आज:  | Sat, 02, Jul, 2022

जसले दिएकी थिइन् ओलीलाई नयाँ जीवन

११ मंसिर २०७६, बुधबार १४:०१ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन् । शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो ।‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको थियो,’ अन्जानले भनिन्, ‘दाइ, के भयो भनेर मैले सोधेपछि उहाँले मेरा दुवै मिर्गौला चल्न छाडे नानी भन्नुभएको थियो ।’त्यस बेला अन्जानको मनमा एक अज्ञात प्रेरणा जाग्यो, जेठाजुलाई आफ्नै मिर्गौला दिएर बचाउने । आमा भएको १५ महिना लाग्दै गरेकी अन्जान त्यतिबेला भर्खर २१ वर्ष लागेकी थिइन् । यस्तोमा उनको कुरालाई केपीले सुरुमा एक अल्लारे केटीको लहड ठानेर उडाइदिए । तर, उनले मिर्गौला आफैंले दिन्छु भन्दै अड्डी कसेपछि भने केही गम्भीर भए, अनि भने, ‘तँ सानै छेस्, बच्चा पनि सानै छ, हुँदैन बा हुँदैन !’ अन्जानले भने मिर्गौला दिन्छु भनेर जिद्दी गरी नै रहिन् ।
पत्नी राधिका शाक्यलगायत अन्य आफन्तको रक्त समूह नमिलेपछि ओलीलाई अन्त्यमा अन्जानकै आग्रह स्वीकार्न कर लाग्यो । किनभने उनको मिर्गौला चिकित्सकीय दृष्टिले प्रत्यारोपणका लागि उपयुक्त ठहरिएको थियो ।
‘दिने नै हो भने एकपटक श्रीमान् र बाआमालाई सोध,’ ओलीले मिर्गौला प्रत्यारोपणअघि फेरि उनलाई भने ।
‘किड्नी मेरो हो, मैले किन अरूलाई सोधिरहने ?’ सक्दो छिटो जेठाजुलाई बचाउनुपर्छ भन्ने लागेकाले अन्जानले जवाफ दिइन्, ‘कसैलाई सोधिरहनै पर्दैन, म तयार छु ।’
उनले नसोधे पनि श्रीमान् तारा ओली र पिता ध्रुव घिमिरेले अन्जानलाई दानका लागि अनुमति दिए । ‘उहाँको ब्लड ग्रुप ओ नेगेटिभ हो र मेरोचाहिँ ओ पोजेटिभ,’ अन्जानले सुनाइन्, ‘ओ नेगेटिभलाई जसको पायो उसको लिन नमिल्ने तर पोजेटिभले चाहिँ सबैलाई दिन मिल्ने रहेछ, त्यसैले मैले केपी दाइलाई मद्दत गर्न पाएँ ।’
ओलीसँग खिचिएको तस्बिर घिमिरेको कोठामा ।
वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा प्रारम्भिक परीक्षण गरेपछि ०६४ असारको अन्तिम सातातिर अन्जान पतिका साथ लागेर ओली र उनकी पत्नी राधिकासित भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पताल पुगिन्। अन्जानको स्वास्थ्य परीक्षण सुरु भयो । प्रत्येक स्वास्थ्य जाँचको नतिजा सकारात्मक आयो।
‘तिमी सानै छ्यौ र बच्चा पनि सानै रहेछ,’ अपोलोका एनेस्थेटिस्ट डा.अनिलकुमार शर्माले शल्यक्रियाअघि उनलाई सोधे पनि, ‘के दिने नै हो र ?’
