- Loading...
हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔं
- पुनहिल डट कम
- ५ साल अघि
- १५२ पटक पढिएको
त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरै पटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु । यस्तो रमाइलो भूमिमा आई नेपाली साथीहरूसँग मैत्री नवीकरण गर्न र सहयोगबारे वार्तालाप गर्न म आतुर छु । आशा छ, हामी द्विपक्षीय सम्बन्धको विकासका लागि नयाँ खाका योजना बनाउन सक्नेछौं ।
चीन र नेपाल पहाड र नदीले जोडिएका छन्, युगौंयुगदेखि नै यी दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । करिब १६ सय वर्षअघि चिनियाँ महान भिक्षु फा सियान र नेपाली महान भिक्षु बुद्धभद्रले एकअर्काको देशमा भ्रमण गरेका थिए र संयुक्त रूपमा बौद्ध धर्मका शास्त्रपदहरू अनुवाद गरेका थिए । चीनको थाङ राजवंशका पालामा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा सङचन गम्पोसँग विवाह भएको थियो । महान भिक्षु स्यवीयान चाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको बहुमूल्य वर्णन आफ्नो यात्रावृतान्त लेखेका थिए । य्वीयान राजवंशमा नेपालका प्रसिद्ध कलाकार अरनिकोले चीनमा आएर पेइचिङमा श्वेत स्तूपको निर्माण गरेका थिए । युगौंयुगदेखि हाम्रा दुवै देशका जनताबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धका यी केही उदाहरणहरू हुन् ।
चीन र नेपालबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएका छन् । हामीबीचको यस्तो पारस्परिक सम्मान, मैत्रीपूर्ण सहयोगको सम्बन्ध छिमेकी मुलुकहरूबीचको राम्रो सम्बन्धको नमुना बनेको छ ।
चीन र नेपाल एकआपसमा सम्मान र विश्वास गर्ने असल मित्र हुन् । शान्तिपूर्ण सहअस्तित्वका पाँचवटा सिद्धान्तका आधारमा दुवै पक्षले सफलतापूर्वक दुई देशबीचको सीमालाई रेखांकित गरी हिमालयलाई दुई देशबीचको बलियो स्तम्भ बनाएका छन् । दुवै पक्षले एकअर्काको मुख्य चासोका विषयलाई दृढताका साथ समर्थन गर्दछन् । नेपाल एकमात्र चीनको नीतिमा अडिग रहेको छ र त्यसको दृढताका साथ पालना गरेको छ र कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीनविरोधी गतिविधि सञ्चालन गर्न दिएको छैन । चीनले राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, देशको अखण्डताको रक्षा गर्न र देशको अवस्था अनुरूपमा विकास मार्ग अपनाउन नेपाललाई दृढतापूर्वक समर्थन गरेको छ ।
चीन र नेपाल आपसी लाभ र हितका सहयोगका लागि असल साझेदार हुन् । दक्षिण एसियामा नेपाल चीनको व्यापार तथा विकासको महत्त्वपूर्ण साझेदार हो । गत वर्षमा द्विपक्षीय व्यापार परिमाण १.१ अर्ब अमेरिकी डलर पुगेको थियो । चीनले नेपालमा ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको थियो । नेपालले ‘बेल्ट एन्ड रोड’ पहलको निर्माणमा सक्रियताका साथ भाग लिइरहेको छ र राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिक पूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गर्दैछ । यसरी हिमालय वारिपारि ‘कनेक्टिभिटी नेटवर्क’को निर्माण विस्तारै हुँदैछ, जसबाट दुवै देशमात्र होइन, सम्पूर्ण क्षेत्र नै लाभान्वित हुनेछ ।
चीन र नेपाल एकअर्काबाट सिक्ने असल छिमेकी हुन् । लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको छ । दक्षिण एसियामा चिनियाँ नागरिकहरूको छनोटको पहिलो गन्तव्य देश नेपाल हो । हाल प्रत्येक हप्तामा दुई देशबीचका लगभग ६० उडानहरू छन्, हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिहरूले एकअर्काको देश भ्रमण गर्दछन् । हाम्रा दुई देशबीच ११ जोडी भगिनी सहरहरू बनिसकेका छन् । दिन प्रतिदिन बढ्दो आदानप्रदानले दुई देशका जनताबीचको समझदारी बढाउनुका साथै दुई देशका विकास र प्रगतिमा प्रेरक शक्ति थपेका छन् ।
