असल अभिभावकका १५ पहिचान

१५ कार्तिक २०७६, शुक्रबार ०८:३४ मा प्रकाशित (8 महिना अघि)
पुनहिल संवाददाता

बच्चाको मुस्कान नै घरको उज्यालो हो । जुन घरमा बालबालिका छैनन् त्यो घर मुस्कानबिनाको घरजस्तै हुन्छ । घरमा बालबालिका उफ्रन्छन्, खेल्छन्, रमाउँछन्, दौडन्छन्, नाच्छन्, गाउँछन् र नै घरहरु घरजस्ता हुने गर्दछन् । घरले बालबालिकाकै कारण पूर्णता पाउँछ । संसारमा बालबालिकाको जस्तो मुस्कान कतै पाइँदैन ।

यस्ता दिव्य सन्तानको पालनपोषण, रेखेदेख, शिक्षादीक्षा र समग्र विकासका लागि अभिभावकका तर्फबाट हामीले गर्नुपर्ने भूमिका के हो ? अभिभावकले कस्तो शिक्षादीक्षामा जोड दिनुपर्छ ? बालबालिकाले हामी अभिभावकबाट के–के चाहन्छन् ? उनीहरुसित केकसरी व्यवहार गर्ने ? आउनुस्, समग्रका एउटा असल अभिभावकले ध्यान दिनुपर्ने अथवा विकास गर्नुपर्ने विशेषताहरु के–के हुन्, निष्कर्षमा आज तिनै विषयहरुमाथि पुनः चिन्तन गरौँ ।

१. सदैव सकारात्मक

‘जस्तो दृष्टि, उस्तै सृष्टि’, ‘फूलको आँखामा फुलै संसार’, यी भनाइहरुले संसारको राम्रो, नराम्रो बाहिरको विषय नभएर हामीभित्रको विषय भएको तथ्य स्पष्ट पारेका छन् । हामीलाई जीवनमार्गमा प्रेरित गर्ने हाम्रा विचारहरु हुन् । हामी उचित बाटोमा छौँ, परिणाम पनि चित्त बुझ्दो नै छ र काममा लगन टुटेको पनि छैन भने त्योसमेत हामीभित्रकै सोचविचारकै परिणाम हो । अर्थात्, हामी जति सकारात्मक हुन सक्यौँ, विचारमा नकारात्मकता आउँदैन भने सबैसबै प्रयत्न र परिणामहरु सकारात्मक भएर जान्छन् ।

बालबालिकाप्रति अभिभावक कहिल्यै नकारात्मक हुनुहुँदैन । तिनका नकारात्मक प्रयासहरुलाई पनि सकारात्मक भएर उचित मार्गदर्शन गर्नतिर लाग्नुपर्दछ । बालबालिका जन्मजात पूर्ण भएर जन्मिएका हुँदैनन् । जीवन नै पूर्णताको यात्रा हो । तिनले बल्ल यात्रा आरम्भ गरेका छन्, पूर्णताको । त्यसैले, बिगार्दै सिक्दै त्यसतर्फ अग्रसर हुँदैछन् भन्ने सोच्नुपर्दछ ।

अभिभावकलाई छोराछोरीहरुले पनि नियालिरहेका हुन्छन् । तपाईं यदि सबैप्रति सधैँभरि सकारात्मक हुनुहुन्छ, प्रवृत्तिमा कहिल्यै नकारात्मकता छैन भने नजानिँदो प्रकारले तपाईंका बालबालिका पनि सकारात्मकताको बाटोमा हिँडिरहेका हुन्छन् । काम, विचार र प्रवृत्ति हेर्दाहेर्दा, अनुभव गर्दागर्दा र त्यससित अभ्यस्त भएर छोराछोरीले सकारात्मकतालाई जीवनव्यवहारमा उतार्ने अवसर पाउँछन् । अभिभावक सधैँ सकारात्मक हुनुपर्दछ ।

