FLASH NEWS
  • Loading...

ठिनीमा फस्टाउँदै थकाली होमस्टे

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४४ पटक पढिएको
ठिनीमा फस्टाउँदै थकाली होमस्टे

ठिनी, मुस्ताङ्ग ।

मुस्ताङ सदरमुकाम जोमसोमको सिरानमा अवस्थित सानो, झुरुप्प परेको परम्परागत थाकाली वस्ती, ठिनी । ठिनीको पुरानो नाम भने ‘सुम्प’ हो ।

तिलिचो, निलगिरी नर्थ र साउथ हिमालको काखमा अवस्थित ठिनीको पुछारमा कालीगण्डकी नदी बगेको छ । आलु, फापर, गहुँ, जौ र मकै खेती ठिनीको पुख्यौली कृषी प्रणालीलाई आजभोली स्याउ बगानले ढाक्दै गएको छ । परम्परागत ठेट थकाली ग्रामिण वस्तीमा पछिल्लो तीन बर्षदेखी देश/विदेशका पर्यटक वस्न थालेका छन । घरका भान्सा र विस्तारा मोडिफाई हुन थालेका छन ।

‘तीन बर्षअघिसम्म ठिनी मुस्ताङ्गको पर्यटनमा बत्तिमुनीको अँध्यारो जस्तै थियो । होमस्टे संञ्चालनगरी दियो बालेका छौं’ ठिनी सामुदायीक थकाली होमस्टेका सचिव निराजन थकालीले भने, ‘भर्खर पर्यटनको मुल्य र महत्व बुझ्दैछौं ।’

ठिनीको पुछारमा पर्ने जोमसोम र पारीपट्टीको मार्फा पुथाङ (एयरपोर्ट) बजारका होटल/रेष्टुष्रेन्टले मुस्ताङ्ग ओईरिएका पर्यटकको चाप थेग्न नसकेपछि मुस्ताङ्गी सभ्यता र थकाली संस्कृति रुचाउने पर्यटककालागी ‘ठिनी थकाली होमस्टे’ सुरु गरिएको हो । खानाको परिकारमा कहलिएका थकालीले मात्र संञ्चालन गरेको ठिनी, पहिलो थकाली होमस्टे गाउँ हो । एक सय १० घर थकालीको बसोबास रहेको ठिनीका सवै घरमा भने होमस्टे छैन । ०७४ सालमा ५ घरबाट सुरु ठिनी होमस्टेमा अहिले १३ घर आवद्ध भै पाहुना राख्न थालेका छन । ठिनीबाट तल जोमसोम र एयरपोर्ट बजार राम्रो देखिन्छ ।

‘होटल/रेष्टुरेन्छ र मिठो परिकार पकाउन थाकालीले छुट्टै ब्राण्ड नै बनाएका भएपनि हामी ठिनीका थकालीहरु भने भर्खर सिक्दै छौं, सिकारु नै छौं’ रिपोर्टर बसेकी होमस्टे संञ्चालिका आरती थाकालीले भनिन, ‘सिजनमा पाहुना आई रहन्छन । पारिवारिक वातावरण, संस्कृतिमा चासो भएको र मेनु अलि सस्तो पनि भएकोले यो सिजनमा दैनिक नै पाहुना भए ।’

घरपझोङ गाउँपालिका, ५ मा पर्ने ठिनी गाउँका सवै घर परम्परागत मुस्ताङ्गी शैली र सभ्यता नछोडेका माटोले छाएका मुण्डे छन । मुण्डे घरका छानोको छेउमा दाउरा मिलाएर राख्नु थाकखोलाको छुट्टै संस्कृति हो । वास्तवमा हिउँ र पानीले माटोको छाना भएको घरको छेउबाट खोलेर चुहिने नहोस भनेर राखिएको दाउरा कालन्तरमा मुस्ताङ्गको तल्लो भेग (थाकखोला)को संस्कृति बनेको छ ।

ठिनीगाउँ परम्परागत थकाली वस्ती मात्र होईन, कुछप तेरेङ्गा गुम्बा र घरपझोङ किल्ला आदी धार्मिक तथा एतिहाँसिक सम्पदाहरु छन । प्राकृतिक रुपमा पनि उत्तिकै सुन्दर ठिनीमा हिउँचितुवा गुफा र धुम्बा तालले थप सौन्दर्य थपेका छन । गाउँदेखी १० मिनेट उत्तर हिँडेपछि पुगिन्छ, हिउँचितुवा गुफा । गुफा मुस्ताङ्गको सभ्यताको परिचय पनि हो । अर्को ३० मिनेट हिँडेपछि ढुम्बा ताल पुगिन्छ । तालमा पश्चिम हेर्दा टुक्चे र धौलागिरी हिमाल देखिन्छ भने पूर्व हेर्दा निलगिरी तथा तिलिचो हिमालको छायाँ देख्न सकिन्छ । ढुम्बा ताल ठ्याक्कै मुटुको आकारको छ । थकाली सँग्राहलय अर्को आर्कषण हो, जहाँ ६ सय बर्ष पुराना बन्दुकदेखी थकाली जातिका भेषभुषा र संस्कृतिलाई नजिकबाट हेर्न पाईन्छ ।

 

‘ठिनी र वरपर पर्यटन विकास गर्न गुरुयोजना बनाएरै लागेका छौं । यहाँका संभावित गन्तब्य र आकर्षणको पहिचान, प्रर्वदन र संरक्षणमा जुटेका छौं । हामी सडक र पर्यटनलाई जोड्न चाहन्छौं’ स्थानीय घरपझोङ्ग गाउँपालिका उपाध्यक्ष सर्मिला गुरुङ्गले भनिन, ‘ठिनीको सिरानमा पर्ने नाम्खेलेकमा भ्यू प्वाईन्ट बनाएका छौं, यहाँबाट कोरला नाकासमेत उपल्लो मुस्ताङ्गको अधिकांश भाग देख्न सकिन्छ । तिलिचो लेकमुनी सम्मै सडक पुर्‍याएका छौ । अव धेरै पर्यटकलाई तिलिचो पुग्न धेरै सजिलो भएको छ ।’

ठिनी थकाली होमस्टे पुग्न सजिलो छ । बेनीदेखी बस,जीपमा ५ घन्टामा जोमसोम पुगिन्छ । जोमसोमबाट गाडीमा पनि जान सकिन्छ । हिँडेर जाँदा करिव १५ मिनेट लाग्छ । मात्र ७ सय रुपैयाँमा एक जनाले साँझ एक कप रैथाले मदिराको स्वागत, खाना, बेड, विहान मिठो चिया र हल्का नास्ता खुवाउँछन । खानामा फापरको ढिँडो वा तराईबाट गएको चामलको भात रोज्न पाईन्छ ।