आज:  | Fri, 01, Jul, 2022

विजया दशमी होइन बडादशैं

१८ आश्विन २०७६, शनिबार १०:३२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
दशैं विभिन्न तहहरु जमेर बनेको पर्व हो, यसलाई एउटा मात्रै कोणबाट बुझ्‍न सकिँदैन । दशैंलाई कतैकतै विजया दशमी भन्‍ने गरेको पाइन्छ । विजया दशमी त दशैंको दशमीको दिनलाई मात्र भनिन्छ । हामीले भन्‍नुपर्ने बडादशैं हो । भारततिर दशहरा भनेर रामलीला मनाउँछन् । रामलीला मूलतः रामको पूजा हो । नेपालमा भने रामलीला नभई दुर्गा पूजा गरिन्छ । विजया दशमी, रामलीला, दिपावली आयातीत शब्द हुन् । त्यसैले हामीले भन्‍नुपर्ने बडादशैं नै हो । गाउँघरतिर त अहिले पनि ठूलो दशैं भनिन्छ । त्यसो त दुर्गा पूजा भारतमा पनि गरिन्छ । खासगरी कलकत्तातिर कालीको पूजा गर्छन् । तर त्यहाँ रामलीला बढी हुन्छ । हामीले र उनीहरुले गर्ने दुर्गा पूजा उस्तै हो । तर भारतमा हराइसकेका कतिपय परम्परा नेपालमा अझै सुरक्षित छन् । त्यहाँ नेपालमा जस्तो रातो अक्षता लगाउने र जमरा राख्‍ने चलन छैन । जमरा राख्‍ने प्रक्रिया तान्त्रिक विधानसँग जोडिएको छ । पहिले भारतीयहरुले पनि जमरा राख्थे तर अहिले राख्दैनन् । उनीहरुले बली दिन पनि छाडे । नेपालमा त्यसको अवशेष अहिले पनि छ । भारत लामो समय उपनिवेश बन्‍नुपर्दा यी प्रचलन हराउँदै गएका हुन् । भारतमा पहिला मुसलमानले पाँच, छ सय वर्ष राज गरे । त्यसपछि अंग्रेजले दुई सय वर्ष शासन गरे । त्यसकारण उनीहरुले खुलेर आफ्नो चाड मनाउन पाएनन् । लुकेर मनाउन पर्‍याे । जसले गर्दा उनीहरुको परम्परा मासि‌दै गयो । नेपालमा मुसलमानले पनि राज गरेन, अंग्रेजले पनि शासन गरेन । त्यसैले परम्परा सुरक्षित रह्‍याे।  दशैंका प्रतीकः जमरा, अक्षता र बली  दशैंसँगै तीन चीज जोडिएर आउँछन्ः जमरा, अक्षता र बली । जमरा भनेको कृषि उत्पादनको परीक्षण हो । अहिले स्वाइल टेस्ट (माटो परिक्षण) गरे जस्तै । जमरा उमार्नु भनेको अन्‍न उम्रन्छ कि उम्रदैन भन्ने परीक्षण हो । अक्षताको अर्थ नास नहुने हो । क्षत भनेको नास हुने हो । अक्षत भनेको नास नहुने हो । नास नहुने गुण भएकाले अक्षता भनिएको हो । नास नहुने वस्तु हामीले भगवानलाई चढाउछौं । पहिले अन्‍नमध्येको उत्तम धान थियो । फेरि पूर्वीय सभ्यता त धानखेतीसँगै जोडिएको छ । त्यसैले धान नास नहुने पदार्थको रुपमा लिइयो । अर्कोतर्फ यो प्राणेश्वर भयो अर्थात् प्राण धान्‍ने । अन्नं ब्रह्‌म भनेको छ । त्यसैले भोजन गर्नुभन्दा पहिला प्राणेश्वर भनेर निधारमा टाँसिन्छ । न्वाँगी खाँदा पनि त्यस्तै गरिन्छ । न्वाँगी भनेको त नयाँ अन्‍न हो । पहिला निधारमा टाँसेरमात्र खाइन्छ । त्यो नयाँ अन्‍नलाई शिरोधार्य गरेको अर्थ हो । त्यस्तै रातो अक्षता लगाइन्छ । रातो भनेको विजय र सौर्यको प्रतीक हो । विजय भन्नासाथ कोमाथि विजय भन्ने प्रश्न आउँछ । दशैंसम्बन्धी कथाहरुले महिषासुर, मधुकैटव, शुम्भ–निशुम्भमाथिको विजय कहन्छन् । यी सबै कुत्सित भावनाका प्रतीक हुन् । दशैंसँग बली