FLASH NEWS
  • Loading...

जगन्नाथको कपडा फेरियो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २७६ पटक पढिएको
जगन्नाथको कपडा फेरियो

म्याग्दी, २७ साउन ।

बेनी नगरपालिका, ५ पुलाचौरको गाजने स्थित जगन्नाथ मन्दीरमा रहेको मुर्तिलाई नयाँ कपडा फेरिएको छ । अरु सवै समय कपडाले छोपेर राखिने जगन्नाथको मुर्तिमा श्रावण शुक्ल द्वादशीका दिन नयाँ कपडा फेर्ने प्रचलन छ ।

तत्कालिन पर्वत राज्यका राजा डिम्ब मल्लले विसं १५५० तिर निर्माण गरेको जगन्नाथ मन्दीरमा रक्तचन्दन काठको प्राचिन मुर्ति रहेको छ । अरु वेला कपडाले छोपेर राखिने जगन्नाथको मुर्तिको साउन शुक्ल द्वादशीमा कपडा खोली नजिकको कुवामा नुवाईधुवाई गरी नयाँ कपडा फेरिदिने गरेको जगन्नाथ मन्दीर संरक्षण समितिले बताएको छ ।

नयाँ कपडा लगाएपछि मुर्तिलाई गाउँमा रथयात्रा गरी पुनःमन्दीरमा लगेर कपडाले छोपेर राख्ने चलन छ । जगन्नाथ मन्दीरमा रातो रङ नचढ्ने हुँदा श्रीखण्ड, चन्दन र सेतो फुल चढाउने गरिन्छ । सेतो वा पहेंलो अक्षेता माक्र चल्छ ।

‘मन्दीरको मुख्य मुर्ति रत्तचन्दनको हो । मन्दीरको संरचना फेरिएको भएपनि मुर्ति राख्ने भित्रको स्वरुप ५ सय बर्षदेखी उस्तै छ’ जगन्नाथ मन्दीर संरक्षण समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलले भने, ‘जगन्नाथ मन्दीर प्राचिन सम्पदा भएपनि ओझेलमा छ । जगन्नाथको आरधनाले मनोकाँक्षा पुरा हुने दृढ विश्वास छ ।’

जगन्नाथलाई जेष्ठ शुक्ल द्वादशी, श्रावल शुक्ल द्वादशी र मार्गशुक्ल द्वदशी गरी वर्षको तीन पटक जगन्नाथ खीर पकाई भोग लगाउने चलन छ । पुजापछि सवै गाउँबासीलाई हरियो पातमा खीर खुवाउने गरिन्छ । जगन्नाथ मन्दीर बेनीबाट चार घन्टा उकालो वा कच्ची सडकमा एक घन्टामा पुग्न सकिन्छ ।

खीरकालागी मन्दीर वरपरका पुलाचौर, नयाँगाउँ, पुलाडाँडा, चिप्लेटी र घतान क्षेत्रबाट हरेक घरले दुध लिएर प्रसाद ग्रहण गर्न मन्दीर पुग्नै पर्ने नियम छ । मन्दीर संञ्चालनकालागी बेनी नगरपालिका ५ पुलाचौर र ९ घतानमा ४५ रोपनी ७ आना जग्गा गुठीको रुपमा राखिएको छ ।

किम्वदन्ती अनुसार प्रतापी राजा डिम्ब मल्ल शारिरिक रुपमा अशक्त थिए । राजा डिम्बको आराधानाबाट प्रशन्न जगन्नाथ देवताले दर्शन दिई आर्शिवाद माग्न भन्दा राजाले सँगै राखेर सेवा गर्ने इच्छा राखेपछि तथास्तु भनेका थिए । त्यसैले राजा डिम्बले भारतको उडिसा स्थित जगन्नाथ मन्दीरबाट मुर्ति ल्याई गाजनेमा मन्दीर बनाई जगन्नाथ देउताको प्राणप्रतिष्ठान गरेका हुन ।

काँचो इट्टा, माटोको गाहृो र तामाको छाना भएको मन्दीर जीर्ण भएपछि अहिले मन्दीरलाई भारतको उडिसा स्थित जगन्नाथ मन्दीरकै प्यागोडा शैलीमा पुनःनिर्माण गरिएको छ । विसं २०३५ सालमा मन्दीरबाट चोरी भएको सक्कली मुर्ति फेलापरेपछि राजदरवारहुँदै फर्किएर आउँदा नक्कली आएको स्थानीयको बुझाई छ ।