आज:  | Sun, 03, Jul, 2022

निर्मल पुर्जाले गरे चो ओयुको सफल आरोहण

६ आश्विन २०७६, सोमबार १२:५९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, ६ असोज ।७ महिनामा संसारका ८ हजार मिटर अग्ला सवै १४ वटा हिमाल चढ्ने महत्वकाँक्षी ‘प्रोजेक्ट पोसिवल १४/७’ मा जुटेका किर्तिमानी आरोही निर्मल पुर्जा तिब्बत स्थित ८ हजार दुई सय १ मिटर अग्लो चो ओयु हिमालको सफल आरोहण गरेका छन ।किर्तिमान आरोही पुर्जाले सेप्टेम्बर २२ तारेखमा अभियानको ८ हजार मिटर अग्लामध्यको १२ औं अग्लो चो ओयु आरोहण गरेका हुन । पुर्जासँगै गणेश तामाङ, पाल्देन शेर्पा, निमा तेन्जीङ, पासाङ तामाङ, छ्वाङ्ग शेर्पा, स्टोवन मन र लाक्पा वाङ्वु पनि चो ओयु आरोहण गरेका छन ।सोमबार दिउँसो १२ बजे फेसवुक स्टाटस लेखी सेप्टेम्बर २४ तारेखमा तिब्बतको चो ओयुबाट नेपालको मनास्लु वेस क्याम्प पुग्ने योजना रहेको उल्लेख गरेका छन ।‘प्रोजेक्ट पोसिवल १४/७’ अर्न्तगत आफ्नै जन्मस्थान म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल चढेर पहिलो चरण सुरु गरेका किर्तिमानी आरोही निर्मण पुर्जाले धौलागिरी, सगरमाथा, ल्होत्से, कन्चनजंगा, मकालु हिमाल आरोहण गरेका थिए । संसारका ८ हजार मिटर अग्ला १४ हिमालमध्य ८ वटा नेपालमा छन । बाँकी पाकिस्तान र चीन (तिब्बत)मा पर्छन ।दोस्रो चरणमा माउण्ट केटु, नाङापहाड, ब्रोडपीक, गणेशब्रुम प्रथम र गणेशब्रुम दोस्रो आरोहण गरेका हुन । तेस्रो चरणमा पुर्जाले मनास्लु, शिशापङ्गामा र चो ओयु हिमाल आरोहण प्रयासमा छन । निर्मल पुर्जाको अभियान अर्न्तगत पर्ने अर्को ८ हजार मिटर अग्लो तिब्बत स्थित शिशापङ्गामा हिमाल आरोहण गर्न कानुनी पनि आएको छ । चीन सरकारले यसै बर्षदेखी शिशापङ्गामा हिमाल आरोहणमा रोक लगाएकोले जटिलता थपिएको हो ।किर्तिमानी आरोही पुर्जा सन् २००३ मा पोखरा स्थित व्रिटिश गोर्खा क्याम्पबाट छनौट भै वेलायती सेना प्रवेश गरेका हुन । उनी २००९ देखी ‘युके स्पेशल फोर्स कार्यरत रहे । वेलायति सेनामै रहँदा सन २०१२ देखी हिमाल आरोहण सुरु गरेका पुर्जाले तीन पटक सर्वोच्च शिखर सगरमाथा, लोत्से, मकालु र धवलागिरी हिमाल चढी सकेका छन । पुर्जा सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सर्भिङ व्रिटिश गोर्खा पनि हुन ।निर्मलले हिमाल आरोहणमा धेरै विश्व किर्तिमान राखेका छन । ५ दिनमै ८ हजार मिटर अग्ला सगरमाथा, ल्होत्से, र मकालु चढेर विश्व किर्तिमान राखेका पुर्जाले सगरमाथादेखी ल्होत्से आरोहण १० घन्टा १५ मिनेटमा पुरागरी अर्को रेकर्ड राखे । यस अघि यो २० घन्टाको रेकर्ड तोडेका हुन । १७ दिनमा सगरमाथा दुई पटक, ल्होत्से र मकालु एक–एक पटक चढ्ने पुर्जा मगर संसारका पहिलो आरोही हुन । पुर्जा व्रिटिश गोर्खा सैनिकमा स्पेशल फोर्समा भएको कारण हिमाल आरोहणका समाचार बाहिर आएका थिएनन ।