२. प्रेम र परोपकार

उसलाई सबैले चाहन्छन्, जसलाई उसले चाहन्छ । उसलाई सबैले सम्मान गर्दछन्, जसलाई उसले सम्मान गर्दछ र सबैले उसलाई प्रेम गर्दछन्, जसले उसलाई प्रेम गर्दछ । प्रेम संसारको अत्यन्त दिव्य विशेषता हो, शक्ति हो । यो प्रकृतिको शाश्वत गुण हो । पशुदेखि, बोटबिरूवा मात्र होइन, कीराफट्याङ्ग्रा र मनुष्यसम्म सबैसबैले प्रेम चाहन्छन्, प्रेम गर्दछन् । प्रेम जीवनको धर्म हो । जीवित वस्तु प्रेमको भोको हुन्छ । छोराछोरी पनि प्रेम चाहन्छन्, जसरी हामीले हाम्रा आमाबुबाबाट प्रेम प्राप्त गरेका थियौँ ।

छोराछोरीलाई तिनले देख्ने र महसुस गर्ने गरी प्रेम गर्नुपर्ने छ । छोराछोरीलाई प्रेम गर्नुको अर्थ तिनले बाँकी दुनियाँलाई प्रेम गर्नु हो, तिनका छोराछोरीलाई स्नेह गर्नु हो । पीडामा सान्त्वना, दुःखमा साथ र असफलतामा ढाडस बालबालिकालाई नभइनहुने कुरा हुन् ।

जीवन भन्नु नै परोपकारको अर्को नाम हो । अप्ठ्यारोमा परेकालाई सहयोग गर्दै गरेको; अशक्त र अनाथहरुलाई उद्धार गर्दै गरेको छोराछोरीले देखे भने उनीहरु त्यही बाटोमा हिँड्न अभिप्रेरित हुन्छन् । संसारमा जति पनि व्यक्ति पूजनीय भएका छन्, सबै परोपकारी आत्माहरु नै छन् ।

३. स्वस्थ जीवनशैली

‘स्वास्थ्य नै सम्पत्ति हो’ भन्ने भनाइसित हामी कोही पनि अपरिचित छैनौँ । जीवनमा सबै कुरा छ, तर स्वास्थ्य छैन भने के अर्थ रह्यो र ? परिकारहरु छन्, तर स्वाद छैन, दृश्यहरु छन्, तर दृष्टि छैन, आवाजहरु छन् तर सुन्न सकिँदैन, संसारमा सबैसबै भव्य र दिव्य कुराहरु छन्, तर आयु छैन भने कुनै अर्थ छ र ? चम्किला आँखा, तिखो कान, दौडने खुट्टा, खोज्ने मस्तिष्क र सुन्दर शरीर । तर, बिस्तारै हाम्रै कारण हाम्रो शरीरले सास्ती खेप्नुपर्दछ ।

अभिभावक सधैँ स्वस्थ हुनुपर्दछ र छोराछोरीलाई स्वस्थ राख्न प्रयासरत रहनुपर्दछ । स्वास्थ्य के हो ? कस्तो आहारविहार जीवनका लागि आवश्यक छ ? कस्तो जीवनशैली सुन्दर हुन्छ ? स्वास्थ्य छ भने सबै छ भन्ने कुरालाई छोराछोरीको मस्तिष्कमा गहिरो गरी स्थापित गर्नुछ । ताजा भोजन अनि सकारात्मक चिन्तनतर्फ उनीहरुलाई सिकाइरहनुपर्दछ ।

४. आत्मनिर्भरता र स्वावलम्बन

स्वावलम्बन निकै ठूलो विशेषता हो । सानामसिना काम, जुन आपैले गर्नुपर्ने हुन्छन्, ती आपैmँ गरौँ, गर्न प्रेरित गरौँ । हाम्रो देश मात्र परनिर्भर छैन, हामी सबै परनिर्भर छौँ । हामी अल्छी भयौँ, हाम्रा सानामसिना काम पनि अरुले नै गरिदिनुपर्ने भयो ।

