आज:  | Fri, 01, Jul, 2022

कृषकलाई धान थन्क्याउने चटारो, पिपलबोटमा म्याग्दीमा पहिलो पटक मेशिनले धान काट्दै

२१ कार्तिक २०७६, बिहीबार १०:४५ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
कृषकहरु यति बेला धान थन्क्याउने चटारो छ । म्याग्दीका बगरफांट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफाँट, पोखरेबगर, ताराखेत, सहस्रधारा, हिल्वाङ्ग जस्ता धानको पकेट क्षेत्र समेत जिल्लाका सवै वस्तीका कृषकलाई धान काट्ने, माड्ने र थन्क्याउने हतारो छ । धान खेती नहुने जिल्लाको उपल्लो भेगका लेकाली वस्तीमा भने कोदो काट्ने र गहुँ/जौ बाली लगाउने काम भैरहेको छ । त्यसैविच मानव श्रमबाट मात्र धान काट्ने, माड्ने र थन्क्याउने गरिँदै आएको पहाडी क्षेत्रका ग्रामिण धानफाँटमा धान रोप्न मात्र होईन काट्न पनि उपकरण प्रयोग हुन थालेको छ । मंगला गाउँपालिका, ५ पिपलबोटका कृषकले जिल्लामा पहिलो पटक धान काट्न ‘धानकाट्ने मेशिन’ प्रयोग गरेका छन । ‘मौषमको कुनै भर हुँदैन । क्षणभरमा वर्षभरीको मेहिनत माटोमा मिलाउँछ । गाउँमा धान काट्ने, चुट्ने खेतला नै पाईदैन । त्यसैले पहाडका कुना काप्चामा पनि बोकेर धानकाट्ने मेशिन ल्याएका हौं’ मंगला गाउँपालिकाका, ५ का वडाध्यक्ष भुपेन्द्र सापकोटाले भने, ‘पहाडका कान्ले धान खेत भएकोले बोकेर तल्लो माथिल्लो गहृरामा सार्नु पर्ने भएपनि मेशिन प्रयोगले आर्थिक तथा समय धेरै वचत भयो । यो पटक परिक्षण गरेका हौं, अर्को बर्ष गाउँपालिकाले नै अनुदानमा उपकरल ल्याउने योजना छ ।’ कृषी ज्ञान केन्द्रका अनुसार बगरफांट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफाँट, पोखरेबगर, ताराखेत, सहस्रधारा, हिल्वाङ्ग जस्ता धानको पकेट क्षेत्रमा गौरिया, गुडुरा, पोखरेली जेठोबुढो, र लुम्ले बास्मती धानको खेती हुन्छ । नदी किनाराका फाँटभन्दा माथिल्लो अधिकांश खेतमा मार्सी, कालोमार्सी, झिनुवा, गुडुरा, दर्माली, तकमारे, जेठोबुढो आदी रैथाने जातका धान खेती हुन्छ । जिल्लाका अधिकांश माथिल्लो क्षेत्रका खेतमा भने रैथाने जातका गुडुरा र मार्सी धान बढी उत्पादन हुन्छ । जिल्लाको पश्चिम मुना र उत्तर तर्फको घारको माथिल्लो क्षेत्रमा दुई हजार मिटरसम्म हावापानीमा धान फल्ने फाँट हुन । उपल्लो धौलागिरी र अन्नपूर्ण हिमाल मुनीका उपल्लो भेगका पहाडी फाँटमा भने माछापुच्छ्रे–३ र छोम्रोङ्ग धान खेती गरिन्छ । ‘जिल्लाको सवै भन्दा कम क्षेत्रफलमा धान खेती हुन्छ । सिंचाई भूमि न्यून भएपनि उत्पादन नराम्रो छैन’ कृषी ज्ञान केन्द्रका भोजबहादुर थापाले भने, ‘हामी धानमा हामी आत्म निर्भर बन्न सकेका छैनौं तर जिल्लाको स्थानिय चामल महंगोमा बेचेर सस्तो मुल्यको बजारिया चामल खाने बढी छौं । बजारीया चामलको बढी रक्सि बनाउन प्रयोग हुँदा आयात बढी देखिन्छ ।’ जिल्लाको कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९५ हेक्टर खेतमा धान खेतीबाट १० हजार ५ सय ६० मेट्रीक टन धानको उत्पादन हुन्छ । जिल्लाको पात्लेखेत, तोरीपानी जस्ता उच्च क्षेत्रबाट माछापुच्छ्रे–३ र छोम्रोङ्ग जातका ८ टन धानको विउ डोल्पा, बाग्लुङ्ग र पर्वत जिल्लामा निकासी हुने गरेको छ । कृषी कार्यालयका अनुसार जिल्लाका कुल धानखेती योग्य जमिनको २६ प्रतिशत क्षेत्रफलमा १२ महिना नै सिंचाई सुविधा रहेको छ । यस बर्ष अनुकुल मौषम भएकोले धान उत्पादन बढ्ने अनुमान कार्यालयको छ । रैथाने धान मध्य चोटपटक लाग्दा र सुत्केरीकालागी लोकप्रिय बढी उपयोगी अनदी तथा कालोमार्सी लोपउन्मुख छ । तिब्र बसाई सराईले उपल्लो क्षेत्रका धान हुने खेत बाँझो हुन थालेपछि अनदी, आँगा र कालोमार्सी धान लोपुन्मुख हुन पुगेको हो । बजारबाट गाउँसम्म ट्याक्टरले चामल दैलोमै पुर्‍याउन थालेपछि गाउँले अल्छी बन्दा दैलोको खेतबाहेक बाँकी खेत बाँझो छोड्न थालेपछि रैथाने धानको जात समस्यामा परेका हुन । ‘पशुपालन घटेपछि मन नहुँदा उत्पादन घट्यो । खेतीमा लाग्ने लगानीले बजारको चामल किन्न सस्तो पर्ने भएकोले धान खेतीमा आकर्षण छैन’ घारका कृषक नन्दबहादुर खड्काले भने, ‘काम गर्ने उमेरका सवै युवा विदेश हिंडेपछि खेती गर्ने कृषक कै समस्या छ । परम्परातग गाईबस्तु पाल्ने, गोठबस्ने र खेती लगाउने प्रचलन पनि हट्यो ।’