- Loading...
हेलचेक्र्याइँ नगरौं रुघाखोकीसँग
- पुनहिल डट कम
- ५ साल अघि
- १४५ पटक पढिएको
जबजब मौसम फेरिन थाल्छ, मानिसका नाक ओसिला हुन थाल्छन्।
घाँटी सुन्निएजस्तो हुन्छ। बोल्न पनि गाह्रो हुन्छ। कसैकसैलाई त टाउको दुख्न थाल्छ। ज्वरो पनि आउँछ। घाँटी घ्यारघ्यार हुनथाल्छ। सास फेर्न मुश्किल पर्छ।
मौसम फेरिँदा आखिर किन यस्तो हुन्छ?
मानिसहरू त सजिलै भनिदिन्छन्– रुघा लाग्यो। के मानिसहरूलाई रुघा नै लाग्छ? कि अरू पनि केही हुन्छ? डाक्टरहरू भन्छन्– यी सबै लक्षण ‘भाइरल इन्फेक्सन’का हुन्। ‘भाइरल इन्फेक्सन’ अर्थात् भाइरसको आक्रमण। हाम्रो वरिपरिको वातावरणमा आँखाले नदेखिने स–साना जीवहरू विचरण गरिरहेका हुन्छन्।
तीमध्ये भाइरस, ब्याक्टेरिया लगायतको आक्रमणले हामी बिरामी हुन्छौँ। तर, सबै वातावरणमा सबैखाले भाइरस र ब्याक्टेरिया जीवित रहन सक्दैनन्। अझ भाइरसलाई त सक्रिय हुन ‘होस्ट सेल’ चाहिन्छ। होस्ट सेल भन्नाले शरीरका ती कोष जहाँ भाइरसले आफ्नो संख्या बढाउँछन्। तर, ती कोषलाई नष्ट पारिदिन्छन्। जस्तै, रुघा लगाउने राइनो भाइरसले नाकको म्युकस मेम्ब्रेन भनिने सतहको कोषमा आश्रय लिन्छन् र तिनलाई नष्ट गरिदिन्छन्।
मौसम परिवर्तनसँगै निर्माण हुने वातावरणको तापक्रम यी भाइरसलाई सक्रिय हुन अनुकूल हुन्छ।
परिवर्तनसँगै भाइरस तथा ब्याक्टेरियाहरू बढी सक्रिय हुन थाल्छन्। जसले गर्दा मौसम परिवर्तन हुनेबित्तिकै तिनीहरूको आक्रमण हुन्छ ।यसरी सक्रिय हुने मौसमी भाइरसमध्ये बढीजसो इन्फ्लुएन्जा (फ्लू) का पर्छन्। यी भाइरस नाकबाट छिर्छन् र श्वासप्रश्वाससम्म असर पुर्याउँछन्। यिनीहरूले मानिसको रोगप्रतिरोधात्मक क्षमता कमजोर बनाइदिन्छन्।
रुघाखोकीको लक्षणबाट शुरू हुने फ्लूले अन्ततः ज्यान नै लिन पनि सक्छ।
रुघाखोकीलाई हामी सामान्य समस्याका रूपमा लिन्छौं र खासै हेरचाह गर्दैनौं, जुन ठूलो गल्ती हो। रुघाखोकी लाग्ने बेलादेखि नै घरमा प्राथमिक उपचार गराए निको भएर जान्छ। तर, लापरवाही गरेमा मानिसको ज्यान समेत लिन सक्छ। चिकित्सकहरू रुघाखोकी लाग्नासाथ घरमै प्राथमिक उपचार गर्ने सल्लाह दिन्छन्। “रुघाखोकी लाग्नासाथ प्राथमिक उपचार गर्नुपर्छ”, चिकित्सक भन्छन्। शुरूका तीन दिन यी भाइरस निकै सक्रिय हुन्छन्। त्यतिबेला प्रशस्त आराम गर्ने र झोलिलो पदार्थ खाएमा फ्लूको संक्रमणबाट जोगिन सकिन्छ। तर, तीन दिनभन्दा बढी समय रुघाखोकी कायम नै रहेमा र ज्वरो आउने भएमा भने ध्यान दिनुपर्छ।
चिकित्सकका अनुसार ३-४ दिनभन्दा बढी समय रुघाखोकी तथा ज्वरो आएमा एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) अर्थात् छाती ढाकिने समस्या आउन सक्छ। त्यसैले १-२ दिनमा रुघाखोकी ठीक नभएमा चिकित्सकलाई देखाउनुपर्ने उनको सुझाव छ।
के हो एआरडीएस ?
फोक्सोमा हावाका स–साना पोकाहरू हुन्छन् जसलाई अल्भियोली भनिन्छ। ती अल्भियोलीमा तरल पदार्थ बन्ने प्रक्रिया नै एआरडीएस हो।
तरल पदार्थका कारण शरीरमा अक्सिजनको मात्र कम हुन थाल्छ। कडा खालको रुघाखोकी लागेका बिरामीलाई यो समस्या हुने सम्भावना बढी हुन्छ। यसले फोक्सोमा पानीको मात्रा बढाएर शरीरलाई आवश्यक अक्सिजन प्रवाह हुन दिँदैन, जसले मानिसको ज्यान नै लिनसक्छ। त्यसैले रुघाखोकी लागेका बिरामीले समयमै उपचार गराउनुपर्ने वीर अस्पतालकी ग्यास्ट्रोलोजिष्ट डा. नन्दु सिलवाल पौडेलको भनाइ छ।
रुघाखोकी लागे के गर्ने ?
– रुघाखोकीको लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने।
– बिहान बेलुकी मनतातो पानीमा खुट्टा डुबाएर ५–१० मिनेट राख्ने।
– सुत्ने बेलामा पैतालामा तोरीको तेलले मालिस गर्ने।
– अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्चा मह मिसाएर दिनको तीन पटक सेवन गर्ने।
– अदुवा र बेसार हालेर पकाएको पानीले बिहान, दिउँसो र बेलुकी दिनको तीन पटक कुल्ला गर्ने।
– दुवै आँखा बन्द गर्ने र नाकद्वारा तीन पटक लामो र गहिरो सास लिने र मुखबाट बिस्तारै बाहिर फ्याँक्ने।
रुघाखोकीको रोकथाम गर्ने उपायः
– रुघाखोकी लागेका व्यक्तिको नजिक वा मुखामुख हुने गरी नबस्ने।
– रुघाखोकी संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग नगर्ने।
– अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति बढाउँछ। भिटामिन सी ले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ।
– एन्टिबायोटिक तथा सिटामोल, पारासिटामोल जस्ता औषधिको सेवन गर्ने र प्रशस्त मात्रामा आराम गर्ने।
– बैगुन, गाँजर, लौका, फर्सी, आलु, दही, अचार, चिसो, अमिलो तथा गुलियो पदार्थहरू सेवन नगर्ने।
– ३-४ दिनसम्म पनि रुघाखोकी निको नभएमा तत्काल डाक्टरको सल्लाहमा उपचार गराउने।