
पुनहिल संवाददाता

हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा तिर्थस्थल मुक्तिनाथ मन्दीर क्षेत्र मदिराजन्य सिसा बोटल तथा प्लास्टिकजन्य फोहोरको थुप्रोले कुरुप बन्न थालेको छ ।

थोरङला हिमालको फmेदीको ३ हजार ७ सय १० मिटर अग्लो स्थानमा अवस्थित मुक्तिनाथ मन्दीरलाई हिन्दुहरुले मुत्ति क्षेत्र र बौद्धमार्गीहरुले तिब्बती भाषामा छुमङ ग्यात्सा अर्थात सय पानी भनेर पुज्ने गर्छन । मुक्तिनाथ हिन्दुका ५ प्रमुख धाममध्य मुक्तिनाथ एक हो भने बौद्धमार्गीका २४ तान्क्रीक स्थानमध्य छुमिङ ग्यात्स अर्थात मुत्तिनाथ एक हो ।

 

प्रख्यात धार्मिकस्थल मुक्तिनाथको रानीपौवा क्षेत्रमात्र होईन राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने जोमसोम, मार्फा तथा उपल्लो मुस्ताङ्गका लोमन्थाङसम्मका वस्तीमा सिसा तथा प्लास्टिकजन्य फोहोरको थुप्रो लागेको छ ।

‘मुक्तिनाथ मन्दीर र वरपरका वस्तीमा अब्यवस्थित र बढ्दो सिसा तथा प्लास्टिकजन्य फोहोर ब्यवस्थापन गर्न छुट्टै बजेट र कार्यक्रम बनाई काम थालेका छौं’ वारागाउँमुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेक्तेन गुरुङ्गले भने, ‘पर्यटकको संख्या बढ्यो । आर्थिक जीवनमा सुधार त ल्यायो । तर मुक्तिनाथको धार्मिक सभ्यता तथा पवित्रतामा आँच पुग्न थालेको छ ।’

मुक्तिनाथ गाउँपालिकाले ७ महिना अघि एक चरण मुक्तिनाथ क्षेत्रका रानीपौवा, झारकोट समेतका बस्तीबाट वियर तथा मदिराका ८ ट्याक्टर बोटल संकलनगरी एक किमी टाढा खाडल खनेर पुरेको थियो । गाउँपालिकाले बोटर पुरेर अस्थाई निकास निकाल्ने प्रयास गरेपनि बोटल नकुहिने वस्तु भएकोले कालन्तरमा वातावरणमा प्रतिकुल असर पर्ने हुन्छ ।

होटल तथा वस्ती क्षेत्रमा मात्र होईन, भक्तजनले स्नानपछि यत्रतत्र फालेका लाज छोप्ने भित्रीवस्त्रले पविक्र तिर्थस्थल मुत्तिनाथ मन्दीर परिसरमा समेत कुरुप भएको छ । गत बर्ष म्याग्दीबाट मुक्तिनाथ दर्शन गर्न गएका युवा प्रकाश पौडेलले मन्दीर क्षेत्रबाट ८ वोरा कट्टु, ब्रा जस्ता भित्री पोसाक संकलनगरी नष्ट गरेका थिए । मुक्तिनाथ मन्दीरको छेउको डिलमुनी अर्न्तरवस्त्रबाहेक मोजा, प्लास्टिकको झोला, खाली मिनिरल वोटल, चाउचाउका खोल आदी यत्रतत्र फाल्ने गरिएको छ । जुन प्लास्टिक फोहोर हावाहुरीले उडाएर मन्दीर क्षेत्रभरी पुर्‍याउने गरेको छ ।

 

बाहृय पर्यटकले मात्र होईन बेनी–जोमसोम सडकमा आउने आन्तरिक पर्यटक र शैक्षिक भ्रमणमा आउने स्कुल तथा कलेजका विद्यार्थीहरुले समेत वातावरण र प्रदुषणको ब्यवहारिक ज्ञान नराख्दा चाउचाउ, पानीका वोटल समेतका प्लास्टिकजन्य फोहोर यत्रतत्र फाल्ने गरेका छन ।

‘सडकसँगै गाडी पुग्यो तर वस/गाडी पार्किङ्गस्थलमा फोहोरको थुप्रो लाग्यो । न बेच्नेले डष्टवीन राख्छ न उपभोक्ताले आफ्नो फोहोर आफैले ब्यवस्थापन गर्ने । ब्यापारी र उपभोक्ता दुवै संस्कार नभएका रहेछौं’ सुरत केसीले भने, ‘होटल/रेष्टुरेन्ट पनि अगाडी चिटिक्क पछाडी सिसाका बोटल र फोहोरको थुप्रोले कुरुप ।’

पर्यटकिय पदमार्गका उत्कृष्ट गन्तब्यहरु मात्र होईन सडक संञ्जालमा जोडिएका सवै दुर्गम वस्तीहरु झनबढी मदिराका सिसा जन्य बोटल र कोकाकोला, फेन्टा, स्पाईट लाएत चिसो पेयपदार्थ, पानीका बोटल, चाउचाउ, विस्कुट, चकलेटका प्लाष्टिकजन्य फोहोरबाट बढी प्रदुषित भएका छन ।

प्लास्टिक जन्य फोहोर ब्यवस्थापन गर्न प्रयास थालिएपनि प्रभावकारी छैन । आन्तरिक पर्यटकको चाप बढेपछि पर्यटकिय क्षेत्र र पदमार्गमा प्लास्टिकजन्य फोहोर ब्यवस्थापन झन चुनौति भएको छ । वातावरण संरक्षण गर्न यस क्षेत्रमा आउने आन्तरिक तथा बाहृ पर्यटकलाइ पलाष्टिकका झोला र वोटलहरु प्रयोगमा निगरानी आवश्यक छ । पर्यटकिय क्षेत्रमा मात्र होईन हरेक वस्तीमा पलाष्टिक झोला निरुत्साहित गर्ने र प्रयोगमा आउने विस्कुट, चाउचाउ, खानेतेल वा अन्य प्याकिङ्गका प्लाष्टिकलाई एक ठाउँमा जम्मागरी ब्यवस्थापन गर्न स्थानिय सरकारले छुट्टै वातावरण कर लगाउनु आवश्यक छ ।

‘सिसा र प्लास्टिकजन्य बोटल, झोला समेतका फोहोरजन्य पदार्थ ब्यवस्थापन गर्न स्थानीय सरकारले छुट्टै स्थानिय कर लगाउनु पर्छ’ लोमन्थाङ्ग स्थित एक्याप कार्यालयमा कार्यरत स्थानीय होटल ब्यवसायी राम गुरुङ्गले भने, ‘सिसा बोटल र प्लास्टिक जन्य फोहोरले ‘३ हजारबर्ष पुरानो सहर लोमन्थाङ र सभ्यतामा समेत नष्ट गर्दैछ ।’