अन्जानले मानौं प्रतिज्ञा गरेकी थिइन् । भनिन्, ‘तपाईंले त मलाई हौसला पो दिने हो त, किन डर देखाउनु हुन्छ डाक्टर साहेब ?’ डाक्टरहरू उनका कुराले चकित भएका थिए, अन्जान अहिले पनि सम्झिन्छिन् । अन्जानले कसैगरी ज्यानै गएछ भने पनि त्यसको दोष तपाईंहरूलाई लाग्ने छैन भनेर चिकित्सक टोलीलाई आफैंले भरोसासमेत दिइन् । अप्रेसन थिएटरमा लगिएपछि एनेस्थेसियाले उनका परेलीहरू बन्द भए । केही घण्टापछि होसबाट ब्युँझँदा डाक्टरले उनको देब्रे पिठ्युँतिर चिरेर मिर्गौला निकालिसकेका थिए ।
अन्जान घिमिरे परिवारका साथ
‘होस खुल्नेबित्तिकै घाउतिर त ध्यानै गएन, देशको यत्रो ठूलो मान्छेलाई बचाउन पाएँ भन्ने गर्व लाग्यो बरु,’ प्रधानमन्त्री ओलीलाई मंगलबार शिक्षण अस्पतालमा भेटेर चाबहिलस्थित आफ्नो डेरामा फर्केपछि उनी वर्षौंअघिको त्यस दिन सम्झिरहेकी थिइन् ।
दाहिने मिर्गौलाका साथ उनी अपोलोको एउटा कक्षमा ब्युँझिएका बखत छेवैको अर्को कक्षमा उनको देब्रे मिर्गौलाका साथ केपी ओलीले पनि लामो शल्यचिकित्सापछि शान्तपूर्वक आँखा उघारेका थिए । त्यसको तेस्रो दिन आईसीयूबाट क्याबिनमा सार्नेबित्तिकै ओलीलाई भेट्न पुगिन् उनी ।
‘मलाई दाइको मुख कतिखेर हेरुँजस्तो भएको थियो,’ उनले भनिन्, ‘म जाँदा उहाँलाई अक्सिजन दिइराखिएको थियो, तर पनि हल्का बोल्न सक्ने अवस्थामा आइसक्नुभएको रहेछ ।’ त्यस क्षण अन्जानले ओलीका आँखामा कृतज्ञताको आँसु छचल्केको देखिन् ।
उनले ‘तँ जिद्दी भएर मलाई बचाइस्’ भनेको अहिले पनि अन्जानको कानमा गुन्जिरहन्छ ।
यति सुनेपछि अन्जानलाई आफ्नो देब्रे मिर्गौलाले अर्को जुनी पाएजस्तो लाग्यो र यही जन्ममा दुई जीवन बाँच्न पाएजस्तो आनन्दले उनलाई गाँज्यो रे । यही सन्तुष्टिको प्रतिफल हुँदो हो, केही दिनमै अन्जान ठमठम्ती हिँड्न सक्ने भइन् ।
‘म कहाँ बिरामी हुँ त नि !’ उनी स्वाभाविक पाराले हाँसेर उडाइदिन्थन्, ‘म त बिरामीलाई बचाउन पो आएकी हुँ ।’ उनको यस्तो साहस देखेर डाक्टरहरू धाप मार्थे अनि भन्थे, ‘तपाईंले नै आफूलाई बिरामी नमानेपछि कुनै बिमारीले छुन सक्दैन अब ।’
नभन्दै भयो पनि त्यस्तै । किड्नी निकालेपछि कम्तीमा एक हप्ता त क्याबिनमै बस्नुपर्छ भनिरहेका डाक्टरहरूले उनलाई चारै दिनमा डिस्चार्ज गर्दा फरक नपर्ने भन्दै अन्जान सबभन्दा छिटो तंग्रिएकी मिर्गौला दाता भएको चर्चा गरे ।
नेपाल फर्केपछि धेरैले उनलाई घुमाउरो पारामा भने, ‘अब तिमी रोगी हुन्छ्यौ, तिम्रो जीउ गल्छ । बाँकी जीवन कसरी बिताउँछ्यौ ?’
ती सबको टिप्पणीलाई अन्जानको प्रफुल्ल हाँसोले उडाइदियो । उनले त्यसपछि छोरी अभिलाषालाई जन्म दिइन् एकदम सामान्य अवस्थामै ।
‘अपोलोबाट फर्केपछि दान गरेबापत मैले एउटा सिटामोलसम्म खानु परेको छैन,’ उनले सुनाइन्, ‘एउटा मिर्गौलाले पनि पूर्ण रूपमा बाँच्न सकिँदो रहेछ ।’
उनलाई डाक्टरले तामाको तरकारी र सिसीको अचार इत्यादि नखानु भनेका थिए, जसलाई अन्जानले कहिल्यै पालना गरिनन् ।
‘जसरी पनि मरेर जाने जीवन हो, किन धेरै बारबेर गर्ने भनेर मैले मुख बारेकी छैन,’ भनिन्, ‘स्वाद परेको कुरो पनि खान नपाए के मज्जा भयो त नि !’
यसरी अन्जान तुरुन्तै तंग्रिएझैं ओली पनि अपोलोबाट फर्केर आएपछि विस्तारै तंग्रिँदै गए । अन्जानको मिर्गौलाले तंग्रिएका ओलीको स्वास्थ्य मात्रै होइन, राजनीति पनि बलियो हुँदै गयो । दुई तिहाइको इतिहासकै बलियो सरकार गठन गरेर ओली दोस्रो पटक प्रधानमन्त्री भइसक्दा १२ वर्ष बितिसकेका छन् । उनको देब्रे मिर्गौलाले इतिहासमा यत्रो फन्को लगाइरहँदा दाहिने मिर्गौला बोकेर अन्जान कहाँ थिइन् ?