छोराछोरीले आफू आपैmँमा ढुक्क हुने कला सिकून् । कसैले गरिदिएला र रमाऔँला भनेर बस्यौँ भने त्यो आकासको फलजस्तै हुन्छ । जसले आफ्नै पाखुरीमा विश्वास गर्छ, श्रम गर्छ, समयमै सबै काम भ्याउँछ, उसलाई कुनै कुराको अभाव हुँदैन । अरुको मुख ताक्नु पनि परेन । तपाईंले यो आत्मनिर्भरता र स्वावलम्बनको पाठ आफू पनि त्यस्तै स्वावलम्बी भएर सिकाउनुपर्दछ ।
५. तनाव व्यवस्थापन

जीवनमा तनावहरु आइरहन्छन् । यो जीवनको एउटा पाटो हो । तनाव उसको कारणले भन्दा पनि हाम्रो कारणले उत्पन्न हुने विषय हो । हाम्रो निम्तोलाई उसले सहर्ष स्वीकार्ने मात्रै हो । अचम्म के छ भने तनावका कारक हामी स्वयम् हौँ र पनि त्यसका लागि अरुलाई दोष दिन्छौँ । हाम्रा छोराछोरीले ‘जीवनका मेरो विचार, काम, सम्बन्ध र व्यवहारका कारण तनावहरु उत्पन्न हुने हुनाले तिनको निराकरण पनि मैले नै गर्न सक्छु’ भन्ने विश्वासको विकास गरेको हुनुपर्दछ ।

तनावहरुबाट पूर्ण मुक्ति पाउनभन्दा पनि तिनलाई व्यवस्थापन गर्नका लागि प्रेरित हुन बालबालिकालाई हामीले सिकाउने हो । अभिभावकले तनावलाई कसरी व्यवस्थापन गर्छौं, छोराछोरी पनि त्यसैबमोजिम अघि बढ्छन् ।

६. समस्याहरुमा पनि सहज/स्वाभाविक

हरेक कामको सुरूआत दुःख र सङ्घर्षबाट हुने गर्दछ । आमाले सन्तानलाई जन्म दिँदा के सजिलो गरी जन्माएकी हुन्छिन् र ? के बच्चा जन्मँदा ऊ आउने बाटो फराकिलो, सुन्दर र उसले सोचेजस्तो थियो र ? सानो र साँघुरो बाटोबाट बडो कष्टसाथ सङ्घर्ष गर्दै ऊ जन्मिएको हुन्छ, आमाले पनि ठूलो कष्टले जन्माएकी हुन्छिन् ।

जीवनमा प्रतिक्षण कष्ट छ, दुःख छ, अप्ठ्याराहरु छन्, तर तिनै अप्ठ्याराका बीचमा नै अवसरहरु छन्, सफलताहरु छन्, खुसी र आनन्दहरु छन् । समस्या आउँदा बालबालिका डराउँछन्, हामी हाँसीहाँसी ती समस्याका बीचमा पनि अविचलित रह्यौँ भने तिनले समस्यामा मुस्कुराउने कला सिक्दछन् ।

७. सुरक्षाको प्रत्याभूति

असुरक्षा अधोगतिको मुख्य कारण हो । व्यक्तिले यदि आफूलाई असुरक्षित महसुस ग¥यो भने उसका सबैसबै प्रगति—उन्नतिका बाटाहरु बन्द हुन पुग्छन् । हाम्रा छोराछोरीले यदि असुरक्षित महसुस गरे भने त्यो राम्रो हुँदैन । त्यसका लागि हामीले राम्रा गुणको प्रशंसा गर्नुपर्दछ । सम्मानका साथ व्यवहार ग¥यौँ भने, उनीहरुलाई आवश्यक ध्यान दियौँ भने, राम्रो कामका लागि प्रेरित ग¥यौँ भने, तिनका विचारलाई समर्थन ग¥यौँ भने र उनीहरुले आफू एक्लो भएको महसुस गरेनन् भने हाम्रा छोराछोरी पूर्णतः सुरक्षित भएको महसुस गर्दछन् ।

