- Loading...
‘ब्रेकिङ न्यूज’को दाैडमा हामी के गुमाउँछौं ?
- पुनहिल डट कम
- ५ साल अघि
- २३५ पटक पढिएको

सोमा बसु सोमा बसु
हामी संवाददाता सँधै ब्रेकिङ न्यूजको पछि कुद्छौं । सञ्चारमाध्यमबीचको प्रतिस्पर्धाले यस्तो दबाब झनै बढाइदिएको छ । तर, त्यो होडमा हामी ‘स्टोरी’सम्म पुग्न चुकिरहेका छौं ।
यस्तो लाग्छ– समय ब्रेकिङ न्यूजको हो । सञ्चारमाध्यमलाई होड चलेको छ अरुले भन्दा छिटो समाचार दिने । टेलिभिजन र अनलाइन मिडियाको विस्तारसँगै यो होडबाजी झनै तीव्र भएको छ । हरेक संवाददाताको सपना बनेको छ, ब्रेकिङ न्यूज दिने ।
यस्तो अवसर हामी संवाददाताहरूले निकै उत्साह र केही अधीरताका साथ उपयोग गरिहाल्छौं । तर, धेरैजसो प्रसंगमा हाम्रा सम्पादकहरू ‘हामीले ठीकै गरिरहेको तर पर्याप्त नभएको’ भनिरहन्छन् । उनीहरू हामीलाई हामीले ल्याएको सूचना भन्दा पनि परसम्म पुग्न र थप केही पत्ता लगाउन जोड दिइरन्छन् ।
तर सत्य सँधै ब्रेकिङ न्यूजमा हुँदैन । त्यो भन्दा पर खास सत्य लुकेको हुन सक्छ जो मौन र अप्रकाशित हुन्छ । समाचार त्यही मौन सत्य हो । म सन् १९९४ को एउटा प्रसंग सम्झन्छु ।
दिल्लीको ‘अल इन्डिया इन्स्ट्च्यिुट अफ् मेडिकल साइन्सेज’को अत्याधुनिक शल्यक्रिया कक्षमा भारतले इतिहास रचेको थियो । कार्डियोभास्कुलर सर्जन डा. पी. भेनुगोपाल र २० जना चिकित्सक सम्मिलित उनको समूहले देशमै पहिलोपल्ट मुटु प्रत्यारोपण गरेको थियोे ।
त्यतिबेला चिकित्सकहरूले अपरेशन गरिरहँदा जम्मा भएका पत्रकारहरूलाई आइसीयूको सीसाबाट हेर्न दिइएको थियो । अपरेशन सफल भएपछि आयोजित पत्रकार सम्मेलनमा शल्यक्रियाबारे विस्तृतमा बताइयो ।
पत्रकार सम्मेलनपछि म चकित भएर कार्यालय फर्किएँ । समाचार तयार पार्नका लागि केही नोट पनि थिए मसँग । तर जब मैले मेरा ब्यूरो चिफ हरिश खेरलाई यो सफलताबारे विस्तृतमा बताएँ, उनले सोधे, “अनि खोइ त वास्तविक समाचार ?”
