आज:  | Fri, 01, Jul, 2022

कम्प्युटर पढ्दै म्याग्दीका आमाहरु

४ आश्विन २०७६, शनिबार ०८:४३ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, ४ असोज । इच्छा शक्ति भए पढ्न उमेरले पढ्न छेक्दैन भन्ने गज्जवको उदाहरण हो, उज्यालो वैकल्पिक विद्यालय, बेनी । नियमित विद्यालयबाट औपचारिक शिक्षा लिने अवसरबाट छुटेका १५–६० बर्ष समुहका ६८ जना आमाहरु उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत छन । आमा विद्यार्थीहरुको छुट्टै विद्यालय पोसाक राखिएको छ । आफ्नै नाम लेख्ने धोको लिएर विद्यालय भर्ना भएका आमाहरु अहिले नेपाली, अँग्रेजी, गणित विषय पढ्दै, लेख्दै कम्प्युटर चलाउन सिक्न थालेका हुन । विद्यालयबाट औपचारिक शिक्षा नपाएका वा विचमै कक्षा छोडेका १५–६० बर्ष समुहलाई शिक्षा दिने उद्देश्यले समुदायको सकृयतामा ०७३ सालदेखी उज्यालो वैकल्पिक विद्यालय खुलेको हो । विद्यालयमा अक्षर चिन्न गएका (पहिलो तह)मा, तीन कक्षा पढ्दै विद्यालय छोडेका (दोस्रो तह)मा, ५ कक्षासम्म पढेर विद्यालय छोडेका (तेस्रो तह)मा राखेर अध्यापन गराउने गरिएको छ । बेनीकी ५६ बर्षिया भुनु तिलिजा ९ कक्षामा अध्ययनरत छिन । भुनु तिलिजा मात्र होईन, ६० बर्षिया राधिका आचार्य ५ कक्षामा र ५४ बर्षिया दिलमायाँ पुन कक्षा तीनमा अध्ययनरत छन । ७ कक्षामा अध्ययरत ४३ बर्षिया देवी सुवेदी दैनिक १ घन्टा हिँडेर विद्यालय आउँछिन । ‘बाल्यकालमा भाईबैनी स्याहर्न र किसोरवय गाईगोठ स्याहर्दै वित्यो । अहिले लेखपढ नहुँदा दाँतमा ढुङ्गा लागेपछि पढ्न थालेकी हुँ’ ९ कक्षामा अध्ययनरत ५६ बर्षिया भूनु तिजिलाले भनिन, ‘नपढेकीले सामाजीक तथा राजनितीक क्षेत्रमा पछि परेको महसुस भएकोले पढ्न आएकी छु, ।’ वयस्कको अनुभव र ज्ञानका आधारमा छोटो र फरक शैलीमा अनौपचारिक पढाईबाट औपचारिक ज्ञान पाउने पाठ्यक्रम छ । वैकल्पिक विद्यालयमा तह ४ उत्तिर्ण गरे कक्षा ८ र पाचौं तह क उत्तिर्ण गरे कक्षा ९ र ‘ख’ उत्तिर्ण गरे एसईई परिक्षामा सहभागी हुन योग्य मानिन्छन । विद्यालयमा अहिले कक्षा १, ३, ५, ७, र ९ कक्षा संञ्चालनमा छ । कक्षा ५ देखी माथी पढ्ने आमा विद्यार्थीकालाग िछुट्टै कम्प्युटर कक्षा थप गरिएको छ । कम्प्युटर पठ्न ६ वटा कम्प्युटर जोडिएको छ । विद्यालयमा नेपाली, गणित, अँग्रेजी, सामाजिक, कम्प्युटर आदी विषय पठाउने गरिएको छ । ‘साविक शिक्षा विभागले अनौपचारिक कक्षा तर्फ तह तीन सम्मको पाठ्यक्रम विकास गरे पनि त्यसमाथी पढ्न चाहने पौढकालागी पाठ्यक्रम पनि समस्या छ । पाठ्यक्रम नपाएपछि विद्यालयले तह चार र पाँचलाई नियमित विद्यालयका पाठ्यपुस्तकबाट