आज:  | Sat, 25, Jun, 2022

गर्भपतन गराउँदै कलिला केटीहरु

२६ कार्तिक २०७६, मंगलवार ०९:३५ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
उमेर नपुग्दै गर्भवती हुने र कलिलै उमेरमा ज्यान नै जोखिममा राखेर गर्भपतन गर्ने किसोरीहरुको संख्या म्याग्दीमा पनि बढ्दै गएको छ । १५ देखी २० बर्ष उमेर समुहका कलिला केटीहरुले धमाधम गर्भपतन गराउन थालेको तथ्याङ्ढले समाज हिंडिरहेको भयावह बाटो देखाउँछ । कानुनले २० बर्षमुनीका युवतिहरुलाई विवाहमा रोक लगाएको भएपनि गर्भपतन गराउन भने प्रोत्साहन गर्दै आएको छ । श्वास्थ्य कार्यालयका अनुसार आव ०७५/०७६ पाठेघर सफा गर्ने (अनिच्छुक गर्भपतन) गराएका १ हजार २ सय ५३ जना गर्भवतीमध्य ७५ जनाबढी २० बर्षमुनी (१५–२० बर्ष)का कलिला किसोरी छन । यो संख्या अघिल्लो वर्षकोभन्दा ६५ जना, आव ०७३/०७४मा भन्दा ८७ जना र आव ०७२/०७३को भन्दा १ सय ५३ ले बढी हो । गर्भपतन गराउनेमध्य ८० प्रतिशत २०–२५ बर्ष उमेर समुहका, १० प्रतिशत २५–४० बर्षसमुह र ३ प्रतिशत ४० बर्ष उमेर काटेका र करिव ८ प्रतिशत २० बर्षमुनीका कलिला किसोरी छन । स्वास्थ्य कार्यालयका अनुसार गत आवमा औषधी सेवन गरी १ हजार १ सय ९० जना र अप्रेसनगरी ७३ जनाले गर्भपतन गराए । गर्भपतन गर्नेमध्य बेनीमा ५ सय २९ जनाले औषधी र ७३ जनाले अप्रेसन गर्नु परेको थियो । बेनीमा बाहेक अन्यत्र सर्जिकल सुविधा छैन । अप्ठ्यारो परिस्थितीमा मात्र १२ हप्तासम्मको अनिच्छुक गर्भ सूचिकृत र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भपतन गराउन पाईने कानुनी ब्यवस्थाको गलत अभ्यास गर्दै कलिला किसोरी तथा युवतीहरुले गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गरिरहेको सरोकारवालाले बताएका छन । बलत्कार वा सामाजिक तथा परिवारको कर/वलपूर्वक अनिच्छुक गर्भ धारण गरेका महिलाको स्वास्थ्य तथा सामाजिक मर्यादालाई कायम राख्न गर्भपतनलाई महिला अधिकारसँग जोडिएको हो । तर पछिल्लो पुस्ताले गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा उपयोग गरिरहेको देखिएको छ । ‘गर्भपतनले महिलाको पाठेघर स्वास्थ्यमा गम्भीर असर गर्छन । परिवार नियोजनका साधन नै अनिच्छुक गर्भ रोक्ने पहिलो उपाय हो’ सुरक्षित गर्भपतन सम्बन्धी सरकारी स्वास्थ्य संस्थामा सहयोग गर्दै आएका आईपास नेपालकी जिल्ला प्रमुख थमकुमारी कुँवरले भनिन, ‘तर अनिच्छुक गर्भ भैहालेमा भने तालिम प्राप्त र सूचिकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनु सुरक्षित हुन्छ ।’ आइपास नेपालका अनुसार जिल्लामा सूचिकृत स्वास्थ्य चौकीमा पुगेर गर्भपतन गराउनेको हाराहारीमै औषधी पसल तथा अन्य विधिबाट असुरक्षित गर्भपतन गराउनेको संख्या रहेको छ । बेनी अस्पतालमा मात्र गत आवमा ५५ जना गर्भवतिहरु कम्प्लीकेसन केस लिएर फर्केका थिए । अवैध क्लिनिकमा पुगेर पाठेघर सफा गर्नेको संख्या पनि धेरै रहेको अनुमान छ । जिल्ला अस्पताल समेत १४ वटा सुरक्षित गर्भपतन केन्द्रमा छन । तर सवैमा तालिम प्राप्त श्वास्थकर्मी भने छैनन । ‘१५–१६ बर्षकै उमेरमा गर्भपतन गर्न आउनेको संख्या ५ प्रतिशत छ । गर्भपतन गर्न बैधानिक संस्था रोजेकोले यी किसोरीहरु बालविवाहबाट पीडित हुन’ बेनी अस्पतालमा सुरक्षित गर्भपतन सेवा हेर्ने संयोजक रविना पुनले भनिन, ‘सुरक्षित गर्भपतन सेवा दुरुपयोग हुन थालेको छ ।’ जिल्ला जनश्वास्थ्य कार्यालयको अभिलेख अनुसार गर्भपतन गर्नेको संख्या बर्षेनी बढ्दो छ । गर्भपतन मध्य ९ हप्ता भित्रको गर्भ बढी र बाँकीले १२ हप्ता भित्रको गर्भपतन गराएका हुन । जिल्ला अस्पतालबाहेक, दरवाङ्ग प्राथमिक श्वास्थ्य केन्द्र, ताकम, लुलाङ्ग, अर्मन, ज्यामरुककोट,भकिम्ली, शिख, भू–तातोपानी, भगवती, पिप्ले, पाखापानी, सिङ्गासमेत १३ श्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन र सुत्केरी  सेवा दुवै उपलब्ध छ । जिल्ला अस्पताल बेनीबाट गर्भपतन एवं सुत्केरी सेवा लिन पर्वत जिल्लाको धाईरिङ्ग, शालिजा, लेखफाँट, बाँसखर्क र माझाफाँ समेत ५ गाविसबाट समेत सेवाग्राही आउने गर्छन । ‘शहरी क्षेत्रमा मात्र होईन जिल्लाका दुर्गम भेगका श्वास्थ्य चौकीमा समेत गर्भपतन गर्ने संख्या ठुलो छ’ संयोजक रविना पुनले भनिन,–‘बैदेशिक रोजगारीबाट फर्केपछि तत्काल गर्भनिरोधक साधनको प्रयोग नहुनु समस्या हो । यौन स्वच्छन्दता र नियोजनका साधन प्रयोगमा लापरबाही पनि बढी छ ।’