म अवाक् भएँ ।
“भोलि सबैजसो पत्रिकाले यही समाचारलाई प्रमुख स्थान दिएर छाप्नेछन्”, मैले झिनो प्रतिवाद गरेँ ।
उनी मुस्कुराए र मलाई अस्पताल पुगेर मुटु दिने दाता को हो पत्ता लगाउन भने ।
ब्यूरो चिफका कुरा सुनेर म निकै उदास भएँ । मैले सोचेजसरी समाचार प्रकाशित हुन गइरहेको थिएन । तर त्योभन्दा पनि दुःखको कुरा त के थियो भने डाक्टरहरूले पहिले नै हामीलाई दाताको परिचय दिनु मेडिकल आचारसंहिता विपरीत हुने बताएका थिए ।
हाम्रा स्रोतहरूको सहयोगमा कसरी कसरी फोटोग्राफर शंकर चक्रवर्ती र मैले डाक्टरको एप्रोन फेला पार्यौं । अनि कसरी अभिलेख शाखामा पसेर दाताको नाम र ठेगाना पत्ता लगायौं भन्ने अर्को कथा हो ।
हामी राती १० बजेतिर दिल्लीको बाहिरी क्षेत्रमा रहेको दाताको घरमा पुग्यौं । त्यहाँ एक जना मानिस तीनजना स–साना छोरीहरूसहित शोकमा थिए । जब हामीले उनलाई हामी त्यहाँ पुग्नुको उद्देश्य सुनायौं, उनी भक्कानिए । उनले हामीसँग सारा प्रशंसा जति डाक्टरहरूले हडपेको गुनासो गरे ।
उनकी ३५ वर्षीया श्रीमती चरम जलवियोजन भएर बितेकी थिइन् । डाक्टरहरूले उनीसँग अंग दान गर्न अनुरोध गरेका थिए ।
“म उनका मुटु, मृगौला, आँखा र कलेजो दिन तयार भएँ जसले गर्दा अरू ६ जना बाँच्न सक्छन् । तर हामीबारे केही पनि उल्लेख गरिएन”, दिल्ली प्रहरीमा जागिरेसमेत रहेका उनले भने ।
उनीसँग कुरा गरेर हामी कार्यालय फर्कंदा मध्यरात भइसकेको थियो । ब्यूरो चिफ खेर र समाचार सम्पादक वाइ.पी. नरौला हामीलाई कुरेर बसेका थिए ।
“छिटो लेख”, मलाई भनियो ।
तर मेरो दिमाग हिउँजस्तै जमेको थियो ।
खेर मसँगै बसे । घटनाबारे विस्तृतमा भन्न भने र समाचारका शुरूअाती पंक्तिहरू लेख्न सहयोग गरे ।
अंग दान दिएकी ती महिलाको तस्वीर सहित ‘राजेश्वरी मृत्युपछि पनि जीवित छिन्’ शीर्षकमा पहिलो पानाको मुख्य समाचार तयार भयो ।
बिहान २ बजे कार्यालयबाट फर्कंदा हामीलाई थाहा थियो, हामीसँग अरू कसैसँग नभएको तर सबैको मन छुने कथा छ । त्यति कल्पिंदा पनि हामी उत्साहित भएका थियौं ।
भोलिपल्ट समाचार छापियो । ‘द हिन्दू’मा हाम्रो समाचार छापिएपछि प्रहरी कमिश्नर, मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीले दाताको परिवारलाई सम्मान गरे । मुटु पाएको व्यक्तिको परिवारले ती स–साना बच्चीहरूलाई उपहार लिएर गयो ।
डाक्टरहरूले मुटु प्रत्यारोपण गरिएको व्यक्ति तीन महिना बाँच्छ भनेका थिए, तर उनी १५ वर्ष बाँचे । सात वर्षसम्म दुवै परिवारलाई मैले पछ्याइरहेँ ।
चिकित्सक संघले मलाई धेरै पटक बेवास्ता गर्यो । तर त्यसपछिका दाताहरूको परिवार ‘द हिन्दू’मा गौरवबोधका साथ आइरहे । हामीले पनि उनीहरूको पवित्र कर्मलाई प्रोत्साहन गर्दै समाचारहरू प्रकाशन गरिरह्यौं । त्यसले अरु परिवारहरूलाई पनि अंग दान गर्न प्रोत्साहन गरिरह्यो ।
आज पनि म सोच्ने गर्छु हामीले मेडिकल संहिता भंग गर्नु र दाताको परिवारसम्म पुग्नु गलत त थिएन ? तर हामीले गरेको कामले कसलाई पो नोक्सान भयो र ?
(भारतको दैनिक ‘द हिन्दू’ को १८ अक्टोबर २०१९ को अंकमा प्रकाशित लेखको भावानुवाद)
देखापढीबाट साभार ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
