आज:  | Thu, 30, Jun, 2022

म्याग्दीमा सांसद कोषका योजना र बजेट सार्वजनिक

२ मंसिर २०७६, सोमबार ११:२० मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
संघिय तथा प्रदेश सभाका साँसदले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अर्न्तगत संञ्चालन गरिने योजनामा बजेट विनियोजन गरी  सार्वजनिक गरेका छन ।निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम तथा स्थानीय पूर्वाधार साझेदार विकास कार्यक्रम छनौट गर्दा संघिय साँसदको संयोजकत्वमा सम्बन्धीत प्रदेश सभाका साँसदहरु, जिल्ला समवन्यय अधिकारी सदस्य सचिव भै योजना छनौट गर्ने प्राब्धान छ । तर जिल्लामा सम्बन्धीत साँसद आवद्ध पार्टीले योजना छनौट गर्ने प्रचलन छ । यसरी छनौट भएका योजना भने सम्बधित स्थानिय तहले कार्यान्वयन गर्नु पर्छ ।संघिय साँदर भुपेन्द्रबहादुर थापाले स्थानीय पूर्वाधार साझेदार विकास कार्यक्रम तथा साँसदमार्फत खर्च गरिने निर्वाचन क्षेत्र विकास कोषबाट अन्नपूर्ण, रघुगंगा र मंगला गाउँपालिकालाई ४–४ वटा योजना संञ्चालन गर्न ८५–८५ लाख, मालिका र धौलागिरी गापालाई ४–३ वटा योजनाकालागी १–१ करोड र बेनी नगरपालिकालाई ७ वटा योजनाकालागी १ करोड ४५ लाख बजेट विनियोजन गरेका छन । सांसद थापाले १६ वटा सडक, ३ खेलमैदान, १ संग्राहलय, सभाहल १ र अन्य ३ वटा योजना छनौट गरेका छन ।‘स्थानीय समुदाय र स्थानीय सरकारको मागका आधारमा योजना छनौट गरी बजेट बाँडफाँड गरेका छौं । हामी गुपचुप र राजनैतिक आस्थाको आधारमा योजना छनौट हुँदैनन/गरेका छैनौं’ प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘राज्यको बजेट हामी मार्फत वितरण भएको मात्र हो । विकासमा राजनितिकरण गर्नु हुँदैन ।’गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री तथा म्याग्दी प्रदेश निर्वाचन क्षेत्र ख कि सांसद नरदेवी पुनले मंगला गाउँपालिकामा विभिन्न १० वटा, मालिका गापामा ७ र धौलागिरी गापामा ४ वटा योजनाहरु संञ्चालन गर्न ६५–६५ लाखका दरले बजेट विनियोजित गरेकी छिन । पुनले छनौट गरेका योजनामा अधिकांश सडक, विद्यालय, खेदमैदान र सामुदायीक भवन छन ।त्यसैगरी म्याग्दी प्रदेश निर्वाचन क्षेत्र क का सांसद विनोद केसीले पनि आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरिने निर्वाचन क्षेत्र विकास कोषको रकम विभिन्न योजनामा बाँडफाँड गरेका छन । सांसद केसीले अन्नपूर्ण गाउँपालिकामा विभिन्न १० योजना संञ्चालन गर्न ६४ लाख, रघुगंगा गाउँपालिका गापामा ६० लाख र बेनी नगरपालिकामा योजना संञ्चालन गर्न ७६ लाख रुपैयाँ विनियोजित बजेट सिलिङ सार्वजनिक गरेका छन । सांसद केसीका योजनामा पनि सडकले पहिलो प्राथमिकता पाएको छ । सडकका १०, बेनी खुल्ला मञ्च समेत खेलमैदान ३, खानेपानी योजना ५ वटा, पदमार्ग १ र अन्य ३ योजना छन ।‘सम्बन्धीत माननियको नामबाट कोषको रकम जिल्लामा प्राप्त भएपनि पार्टीले मागको आधारमा बजेट वितरण गरेका छौं’ नेकपाका सचिव हरीकृष्ण श्रेष्ठले भने, ‘ नगरपालिका/गाउँपालिकाबाट मागका आधारमा योजना छनौट गरी सिफारिस गर्ने र  पार्टीले योजना छनौट गर्ने भएकोले साँसदहरको ब्यक्तिगत इच्छाले योजना प्रभावित हुँदैनन र म्याग्दीमा साँसद विकास कोषको रकम दुरुपयोग भएको छैन ।’