आज:  | Fri, 01, Jul, 2022

म्याग्दीमा विउ उत्पादन घट्दै

१९ श्रावण २०७६, आईतवार ०५:१५ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, १९ साउन ।तरकारी विउको पकेट क्षेत्र मानिएको जिल्लाबाटै उत्पादन घट्न थालेको छ । रायो साग, केराउ, सिमी, काँक्रो, मुला लगाएत एक दर्जनबढी तरकारी र मकै तथा गहुँ जस्ता अन्नवालीको विउ उत्पादन घटेको हो ।‘कर्मचारी र कार्यक्रम ब्यवस्थापनको अलमलले विउको बजार ब्यवस्थापनमा समस्या, मुल विउ नै कृषकले नपाउनु र कृषक–ब्यापारी समवन्य नहुँदा न विउ तयार भयो न कृषकले पैसा पाए’ कृषी ज्ञान केन्द्रका वाली विज्ञ भोजबहादुर थापाले भने, ‘जनप्रतिनिधीले पनि तरकारीका साना पोकाको भ्यालु नवुझ्दा तरकारी तथा अन्नवालीको विउ उत्पादन प्रभावित भयो ।’विज्ञ भोजबहादुर थापाका अनुसार आव ०७५/७६ मा म्याग्दीबाट मार्फा चौडापाते सागको विउ २६ क्वन्टल, मनकामना रायोसागको ४ क्वीन्टलगरी, केराउ ३ क्वन्टल, बकुल्ला करिव २ क्वीन्टल, सिमी ३.५ क्वीन्टल, काँक्रोको वीउ २ क्वीन्टल निकासी भएको छ । मकै ३५ क्वन्टल र गहुँ ८६ क्वन्टल निकासी भएको छ । यो आँकडा अघिल्लो तीन बर्ष अघिको भन्दा दुई गुना थोरै हो ।ज्ञान केन्द्रका अनुसार अहिले उत्पादन भएको तरकारीको विउ चार बर्ष अघिको उत्पादनको एक तिहाई मात्र हो । आव ०७३/०७४, ०७४/०७५ मा तरकारी तथा अन्नवालीको विउको कुनै तथ्याङ्ढ कसैले राखेनन । यही विचमा विउ ब्यापारीले मुल्यमा र समुह नाईकेले बजारलाई झुक्याएकोले खास कृषक विउ उत्पादनबाट हच्चिएका हुन ।लामो चक्र पुरागरी तयार पारिएको विउको मुल्य कृषकको हातमा पुग्न नदिन विभिन्न स्वार्थ समुह सकृय रहन्छन । कतिपय ठाउँमा विउ उत्पादन समुहकै नाईकेले बेईमानी गर्छन । कृषकबाट संकलन गरेको विउ ब्यापारीलाई बेचेपछि पैसा कृषकको हातमा सहज पुर्‍याउँदैनन । विचमै अल्मल्याउँछन । कृषक र विउ ब्यापारी विच लिखित विउ खरिद–विक्रि सम्बन्धी लिखित सम्झौता नहुने हुँदा मुल्य दिन वा विउ उठाउने वेला धोका दिन्छन । साविकका कृषी कार्यालयले कृषक समुह र ब्यापारी विच समवन्ययको काम गर्दै आएकोमा पुनःसंरचनाले यो प्रकृया अवरुद्ध भएको छ । प्रायः स्थानीय तहमा कृषी प्राविधिक छैनन वा नयाँ भएकोले प्रकृया वुझेका छैनन ।‘हामी दुर्गम गाउँमा तरकारीको विउ उत्पादन गर्छौं । वीउ ब्यापारी शहरको हुन्छ । विभिन्न अल्झन विच विउ पुर्‍यायो, ब्यापारीले तौल पुगेन, माग छैन, मुल्य छैन, विक्रि भएको छैन भन्दैभन्दै बर्षदिनसम्म भुक्तानी रोक्छन । कहिले त विउ वेच्ने बेलामा ब्यापारीले उठाउनै मान्दैनन’ अन्नपूर्ण गाउँपालिका, ६ खिवाङ्गको लालीगुराँश तरकारी विउ उत्पादन कृषी समुहका प्रेमबहादुर गर्वुजाले भने, ‘ब्यापारीले सहज उठाउने र समयमै भुक्तानी गरे विउ उत्पादनमा राम्रो मुल्य छ । गाउँपालिकाले विउ उत्पादन गर्नेलाई कृषक नै मान्दैन, सहयोग नै गरेन । हामी आफैले बजार खोजेर काम गरेका छौं । विउ उत्पादन र बजारीकरण गर्न छुट्टै ब्यवस्था भए हुन्थ्यो ।’कसरी गरिन्छ वीउ उत्पादन ?तरकारी तथा अन्नवालीका विउ उत्पादन गर्न लामो प्रकृया पुरा गर्नु पर्छ । खेतीवालीबाट जातिय गुण भएका वाला वा कोसा संकलन गरी विउ सुद्धता कायम गरिन्छ । जातिय सुद्ध विउबाट कृषी वैज्ञानिकले फार्ममा ‘प्रजनन विउ’ तयार पार्छन ।प्रजनन विउलाई बैज्ञानिकको रेखदेखमा विउ विज्ञले पुनः फार्ममा ‘मुल’ विउ तयार पार्छन । मुल वीउबाट विउ विज्ञको रेखदेखमा विउ उत्पादक कृषकले आफ्नो वारीमा प्रमाणित विउ अर्थात प्रथम पुस्ताको विउ उत्पादन गर्छन । यो प्रथम पुस्ताको विउलाई अगुवा कृषक मार्फत स–सानो परिणाममा धेरै कृषकको वारीमा रोप्न शिफारिस गरिन्छ । यतिले मात्र विउको चक्र पुरा हुँदैन । शिफारिस गरिएको विउ खेतवारीमा रोपेपछि कृषकले खेतको प्रतिफल र स्वादमा सन्तुष्टी प्राप्त गरे/नगरेको आधारमा विउ विस्थापित गर्ने वा थप सुधार गर्ने काम गरिन्छ ।‘कार्यालय पुनःसंरचना र कर्मचारी समायोजनले कृषी क्षेत्र अस्तब्यस्त भएको छ । कृषक र कृषी विज्ञ विच लिङ्ढ टुटेको छ । स्थानीय तह स्वायत्त भएकाले रिपोटिङ सिस्टम बसेको छैन । हामीले यस बर्षदेखी आफ्नै पहलमा स्थानीय तहका कृषी हेर्ने साथीहरुसँग सम्पर्क राखेर डाटा माग्ने प्रयास थालेका हौं’ कृषी ज्ञान केन्द्रका वाली विज्ञ थापाले थपे, ‘पुरानो नेटवर्कको परिचयले गर्दा हामीले नै कृषक र ब्यापारी विच सम्पर्क स्थापीत गरी तरकारी विउमा पुनः कृषकलाई फर्काएका हौं ।’