आज:  | Tue, 28, Jun, 2022

कस्तुरीको आम्दानी ६ करोड ११ लाख

४ आश्विन २०७६, शनिबार १५:२७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, ४ असोज । बेनीको कस्तुरी बचत तथा ऋण सहकारी संथाले आर्थिक बर्ष ०७५/०७६ मा ६ करोड ११ लाख ४१ हजार ८ सय ५१ रुपैयाँ कुल आम्दानी गरेको छ । संस्थाको शनिवार सम्पन्न स्थापना दिवसको अवसरपारी आयोजित १० औं साधारण सभामा कोषाध्यक्ष सुन्दरमान शेरचनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार संस्थाले निक्षेपको ब्याज भुक्तानी, तलवभत्ता समेत विभिन्न शिर्षकमा गरी कुन ५ करोड ८६ लाख ४१ हजार ४ सय ३१ रुपैयाँ खर्चगरी २५ लाख रुपैयाँ खुद मुनामा आर्जन गरेको छ । ंसंस्थाले खुद आम्दानीबाट जगेडा कोषमा २५ प्रतिशत, सहकारी प्रर्वद्धन कोषमा ०.५ प्रतिशत, संरक्षित पुँजी कोषमा २५ प्रतिशत, कर्मचारी वोनस १५ प्रतिशत, सहकारी शिक्षामा ५ प्रतिशत, सहकारी विकास कोषमा ५ प्रतिशत, घाटापूर्ति कोषमा १० प्रतिशत र शेयर लाभाशं कोष्मा ४० प्रतिशत बाँडफाँड गरेको छ । त्यसैगरी शेयर सदस्य हित कोषमा १४ लाख ४८ हजार रुपैयाँ छुट्याएको प्रतिवेदनमा उल्लेख छ । साधारण सभामा संस्थाका अध्यष राजेश शाक्यले प्रस्तुत गरेको सरकारको नयाँ निर्देशन अनुसार निक्षेप तथा कर्जाको नयाँ ब्याज दरलाई अनुमोदन गरेको छ । संस्थाले ब्यापारिक कर्जा, कृषी कर्जा, घर निर्माण कर्जा, वैदेशिक रोजगार कर्जा, हायर पर्चेज, पेन्सनपट्टा, आवधिक धरौटी र विविधकर्जामा १५–१६ प्रतिशत ब्याज निर्धारण गरेको छ । त्यसैगरी कस्तुरी बचत तथा ऋण सहकारी संथाले निक्षेप तर्फ आवधिक बचतमा ३ महिनेदेखी ३ बर्षेसम्म १० प्रतिशतदेखी १४ं.५ प्रतिशतसम्म र दैनिक मौजादमा ८ देखी १५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।