अनुकुल पाठ्यक्रम तयार पारी अध्यापन गराउँदै आएको छ । ‘वैकल्पिक विद्यालय सरकारको निरन्तर शिक्षा अर्न्तगतकै अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्न सक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम हो । तर माथिल्लो तहकालागी पाठ्यक्रम नपाएपछि स्थानीय शिक्षाविदको सहयोगमा आफैले पाठ्यक्रम तयार गरी अध्यापन गराएका छौं’ उज्यालो वैकल्पिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र केसीले भने, ‘१५–६० बर्ष उमेर समुहका सवैलाई साक्षर मात्र होईन शिक्षित बनाउन निरन्तर शिक्षा आवश्यक छ र वैकल्पिक विद्यालय संञ्चालन गर्न आवश्यक पाठ्यक्रम र बजेट आवश्यक छ ।’ बेनी सामुदायिक माध्यामिक विद्यालय अर्न्तगत स्थापित उज्यालो बैकल्पिक विद्यालय संञ्चालन गर्न सुरुमा म्याग्दी सामुदायिक पुस्तकालयसँग छुट्टै तीन वटा कोठा भाडामा लिईए चलाईएकोमा हाल साविकको महिला विकास कार्यालयमा स्थानन्क्रण गरिएको छ । विहान ११ बजेदेखी ३ बजेसम्म नियमित कक्षा संञ्चालन गर्ने विद्यालयको नियमित कक्षा संञ्चालन गर्न ५ जना शिक्षक नियुत्त गरिएको छ । यी शिक्षकहरुलाई मासिक ८० हजारबढी रकमको जोहो ब्यवस्थापन समितिले गर्दै आएको छ । साविकको शिक्षा कार्यालयको विद्यालय क्षेक्र विकास कार्यत्रम अर्न्तगत औपचारिक शिक्षाबाट बन्चित भएका बयस्क नागरिकलाई शिक्षाको मुलधारमा ल्याउन खुलेको उज्यालो वैकल्पिक विद्यालय आर्थिक रुपमा समस्याग्रस्त छ । नीतिगत रुपमा पनि अप्ठ्यारोमा परेको छ । अनौपचारिक पौढ विद्यालय मानिएको बैकल्पिक विद्यालयमा अहिले पाठ्यक्रम र बजेटको अभाव र अन्यौलता छ । शिक्षा क्षेत्र स्थानीय तह मातहत गएपछि विद्यालयलाई शिक्षा विभागले उपलब्ध गराउँदै आएको न्यून पारिश्रमिक र पाठ्यपुस्तकमा न्यून अनुदान पनि रोकिएको छ । विद्यालय संञ्चालन गर्न तलवभत्ता र दैनिक प्रशासनीक खर्च मात्र बार्षिक १२ लाखबढी छ । ३–४ लाखसम्म बेनी नगरपालिका/वडा कार्यालयले अनुदान दिएका छन । बाँकी चन्दा मागेरै विद्यालय चलेको छ । ‘विद्यालयलाई साविकको महिला बालबालिका कार्यालयमा स्थानन्त्रण गरिएकोले घरभाडा जोगिएको छ । धेरै रकम विद्यालयमा अध्ययरत विद्यार्थीका विदेशमा रहेका छोराछोरीले चन्दा पठाएका छन । विभिन्न संघसंस्थाबाट सहयोग मागेका छौं’ विद्यालय संञ्चालक समितिका उपाध्यक्ष समेत रहेका आर्थिक संयोजक राजेश शाक्यले भने, ‘यदी विद्यालयको काममा राज्य सन्तुष्ट छ र आवश्यकता हो भन्ने ठान्छ भने प्रदेश तथा स्थानीय सरकारले नै विद्यालयलाई छुट्टै बजेट ब्यवस्था गर्नु आवश्यक छ ।  भने कति दिन चन्दा मागेरै चलाउने ?’