पनि जोडिन्छ । मानिस अहिले सभ्य समाजमा एकै पटक आएको होइन । पहिला मानिस जंगली युगमा थिए । शिकार गरेर जीवन चलाउँथे । त्यहीँबाट पशुपालन विकास भयो । पशुपालन गर्न थालेपछि पशु प्रशस्त भए । जे खान्छ त्यहीँ कुलदेवतालाई चढाउन थाले । यसरी बलीको शुरुवात भयो । बली भनेको वध होइन, उपहार हो । बली दिनु भनेको कूलदेवता र भगवतीलाई उपहार दिएको हो । त्यसैले बली आदिम परम्परा हो । पहिले त हजारौं पशुपक्षीको वध हुन्थ्यो । गोमेध हुन्थ्यो अर्थात् गाई काटिन्थ्यो । अश्वमेध हुन्थ्यो अर्थात् घोडा काटिन्थ्यो । नरमेध हुन्थ्यो अर्थात् मानिस नै काटिन्थ्यो । बिस्तारै सबै सुधार हुँदै आयो । दुर्गा अर्थात् शक्ति स्वरुप दुर्गा को हुन् भन्नेबारे अनेकौं मत छन् । पहिले दुर्ग नाम गरेको दैत्य थिए । त्यो दैत्यलाई जितेकाले भगवती दुर्गा भइन् । एउटा व्याख्या यस्तो पनि छ । त्यस्तै चण्ड नाम गरेका दैत्यलाई वध गर्ने देवी चण्डी भइन् । अर्कोतर्फ दुर्ग भनेको त किल्ला हो । किल्लाको रक्षाका लागि स्थापना गरिने शक्तिलाई पनि दैत्य भनियो । जे भने पनि दुर्गाको पूजा शक्ति उपासना हो । त्यसैले नै दुर्गाको पूजा गरिएको हो । अरु देवताको पूजा नभई दुर्गाको पूजा गर्नुको पछाडि पनि यही शक्ति पूजा लुकेको छ । शक्ति भनेको चराचर जगतको सृष्टिको स्रोत हो । नारी पनि सृष्टिको स्रोत भएकाले उनलाई शक्तिको प्रतीकको रुपमा लिइएको हो । प्रकृतिले जन्म दिन्छ, उर्वर हुन्छ र रक्षा गर्छ । त्यस्तै नारीले जन्म दिन्छिन् । उनी उर्वर हुन्छिन् । उनले रक्षा गर्छिन् । त्यसैले नै दुर्गालाई शक्ति स्वरुप मानिएको हो । सबैको चाड दशैं प्रकृति र शक्तिको पूजा हो । त्यसैले यो सबै जातजातिको चाड हो । मनाउने तरिका मात्र फरक छ । जस्तो कि, नेवारले दशैं नभनेर मोहिनी भन्छन् । मोहिनी तान्त्रिक परम्परा हो । मूलबत्ती बालिन्छ । बत्ती माथि गाजल थापिन्छ । त्यसलाई मोहिनी थाप्ने भनिन्छ । त्यसैबाट कालो टिका लगाइन्छ । सिन्दूरको टिका लगाइन्छ । टिका भनेको पहिचान हो । जस्तै, कसैले खरानीको तेर्सो टिका लगाएको छ भने शैवमार्गी हो । चन्दनको ठाडो टिका लगाएको छ भने वैष्णव हो । त्यसैगरी सिन्दुरको टिका लगाएको छ भने शक्तिको उपासक भन्ने बुझिन्छ । सिन्दुरसँगै कालो टिका लगाएको छ भने तान्त्रिक साधक रहेछ भन्ने बुझिन्छ । दशैं भनेकै तन्त्र हो । तन्त्रका तीन कल्प छन्ः पासवकल्प, वीरकल्प र दिव्यकल्प । तन्त्रविद् रथी धनशमशेर जबराका अनुसार पर्वतेहरु (पहाडिया बाहुन, क्षत्री) पासव कल्प हुन् । पासव कल्पमा पूजा गर्ने व्यक्तिले जसको पूजा गरिन्छ आफूलाई उसको दास ठान्छ । नेवारहरुमा वीर कल्प हुन्छ । वीर कल्पमा जसको पूजा गरिन्छ पूजा गर्नेले आफूलाई पनि त्यहीँ ठान्छ । दिव्यकल्पमा पूजा गर्ने र पूजा गरिनेलाई समान मानिन्छ । दशैं र मालश्री  मालश्री एउटा राग हो । नेवारहरुको मालश्री पनि त्यही राग हो । नेपालको पहाड खण्डमा पूर्वको राई लिम्बुमा मालश्री भएको खासै थाहा छैन । तर पश्चिमको