आज:  | Fri, 01, Jul, 2022

गर्भवती युवती १३ दिनदेखी बेपत्ता

१ आश्विन २०७६, बुधबार १४:४९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, १ असोज । बेनी नगरपालिका, ८ बेनी न्यूरोडकी १९ बर्षिया गर्भवती मनिषा परियार १३ दिनदेखी वेपत्ता छिन । भदौ १८ गते साँझ अन्दाजी सात बजे घरबाट निक्लेकी मनिषा त्यसयता घर/माईती र आफन्तको सम्पर्कमा छैनन । श्रीमान शंकर परियारका अनुसार वेपत्ता मनिषा ५ महिनाकी गर्भवती हुन । श्रीमान टिभी रुममा रहेको र सासु बाहिर गएको मौका छोपी मोवाईल, हाते पर्स समेत घरमै छोडेर मनिषा निक्लेकी हुन । साँझ ९ बजेसम्म घर नफर्केपछि परिवारले माईतीलाई फोनगरी मनिषा सम्पर्क विहीन भएको खवर गरेका थिए । लगत्तै दुवै घर/माईती पक्षले मनिषा वेपत्ता भएकोले खोजी गरिदिन प्रहरीमा हुलिया सहित खवर गरेका थिए । मनिषाको हुलिया सहित मातहतका निकाय परिचालनगरी खोजी गरिरहेका छौं । माईती/घर पक्षले पनि संभावित क्षेत्रमा खोजी गरिरहेको प्रहरीको महिला तथा बालबालिका सेलले जनाएको छ । तिज मनाउन माईती पर्वतको कुस्मा गएकी मनिषालाई सोही दिन आमा सिर्जना र ठूलो बुबा विकास परिषरले जिल्ला अस्पताल बेनी ल्याई उपचारपछि घर पुर्‍याएर फर्केका थिए । यस अघि पनि मनिषा पटक पटक माईती जाने र माईतीले घर ल्याएर छोड्ने गरेका थिए । सकुसल फर्केको जानकारी दिन आमा सिर्जनाले साँझ छोरीको मोवाईलमा फोन गर्दा ज्वाई शंकरले उठाई मनिषाले खाना खाँदै गरेको भनेका थिए । र लगत्तै एक घन्टा नहुँदै मनिषा सम्पर्क विहिन भएको खवर गरेकाल थिए । ‘गर्भवती युवती वेपत्ता भएकीले परिवारसँग मिलेर खोजीमा जुटेका छौं । लामो समयदेखी फेला पार्न नसकिएकोले चुनौति थपेको छ’ जिल्ला प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘पारिवारिक झगडा वा अन्य सम्बन्धका विषय अनुसन्धान गर्न मनिषाको कल डिटेल झिकाएर अध्ययन गरिरहेका छौं ।’ त्यसैविच जिल्ला प्रहरी कार्यालयको आव ०७५/७६ को अभिलेख अनुसार ४१ महिला, ७ बालक र ११ बालिका हराएको उजुरी परेकोमा १ महिला, ३ बालक र १ बालिका अझै फेला परेका छैनन ।