८. सुदृढ दाम्पत्य जीवन

बालबालिकाले बाबुआमाको निष्कर्षहीन र झगडा बढाउने किसिमको बहस मन पराउँदैनन् । बाबुआमाको सुदृढ सम्बन्ध उनीहरुको अर्को चाहना हो । जीवनसाथीको नकारात्मक कुरा मात्रै गर्ने, दोष लगाउने, विश्वास नगर्ने, आफ्नो विवाह र सम्बन्धलाई अरुको सित तुलना गर्ने, वैवाहिक सम्बन्धको औचित्य नदेख्ने जस्ता लक्षणले घर बिग्रन्छ । छोराछोरीले पनि भोलि त्यस्तै बलियो दाम्पत्य जीवनको शिक्षा घरबाटै प्राप्त गर्दछन् ।

९. सामाजिकताको ज्ञान

मानिस सामाजिक प्राणी हो । ऊ कहिल्यै एक्लै बस्न सक्दैन । चाहे घरमा होस्, चाहे बाहिर होस्; ऊ मानिसहरुकै वरपर हुन्छ । मानिसप्रति जवाफदेही हुनु हाम्रो दायित्व हो । हाम्रा छोराछोरीले समयमै सामाजिकताको शिक्षा पाए भने उनीहरुको भोलिको जीवन पनि सामाजिक भएर जान्छ ।

बालबालिकालाई सामाजिक बनाउन बाँडीचुँडी खाने, दुःखसुख साटासाट गर्ने कला, पृष्ठपोषण गर्ने कला, मानिसका विविधतालाई सम्मान र स्वीकार गर्ने, अर्काका अधिकार र कर्तव्यलाई सम्मान गर्ने, भावना बुझ्ने, आँखामा आँखा हेरेर बोल्ने, सुन्ने, बोल्दा नरोक्ने, समन्वय गर्ने, सहयोग गर्ने, नम्र भएर प्रस्तुत हुने र सम्मानका साथ आफ्नो विमति राख्ने गर्न सिकाउनुपर्दछ

१०. सबैका लागि आदर्श

जसको जीवन अनुकरणीय छ, सबैले सिको गर्न योग्य छ त्यही जीवन आदर्श जीवन हो । अभिभावक हरेक छोराछोरीका आदर्श हुन् । समाजका लागि सोच्ने, परोपकारका काम गर्ने, व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने एवम् सधैँ सेवा र सहयोगका लागि तयार हुने मानिस सबैको अनुकरणीय हुन्छ । बालबालिकाका लागि बाबुआमा सबैभन्दा ठूला नायक—नायिका हुन् ।

११. नेतृत्व र जिम्मेवारीको अभ्यास

हामी छोराछोरीका अगुवा हौँ, नेता हौँ, रोलमोडल हौँ । उनीहरुलाई बेलाबेलामा हाम्रा जिम्मेवारी हस्तान्तरण पनि गर्नुपर्दछ । हामीले गर्दै आएका काम गर्न पाउँदा ती चौपट्टै खुसी हुने गर्दछन् । हामीलाई पनि हलुका हुने, छोराछोरीले पनि काम पाउने ! काम मात्रै होइन, त्यहीँबाट तिनले नेतृत्व लिने र कामप्रति जिम्मेवार हुने कला सिक्दै जान्छन् ।

१२. आध्यात्मिक र धार्मिक संस्कार

असल अभिभावक आत्मिक हुन्छ, आध्यात्मिक हुन्छ र आफ्ना ऐतिहासिक एवम् धार्मिक मूल्यहरुप्रति अत्यन्त सकारात्मक हुन्छ । आध्यात्मिक हुनुको अर्थ करूण, प्रेमपूर्ण, सहयोगी, मानवीय र मूल्यवादी बन्नु हो । धार्मिक हुनुको अर्थ आफ्ना पूर्वजप्रतिको सम्मानपूर्ण साथै समाजका सांस्कृतिक मूल्यहरुप्रति निष्ठावान् हुनु हो ।