गुरुङ, मगर, क्षत्री, बाहुनहरुमा मालश्री गाउने चलन छ । त्यसमा हिन्दी धेरै नेपाली थोरै छ । त्यसमा पृथ्वीनारायण शाह, प्रतापसिंह शाह, राजेन्द्र विर विक्रमहरुको नाम छैन । रणबहादुर शाह र गिर्वाणयुद्ध विक्रम शाहको नाम छ । त्यसमा किला काँगडा युद्धको कथा पनि समेटिएको छ । रणबहादुर शाहको नायबीकाल र गिर्वाणयुद्ध विक्रमको समयमा किला काँगडा युद्ध भएको हो । यो मालश्री पनि त्यही समयमा रचना गरिएको हुनुपर्छ । त्यसमा अमरसिंहको नाम पनि छ । यस हिसाबले हेर्ने हो भने १८६२ सालतिर यो मालश्रीको रचना गरिएको हुनुपर्छ । यो वीरगाथा हो । युद्ध र दशैं पहिले राज्यको धर्म सीमा विस्तार हो भनिन्थ्यो । युद्धमार्फत् सीमा विस्तार हुन्थ्यो । तर युद्ध कहिले गर्ने भन्ने प्रश्न आउँथ्यो । पहिले बर्खामा हिँडडुल गर्न गाह्रो हुन्थ्यो, खेतीपातीको समय पनि हुन्थ्यो । त्यसैले वर्खामा लडाइ हुँदैनथ्यो । हिउँद लागेपछि खोलानाला पनि सुक्थे । बाटोघाटो हिँड्न लायक हुन्थ्यो । नयाँ बाली पनि भित्र्याइन्थ्यो । त्यसपछि वल्लो डाँडा, पल्लो डाँडामा युद्धको तयारी शुरु हुन्थ्यो । दशैंको टिकाको दिन साइत गरेपछि जुनसुकै बेला पनि युद्ध हुन सक्थ्यो । त्यसैले दशैं युद्धको तयारी हो । अहिले पनि फुलपातीको दिन दुर्गा स्थापना गरिन्छ । त्यसमा खुँडा, तरबार, खुकुरी सफा गरेर स्थापना गरिन्छ । त्यसमा खाँडो जगाइन्छ । दशमीको दिन काठमाडौंका नेवारहरुले पाया (खड्ग जात्रा) गर्छन् । पश्चिममा कास्कीदेखि प्युठानसम्म सरायँ खेल्ने गरिन्छ । त्यो पनि हतियार प्रदर्शन नै हो । सबै जातजातिले सरायँ मनाउँछन् । दशैं रणकौशल अभ्यासको पर्व पनि हो । पृथ्वीनारायण शाहको पालासम्म पनि नियमित सेनाको व्यवस्था थिएन । लडाइँमा सबैले खुँडा हान्‍न पाउँदैनथे । शुरुमा क्षत्री, ठकुरीले मात्र खुँडा हान्थे । पछि गुरुङ र मगरलाई पनि खुँडा हान्ने जातमा उकास्यो । खुँडा हान्ने जातका घर नै व्यारेक जस्तो थियो । बाउ, दाजुहरु नै वोस्ताद हुन्थे । देखासिकीबाट खुँडा हान्न सिक्थे । बालकले हँसियाले परेवा काट्थे । अलि ठूलो भएपछि कुखुराको भाले काट्थे । अझै ठूलो भएपछि बोका मार हान्थे । लक्का जवान भएपछि बाइस अगुल सिंग भएको सतार राँगोको मार हान्थे । यो अभ्यासले एकातिर रक्तपातसँग अभ्यस्त गराउँथ्यो । अर्कोतर्फ यो लडाकुको चयन गर्ने अवसर पनि थियो । जसले बाइस अँगुल सिंग भएको सतार राँगोको मार हान्न सक्थ्यो त्यसलाई जोदाहा भनेर फेटा गुथिन्थ्यो । विभिन्न प्रकारका दशैं  पहिला त चारवटा दशैं थिएः पुस, असार, असोज र चैतमा । दशैं भनेको ऋतु पर्व हो । तर अरु तीनवटा दशैं खासै प्रचलनमा रहेनन् । पुसमा चिसो हुन्छ । असार खेतीको समय भयो । चैतमा खडेरी लाग्ने भयो । सबै हिसाबले अनुकुल असोज मात्रै हुन पुग्यो । नयाँ बाली भित्र्याएको । खोलानाला घटेको । बाटोघाटो सुकेको । त्यसैले यही समयमा दशैं लोकप्रिय भयो ।

(संस्कृतिविद् जजमान गुरुङको यो लेख देखापढी डट कमबाट साभार गरेका हौं ।)