चीन र नेपाल एकअर्कालाई सहयोग गर्ने असल दाजुभाइ हुन् । सन् २००८ मा चीनको सछ्वान प्रान्तको वेनछवानमा विनाशकारी भूकम्प गएपछि नेपाल सरकार र नेपाली जनताले सक्रियताका साथ पैसा र सामग्रीहरू प्रदान गरी चीनको भूकम्प राहत कार्यमा सहयोग पुर्याएका थिए । त्यसैगरी सन् २०१५ मा नेपालमा महाभूकम्प गएपछि चीन सरकार र चिनियाँ जनताले तुरुन्तै ठूलो मात्रामा उद्धार कार्य प्रारम्भ गरी भूकम्पपश्चातको पुनर्निर्माणमा पनि सहयोग पुर्याएका थिए । यी चीन र नेपालबीच रहँदै आएको भाइचाराका उत्कृष्ट उदाहरण हुन् ।
वर्तमानमा नेपाल सरकार र नेपाली जनता ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि अघि बढिरहेका छन् भने चीन सरकार र चिनियाँ जनता ‘दुईवटा सय वर्ष’ लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेका छन् । चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको हुँदा यस युगमा हामी दुई देशले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयास गर्नुपर्दछ । एकसाथ रही हामीले गर्नुपर्ने कामहरू यी हुन्–
रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु : नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै पक्षले दीर्घकालीन सम्बन्धका खाका तयार गर्नुपर्दछ । यसका लागि उच्चस्तरीय आदानप्रदान कायम गर्नुपर्छ । आपसी राजनीतिक विश्वास बढाउनुपर्दछ । एकअर्काको मुख्य चासोका विषयहरूमा आपसी सहयोगलाई अझै सुदृढताका साथ जारी राख्नुपर्दछ । देशको सुशासन तथा विकासको अनुभवसम्बन्धी आदानप्रदानलाई बढाई दुवै देशका जनतालाई अझ बढी फाइदा प्रदान गर्नुपर्दछ ।
व्यावहारिक सहयोगको विस्तार गर्नु : दुवै पक्षले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माणलाई सक्रिय रूपमा अगाडि बढाउनुपर्दछ । चीनले चिनियाँ उद्यमीहरूलाई नेपालमा मुख्यत: व्यापार र लगानी, पुनर्निर्माण, ऊर्जा, पर्यटन– यी चार क्षेत्रमा लगानी गर्न प्रेरित गरेको छ । दोस्रो, चिनियाँ अन्तर्राष्ट्रिय आयात ‘एक्स्पो’ मा भाग लिई नेपालका विशिष्ट उत्पादनहरूलाई चीनमा निर्यात गर्न चीन नेपाललाई स्वागत गर्दछ । चीनले नेपाललाई पुनर्निर्माणका लागि सहयोग निरन्तर दिनेछ र नेपाली जनताको जीवनस्तर उकास्न सकेसम्म सहयोग प्रदान गर्नेछ ।
जनस्तरीय आदानप्रदानलाई व्यापक पार्नु : दुवै पक्षले शिक्षा, युवा, पर्यटन र अन्य क्षेत्रहरूका आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्नुपर्दछ, दुवै देशका विमान सेवाका सीधा उडानहरू बढाई जनताको आवतजावत बढाउन सहयोग पुर्याउनुपर्छ । चीनले नेपालको ‘नेपाल पर्यटन वर्ष, २०२०’ को पूर्ण समर्थन गर्दछ र अझ बढी चिनियाँ नागरिकहरूलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्नेछ । चीनले नेपालका उत्कृष्ट युवाहरूका लागि बढी सरकारी छात्रवृत्ति प्रदान गर्नेछ र नेपालको निर्माणका लागि बढी संख्यामा प्रतिभाशाली व्यक्तिहरूलाई प्रशिक्षण दिनेछ । चीन अझ बढी नेपाली विद्यार्थीहरूलाई चीनमा अध्ययन गर्न आउन स्वागत गर्दछ ।
सुरक्षासम्बन्धी सहयोग सुदृढ पार्नु : चीनले कानुनको कार्यान्वयन गर्ने क्षमताको निर्माणका लागि नेपाललाई सहयोग गर्नेछ र कानुनको कार्यान्वयन गर्ने प्रशिक्षण कार्यमा नेपाललाई सहयोग दिनेछ । सीमा वारपारका आपराधिक गतिविधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न र दुवै देशका नागरिकहरूको सुरक्षा, आर्थिक तथा व्यापारिक आदानप्रदान सुचारु बनाउनका लागि दुवै पक्षले सीमा रक्षाका लागि आपसी सम्पर्कलाई सुदृढ पार्नुपर्दछ । त्यसबाहेक हामीले सेनाको पारस्परिक भ्रमण, कर्मचारीको तालिम र उपकरण प्रविधिको क्षेत्रमा पनि व्यावहारिक सहयोगलाई सुदृढ पार्नुपर्छ ।