हाम्रा छोराछोरीले समाजमा चलेका धर्म, परम्परा, मूल्यमान्यता, संस्कार–संस्कृति र रीतिथितिप्रति सम्मान व्यक्त गर्नुपर्दछ । यसैबाट राष्ट्रियताको उदय हुन्छ । देशका मूल्य र संस्कारहरु नै मूलतः राष्ट्रियताका परिचायक हुन् ।

१३. संवेगमाथिको सुव्यवस्थापन

व्यक्तिभित्र धेरै प्रकारका संवेगहरु हुन्छन् ः रिस, क्रोध, आवेग, काम, अति भावुकता आदिआदि । यी जति धेरै हुन्छन्, अनियन्त्रित हुन्छन् समस्याहरुको सुरूआत त्यहीँबाट हुन्छ । हामीले घरमा संवेगमाथि शासन गरेको अनुभूति हाम्रा बाबुनानीले राम्ररी गरुन् । संवेगमाथिको सुव्यवस्थापनबाट मात्रै प्रेम र सिर्जनाको यात्रा आरम्भ हुन्छ । रिसको बेलामा शान्त हुन, अति भावुकताबाट नबहकिन, नमात्तिन र नआत्तिन आवश्यक परामर्श दिनुपर्दछ ।

१४. नीतिनियमप्रति पूर्ण बफादार, न्यायोचित निर्णयकला

समाजमा नियम हुन्छन्, विधिविधान हुन्छन्, मूल्य र मान्यता हुन्छन् । हामी ती सबै नीतिनियमप्रति उत्तिकै बफादार र जिम्मेवार हुनुपर्दछ । घरमा कुनै विवाद भयो र निर्णय गर्न प¥यो भने आपैmँले दण्ड पाउनुपर्ने अवस्था छ भने पनि त्यहीबमोजिमको निर्णय गर्नुप¥यो । बालबालिकालाई ‘बाबा÷आमा नियमप्रति अत्यन्त प्रतिबद्ध हुनुहुन्छ, उहाँले कहिल्यै गलत निर्णय गर्नुहुँदैन’ भन्ने विश्वास पर्नुपर्दछ । नियमप्रति सामाजिक नियम, कानुनी प्रावधान सबैसबैप्रति बफादार अभिभावकका छोराछोरी नै भविष्यका असल सन्तान हुन् ।

१५. सप्रेम श्रवण

मानिसका लागि नभई नहुने अर्को गुण ‘श्रवणकला’ हो । आज बोल्नेहरु त छन्, तर सुन्नेको अभाव छ । यदि मानिसलाई धैर्यसाथ सुन्ने मात्र हो भने पनि धेरै समस्याको समाधान स्वतः हुन्छ । मान्छेले आफ्ना कुरा राम्ररी भन्न पाएकै हुँदैन । मनोचिकित्सकीय दृष्टिले पनि बालबालिकाका कुरा सुन्ने बानीले एक प्रकारको उपचारकै काम गरेको हुन्छ ।

हाम्रा छोराछोरीका कति कुरा हुन्छन् । उनीहरु बताउन पनि चाहन्छन्, तर अभिभावक सुन्ने सामथ्र्य राख्दैनन् । जुन अभिभावकले छोराछोरीका कुरा प्रेमपूर्वक सुन्न सक्छन्, तिनका छोराछोरी साँच्चै नै मनोवैज्ञानिकरुपले अत्यन्त स्वस्थ हुन्छन् भने तिनलाई परेका समस्याहरुको समाधान खोज्न पनि सहयोग मिल्छ ।

जसले हाम्रा कुरा सुन्छन्, हामीले पनि त तिनैलाई मन पराउँछौँ । हाम्रा छोराछोरीले यदि हामीलाई मन पराएका छन् भने हामीले तिनलाई शान्त र धैर्यसाथ सुनिदिने गरेका छौँ भन्ने प्रमाणित हुन्छ । हाम्रो यो बानीले पछि गएर तिनलाई पनि अरुका कुरा सुन्ने संस्कार प्राप्त हुन्छ ।

आचार्य लक्ष्मण भण्डारी चितवन पोष्ट