सबैभन्दा बढी ठगी गर्नेमा पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल छ । उसले शैक्षिक वर्ष ०१५ देखि ०१८ सम्म ४३ करोड ४ लाख ९० हजार रुपैयाँ ठगी गरेको छ । त्रिविको अनुगमनको टोलीले समेत उक्त कलेजले ५१ करोड ९८ लाख २९ हजार रुपैयाँ अतिरिक्त शुल्क लिएको उल्लेख गरेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले ३५ करोड ४७ लाख ४४ हजार १ सय १८, वीरगन्जस्थित मेडिकल कलेजले ३२ करोड ५५ लाख ९१ हजार ५ सय, लुम्बिनी मेडिकल कलेज, पाल्पाले ३२ करोड ९६ लाख ८४ हजार, युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाले ३२ करोड ७२ लाख ३० हजार, नेपालगन्ज मेडिकल कलेजले २१ करोड ९१ लाख २५ हजार २ सय, काठमाडौं मेडिकल कलेज सिनामंगलले २७ करोड ८१ लाख ६५ हजार १ सय ९०, किस्ट मेडिकल कलेजले ५ करोड ९९ लाख ३० हजार, देवदह मेडिकल कलेज, रूपन्देहीले ३ करोड ८९ लाख ९४ हजार, मनिपाल कलेज अफ मेडिकल साइसेन्ज, पोखराले १० करोड ९ लाख, विराट मेडिकल कलेज, विराटनगरले १९ करोड ९ लाख ३३ हजार २ सय ८९ र कलेज अफ मेडिकल साइन्स, भरतपुरले १० करोड ६१ लाख ५७ हजार रुपैयाँ ठगी गरेको केन्द्रको ठहर छ ।
चिकित्सा शिक्षा अध्ययनका लागि शैक्षिक वर्ष ०७३/७४ मा उपत्यकामा ३५ लाख र उपत्यका बाहिर ३८ लाख ५० हजार रुपैयाँ तोकिएको थियो । त्यस्तै ०७४/७५ र ०७५/७६ मा उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ तोकिएको छ । कलेजहरूले विद्यार्थीसित २ लाखदेखि २५ लाख ४० हजार ५ सय ३२ रुपैयाँसम्म बढी लिएको देखिएको प्रतिवेदनमा उल्लेख छ । कलेजहरूले एमबीबीएस, बीडीएससहित नर्सिङ, फार्मेसीलगायत विषयका विद्यार्थीसँग पनि मनोमानी शुल्क उठाउने गरेका छन् ।
केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा कलेजहरूमाथि छानबिन गरिएको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीलाई विस्तृत प्रतिवेदन बुझाइसक्यौं ।’ प्रतिवेदनअनुसार विद्यार्थीसँग उठाइएको शुल्क कलेजअनुसार फरक–फरक छ । त्रिविअन्तर्गतको अनुगमन निर्देशनालयले प्रतिवेदन दिए पनि कारबाहीमा चासो नदेखाउने पदाधिकारीलाई समेत कारबाही गर्न केन्द्रले सिफारिस गरेको छ । शैक्षिकसत्र सुरु हुनुभन्दा पहिल्यै शुल्क तोक्नसमेत केन्द्रले सुझाव दिएको छ । ‘के–के विषयमा कति शुल्क लिने हो स्पष्ट हुनुपर्छ, शुल्कका सम्बन्धमा नियमित अनुगमनसमेत गर्न जरुरी छ,’ प्रतिवेदनमा भनिएको छ ।
शुल्क फिर्ता गर्न १५ दिनको म्यादविद्यार्थीसँग उठाएको अतिरिक्त रकम फिर्ता गर्न सरकारले निजी मेडिकल कलेजलाई पुनः १५ दिनको म्याद दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तोकिएको समयभित्र रकम नफर्काए कलेज सञ्चालकलाई कारबाही गरिने बताए ।
यसअघि पनि मन्त्रालयले कलेजहरूलाई पटकपटक ताकेता गरिसकेको छ । शुल्क फिर्ता वा समायोजनको निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालय र चिकित्सा शिक्षा आयोगमा पत्राचार गरिएको मन्त्री पोखरेलले जानकारी दिए । ‘अब पनि शुल्क फिर्ता नगरे विद्यार्थी–अभिभावकले जिल्ला प्रशासनमा उजुरी गर्नेछन्, उजुरीउपर प्रशासनले कारबाही अघि बढाउनेछ,’ उनले भने ।
मन्त्रिपरिषद्ले २०७५ असोजमा बढी शुल्क लिने कलेजविरुद्ध सम्बन्धित प्रशासन कार्यालयमा उजुरी गर्न र ठगी मुद्दा चलाउन निर्देशन दिएको थियो ।
झन्डै डेढ महिनाअघि गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री पोखरेलको उपस्थितिमा बसेको बैठकले पनि कलेजहरूलाई एक महिनाभित्र शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको थियो । कलेज सञ्चालकले भने निर्देशन अवज्ञा गर्दै उल्टै आगामी शैक्षिक सत्रमा विद्यार्थी भर्ना रोक्ने चेतावनी दिँदै आएका छन् ।
छात्रवृत्तिका लागि २८ सय ९९ आवेदनछात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययनका लागि २ हजार ८ सय ९९ विद्यार्थीले आवेदन दिएका छन् । आयोगले सार्वजनिक शिक्षण संस्थामा सिट संख्याको कम्तीमा ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन मन्त्रालयमार्फत आवेदन आह्वान गरेको थियो । ऐनले सार्वजनिक शिक्षण संस्थामा ७५, निजीमा १० र विदेशी लगानीका कलेजमा २० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको महाराजगन्ज शिक्षण अस्पताल, बीपी र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन शिक्षा मन्त्रालयले आवेदन मागेको हो । डा. केसी नेपाली सेनाको मेडिकल कलेज र काठमाडौं विश्वविद्यालयको धुलिखेलस्थित स्कुल अफ मेडिकल साइन्सेजमा पनि ७५ प्रतिशत छात्रवृत्ति कायम गरिनुपर्ने माग राखेर अनशनमा छन् । सेनाको कलेज र साइन्सेज पनि सार्वजनिक शिक्षण संस्था हुन् ।
बलराम बानियाँ, सुदीप कैनीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन ।