FLASH NEWS
  • Loading...

जव मध्यराती आकाश घोप्टियो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ११७ पटक पढिएको
जव मध्यराती आकाश घोप्टियो

म्याग्दी, ५ असोज ।
बेलुका ८ बजे खाना खाँदासम्म छिटफुट वादलबाहेक आकाश खुल्ला थियो । पानी पर्ने कुनै छाँट छन्द थिएन । साँझ छिपिदै राती १० बज्दा आकाशमा कालो बादलले छोपेको थियो तर पानी परेको थिएन ।
खाना खाईवरी धेरै बेनीबासी सुत्ने तर्खरमा थिए । रातको १०.३० भएको थियो । विजुली चम्कियो, नजिकै परेजस्तै आवाजमा चट्याङ खस्यो । ह्वार्रर्र पानी बर्सियो । विजुली गयो, चकमन्न अँध्यारो छायो । पानी झन झन दर्कियो, झन आकाश नै घोप्टियो । सवैले अड्कल काटे, अनिस्टको संकेत हो कि ? छिन–छिनमा टाउकै माथी बज्रे झै चट्याङ खस्थ्यो । बेनीबासी निदाउन पाएनन, उठेर बसे । बाहिर निक्लन सक्ने अवस्थै थिएन ।
खोलाको किनार र भीर जरोका बस्तीमा सँधै बाढीपहिरोको त्रास भैरहन्छ । दायाँ र बायाँ दुवै कोखाबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीमा आउने बाढी र वरपरका पहाड अनि पहाड चिरेर खनेका मोटरबाटोले बेनीबासीलाई तर्साईरहन्छ । शनिवार राती पनि त्यस्तै भयो ।
राती १०.३० बजेबाट पानी पर्न थालेपनि ११–१२ बजे एक घन्टा अति भिषण वर्षा भयो । बेनीको मंगलाघाट र अस्पताल चोक क्षेत्रका खोल्सामा बाढी आयो । तर त्यो भन्दा ठूलो बाढी भने बेनीको पारीपट्टी बेनी नगरपालिका, २ बगरफाँट स्थित कोटखोलामा आयो । कोटखोला खहरेले ठूलाठूला ढङ्गामुढा बोकेर बगेको बाढीले बाटो छोड्यो र बस्ती पस्यो । बस्ती पसेको बाढीले ७ बर्षिया अनुस्का र १० बर्षिया प्रविना परियारलाई वेपत्ता पार्यो । ७ वटा मजदुरका घर र एउटा माध्यामिक तहको बोर्डिङ स्कुल पुरै बगायो ।
‘ठूलो पानी परिरहेकोले बाहिर निक्लने अवस्था थिएन । हामी सुतेका थियौं राती १२ बजेतिर छिमेकीले फोन गरी बाढी आयो छिटो भाग भनेपछि केटाकेटी च्यापेर बुद्ध स्कुलको पछाडीबाट भाग्ने क्रममा स्कुल भत्केर बाढी आयो’ राम मायाँ परियारले भनिन, ‘म र बैनी ३ वटा काखे बच्चा बाढीले बगाउँदै गर्दा बाहिर निक्लेर बाँच्यौं । बैनीका दुई छोरीहरु र घर बाढीले कता लग्यो, लग्यो पत्तो भएन ।’
बाढीले दीपक जुग्जालीको घरपसल, कुखुरा फार्मसमेत दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने सेते सार्की, कलिमान दर्जी, राममाया परियार, पार्वती परियार, गुप्ते दर्जी र रेशम दर्जीको घर पुरै बगायो । ७ घरका २१ बालबालिका समेत ३१ जना अहिले विचल्लिमा छन । यी मजदुरको न गास न बासको ठेगाना भएका छन । बाढीबाट घरबार भएका सवै परिवार रैथाने होईनन, सवै कामको खोजीमा सदरमुकाम झरेपछि त्यहाँ वस्ती बसाएका हुन ।
वेपत्ता प्रविना परियार बेनी सामुदायीक विद्यालयको कक्षा ४ मा अध्ययनरत थिईन । सोही विद्यालयको जुनियर कक्षामा अध्ययनरत अनुस्का परियार सोही ठूली आमाको घरमा पाहुना गएकी हुन । बुद्धी बोर्डिङ स्कुलको आड लागेर पछाडीपट्टी ब्लगकोघर बनाएर बसेका थिए, राममायाँ र पार्वती परियार दिदीबहिनी । तर जुन भवनको आड खोजेको हो त्यही भवन दुखान्त घट्नाको कारण वन्न पुग्यो ।
कोटखोलामा आएको बाढीले धार परिर्वतन गरी वुद्ध एकेडेमी स्कुलकै अर्को ब्लकमा रहेको दुई तले आरसिसि भवनमा रहेको होस्टलमा विद्यार्थी, कर्मचारी र शिक्षक समेत ४० जना बसेका थिए । बाढीले भुई तलामा रहेको कार्यालय, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशालामा क्षति पुर्‍याएपनि होस्टेलका विद्यार्थी सुरक्षित रहे । बाढीले होस्टेल घेरेपछि राती १२ बजे सेना र प्रहरीको सहयोगमा उनीहरुलाई निकालेर सुरक्षित स्थानमा लगियो । विद्यालय तिहारसम्मका लागी बन्द गरिएको छ ।
‘राती एक्कासी विद्यालयमा बाढी पसेपछि हामी आत्तियौं । र तत्काल सेना प्रहरीको सहयोगमा होस्टलमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लग्न सकियो’ प्रिन्सीपल ध्रुवसागर शर्माले भने, ‘तत्काल पढाई हुने अवस्था नभएकोले कम्तीमा तिहारसम्मकालागी स्कुल विदा गरेका छौं ।’
बाढीवाट घरवार विहीन भएका परिवारलाई तत्काल नजिकै रहेको सरस्वती प्राथमिक विद्यालयमा राखिएको छ । घरको नामोनिसान नभएका तीन परिवारलाई जिल्ला दैविप्रकोप उदार समितिले प्रतिघर १२ हजार र घरमा क्षत्रि भएका अन्य परिवारलाई ८ हजार नगद र त्रिपाल, कम्बल राहत दिएको छ । त्यसैगरी बेनी नगरपालिकाले सवै बाढी पीडितलाई प्रतिघर २५ हजार नगद राहत दिएको छ । नगरपालिकाले वेपत्ता परिवारलाई प्रति ब्यक्ती एक लाख राहत दिन घोषणा गरेको छ । पीडित परिवारलाई रेडक्रसले भाँडा, त्रिपाल, कम्बल र केही कपडा सहयोग गरेको छ । लायन्स क्लवले छुट्टै प्रति घर ग्याँस सिलिण्डर सहित चुहृो सहयोग गरेको छ । अन्य संघ संस्थाले खाद्यान्न सहयोग गरेका छन ।
‘बाढीबाट प्रभावितलाई वस्ने थलो र कानुन अनुसारको नगद तथा भौतिक राहत पुर्‍याईएको छ । विभिन्न संघसंस्था मार्फत पनि राहत पुर्‍याउन सुरु भएको छ’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘वेपत्ता नानीहरुको दिनभर स्थानिय, सेना, शसस्त्र तथा जनपद प्रहरीले डोजर लगाएर खोजी गरियो । फेला पार्न सकिएन । खोजी जारी छ । फेला नपरे मृतक सरह एक लाख राहतको ब्यवस्था छ ।’