‘म यतै थिएँ, काठमाडौंमै,’ उनले ज्यादै सहजताका साथ जवाफ दिइन्, ‘म सामान्य मान्छे हुँ, सामान्य ढंगले बाँचेकी छु ।’
जिन्दगीको रथ चलाउन उनी कहिले शिक्षक भइन् कहिले किनारा पसले त कहिले कुनै निजी कार्यालयको सामान्य कर्मचारी । विद्यादेवी भण्डारी राष्ट्रपति भएयता भने उनी शीतल निवासमा टेलिफोन अपरेटर छिन् ।
काठमाडौंको भीडभाड, धूलो र सारा असुविधा छिचोलेर जसरी आम मान्छेले जीवन गुजारिरहेका छन्, प्रधानमन्त्रीकी जीवनदाता उनकी बुहारी अन्जान पनि उसैगरी दिनहरू गुजारिरहेकी छन् ।
हप्ता, पन्ध्र दिनमा पारिवारिक हिसाबले ‘केपी दाइ’ सँगै खानपिन गर्न‘ र पारिवारिक सुखदु:खका क्षणहरू गुजार्न‘सँग ओली प्रधानमन्त्री हुनु र नहुनुले केही बाधा पारेको छैन । मिर्गौला दान दिएबापत उनले कहिल्यै कुनै लाभ र सुविधा खोजेकी पनि छैनन् रे ।
‘धेरै मान्छेले कम्तीमा एउटा घर त मागेको भए हुने भनेर हामीलाई उकास्छन्,’ हाम्रो कुराकानी सुनिरहेका अन्जानका पति ताराले थपे, ‘त्यो त साह्रै लेनदेनको कुरा भयो, हामीले दाइलाई नि:सर्त माया गरेका हौं, केही लियो भने त त्यो मायाको मूल्य तोकेजस्तो हुन्छ ।’
दैनन्दिनको दु:खसुखभन्दा ओलीको उदात्त स्वभाव, हाँसखेल गर्ने बानी र देशलाई बदल्ने सपनामा आफ्नै देब्रे अंश सामेल भएको अनुभवले अन्जानलाई बढी आनन्दित पार्छ ।
‘नजिक आएका सबलाई उहाँ आफ्नो पराइ नभनी उस्तै गरी माया गर्न‘ हुन्छ,’ अन्जान भन्छिन्, ‘त्यो देख्दा मलाई अझ बढी आनन्द लाग्छ ।’
छोरा अर्पण र छोरी अभिलाषा दुवैलाई ओलीले आफ्नो हक लाग्छ भनेर पढाउने व्यवस्था गरेका छन् । उनीहरूका साथै अटेसम्म बच्चाहरूलाई ओलीले काखमा राखेको उनलाई साह्रै मन पर्छ । यति मायालु ओलीलाई अन्जानले पहिलो पटक किशोर अवस्थामा देखेकी रहिछन् ।
दोस्रो पटक चाहिँ बिहेको कुरा छिन्न आउँदा भेट भयो ओलीसँग । उनका बुबा ध्रुव घिमिरे लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय थिए । अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग घिमिरेले छोरीको बिहे गर्न उपयुक्त वर कोही छ भने खोजिपाऊँ भनेछन् । केपी ओलीका काकाका छोरा तारालाई उनले भाइ बनाएकी थिइन् । घिमिरेपुत्री अन्जान उनै तारासँग बिहे गरेर स्कुले जीवनमा टाढाबाट देखेको त्यस दुब्लो मान्छेकी बुहारी हुँदैछु भन्ने सत्यप्रति पूर्णरूपमा अन्जान नै थिइन् त्यस बखत । कुरा छिन्न भनेर आएका केही मानिसमा ओली पनि थिए, जसले हँसिली अन्जानलाई देखेपछि भनेछन्, ‘यी नानीले मेरो भाइसँग बिहे गरिन् भने म धेरै खुसी हुनेछु ।’
भण्डारीको चाबहिलस्थित गंगाहिटीमा रहेको घरमा उनीहरूको बिहे भयो २०६१ माघ १९ गते, तर त्यसै दिन राजाले कु गरेपछि ओलीले भनेजस्तो खुसी साट्न पाएनन् । किनभने विवाहमा नभएर राजाको नजरबन्दमा परेका थिए उनी । त्यसको केही दिनपछि ओली नजरबन्दमै भएका बखत तारा र अन्जानको जोडीले भेट गेरर आशिक थापे ।
‘उहाँलाई अर्को मिर्गौला जसले दिएर भए पनि बचाउन पर्छ भन्ने लाग्छ मलाई,’ उनले भनिन्, ‘उहाँ देशका लागि सोच्ने मान्छे हो, उहाँ अझै धेरै बाँच्नुपर्छ र जसरी पनि बचाउनुपर्छ ।’
कान्तिपुर अनलाईनमा घनश्याम खड्काले यो समाचार लेखेका छन ।