माटोको सहरमा पाहुनाको लर्को

२९ आश्विन २०७६, बुधबार १२:५७ मा प्रकाशित (9 महिना अघि)
पुनहिल संवाददाता

लोमन्थाङ्ग, मुस्ताङ्ग ।

भौगोलिक विविधता, समृद्ध विरासत सहितको वास्तुकला र सकृय तिब्बति संस्कृति मात्र होईन, कम्युनिष्ट शासन ब्यवस्था अपनाएको चीनको स्वशासित तिब्बत सीमावर्ती लो मन्थाङ (कोरला नाका) पर्यटकका आकर्षण र कौतुहल हुन । भौगोलिक रुपमा पनि तिब्बती पठार र माथिल्लो मुस्ताङ्ग उस्तै छ ।

परम्परागत भारत–तिब्बत बीचहुने नुन ब्यापार ‘क्याराभान’ एवं रहेको ‘माटोको शहर’ लो मन्थाङमा यति बेला बाहृय तथा आन्तरिक पर्यटकको लर्को लागेको छ । तिब्बती बोर्डरसम्म मोटरबाटोको सुगम भएपछि उपल्लो मुस्ताङ्गको लो मन्थाङमा आन्तरिक पर्यटकको ओईरो छ । सिमावर्ती छोसेर स्थित इलाका प्रहरी कार्यालयको अभिलेख अनुसार दशैंपछि दैनिक ३ सयबढी मोटरसाईकल र एक सयबढी जीप कोरला पुग्ने गरेका छन ।

‘कोरला नाका हेर्न जाने आन्तरिक पर्यटक अधिक छन । केही विदेशी पर्यटकपनि कोरला नाका हेर्न जाने गरेका छन’ इप्रका छोसेरका प्रहरी हवल्दार श्यामकुमार थापाले भने, ‘असोज–मंसिर र फागुन–जेठको सिजनमा पर्यटक कोरला आउँछन । ८० प्रतिशत अन्तरिक पर्यटक दशैं–तिहारको वीचमा आउँछन ।’

लो मन्थाङ र मुस्ताङ्गको सम्पदा तथा संस्कृति संरक्षणको जिम्मेवारी पाएको राष्ट्रिय प्रकृति संरषण कोष अर्न्तगतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लो मन्थाङ्ग कार्यालयको अभिलेख अनुसार अहिले बार्षिक ४ हजारबढी बाहृय पर्यटक लो मन्थाङ पुग्ने गरेका छन ।

‘सडकको सहज पहुँचले लो मन्थाङ र उपल्लो मुस्ताङ्गमा आन्तरिक पर्यटकको ओईरो लागेपनि बाहृय पर्यटकको संख्या बढेको छैन । पुरानो पदमार्ग सडकले नासेपछि प्रदुषण बढेको बाहृय पर्यटकको गुनासो छ’ एक्याप लो मन्थाङका निमित्त प्रमुख श्रीकृष्ण न्यौपानेले भने, ‘तिब्बत सिमावर्ती क्षेत्रमा पर्ने सामरिक महत्वको उपल्लो मुस्ताङ्ग प्रवेशमा बाहृय पर्यटकले थप शुल्क र सर्त पालना गर्नु पर्ने भएकोले पनि संख्या थोरै देखिएको हो ।’

आकर्षक मध्ययुगीन वस्ती लो मन्थाङ्ग र मुस्ताङ्गका प्राचिन वस्ती हेर्न पर्यटकको ओईरो लाग्न थालेपछि स्थानीयले धमाधम आधुनिक पुर्वाधारयुक्त ठूला रेष्टुरेन्ट, होटल तथा रेष्टुरेन्ट थपिन थालेका छन । लो मन्थाङ्गमा मुस्ताङ्गी पूर्वराजकुमार जिग्मे सिग्मे परवल विष्टले २० करोडको लागतमा ‘रोयल मुस्ताङ्ग रिसोर्ट’ खोलेका छन । विष्ट अहिलेपनि स्थानीयले साँस्कृतिक राजाको रुपमा मानेका छन ।

होटल ब्यवसायी समितिका अनुसार लो मन्थाङमा ३० लाखदेखी २० करोडसम्म लगानीका ३० वटा होटल छन । यी होटलमा २ सय २८ कोठामा ५ सय वेड रहेका छन । यो बर्ष थप ५० कोठा थप हुँदैछन । छोसेर र छोनुपमा १२ तथा चराङ र घमिमा पनि १५ बढी होटल छन ।

‘आन्तरिक पर्यटकको बढ्दो आकर्षणले हामी उत्साही छौं । तर आन्तरिक पर्यटकको फ्लो छोटो समयकालागी मात्र भयो । लो मन्थाङ र उपल्लो मुस्ताङ्गको पर्यटन विकास गर्न कोरला नाका ब्यवस्थित गरी सवै पर्यटककालागी प्रवेश सहज आवश्यक छ’ लो मन्थाङ होटल ब्यवसायी समितिका कोषाध्यक्ष रामबहादुर गुरुङ्गले भने, ‘परम्परागत पदमार्ग सडकले नासिएकोले वैकल्पिक पदमार्ग बनाउन हामी पनि जुटेका छौं । एक्यापसँग मिलेर यहाँका सांस्कृतिक पर्वको क्यालेण्डर बनाएका छौं ।’

लो मन्थाङमा मात्र होईन बाटोका वस्ती घमि, चराङ र छुक्साङमा पनि बर्षेनी आधुनिक पर्यटक होटल, रेष्टुरेन्ट समेतका पूर्वाधारहरु थपिएका छन । पर्यटक बढेपछि क्यूरियो पसल, आर्ट ग्यालरी, फोटोका पसल र अन्य पसलहरु समेत बढेका छन ।

उपल्लो मुस्ताङ्गमा भन्दा अझ बढी मुक्तिनाथ, कागवेनी र जोमसोम समेत तल्लो मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकको संख्या अत्यधिक बृद्धी भएको छ । दशै–तिहारको लामो विदा मनाउन देशका विभिन्न ठाउँबाट मुस्ताङ तथा मुक्तिनाथ आउनेको संख्या बढेको हो ।

‘जोमसोम, कागवेनी, मुक्तिनाथ क्षेत्रका होटल दिउँसो १२ बजे नै भरिभराउ हुँदा अवेर पुगेका पर्यटकले बासको समस्या खेप्न बाध्य छन, ठिनी सामुदायीक थकाली होमस्टेका निरज थकालीले भने ‘मोटरबाटोको सोझो पहुँच सहज भएपछि बाहृय पर्यटक भन्दा आन्तरिक पाहुना बढेका हुन ।’

मोटर बाटोको सुगमताले दशैंको टिका लगाउन नपाएका र लामो विदा मनाउन सहरका कर्मचारी, ब्यबसायी, संञ्चारकर्मी सपरिवार मुस्ताङ भ्रमणमा बढी आएका छन । त्यसैगरी चिसो बढी नसकेकोले विभिन्न कलेजका विद्यार्थीहरु पनि शैक्षिक भ्रमणमा आएका छन ।

‘लो मन्थाङ पुग्दा अलौकिक भुमिमा पुगेको महसुस भएको छ । प्रकृतिको वरदान हामीले बुझ्न र चिन्न नसकेका रहेछौं’ ललितपुर लगनखेलका महेश मास्केले भने, ‘काठमाण्डौको प्रदुषणबाट मात्र होईन, निराशा र कुण्ठाबाट पनि मुक्ति मिलेको छ । ठूलो सम्भावनाको सपना बोकेर फर्कन्छु ।’