आज:  | Fri, 01, Jul, 2022

गाउँका सडकमा ट्याक्टरको लर्को

१४ श्रावण २०७६, मंगलवार ११:२२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, १४ साउन ।म्याग्दीका गाउँका सडकमा अर्गानिक तरकारी बोकेर सहर झर्ने ट्याक्टरको लर्को नै लागेको छ ।बर्खालागेसँगै ग्रामिण सडकमा यात्रु बाहक जीप/बस गुड्दैनन तर तर लेकाली अर्गानिक आलु, सिमी, वन्दा, लगाएतका तरकारी बोकेका ट्याक्टरहरुको लर्को लाग्ने गरेको छ ।ग्रामिण मोटरबाटोले भुक्षय, बाढीपहिरो विपत मात्र निम्त्याए पनि यहाँका केही वस्तीले भने सडकबाट राम्रो लाभ उठाई रहेका छन । पहिरो पन्छ्याउँदै ट्याक्टर चलेपछि यहाँको अर्गानिक आलुले राम्रो बजार पाएको छ ।धान नफल्ने यी लेकाली बस्तीबाट ट्याक्टरले दैलिक आलु, बन्दा, काउली, टमाटर समेतका तरकारी बोकेर सहर झर्ने ट्याक्टरको लर्को नै लाग्ने गरेको छ । मोटर बाटोको पहुँचले म्याग्दीका धेरै वस्तीमा स्थानीय उत्पादन बढेको छ ।‘मोटरबाटो नपुग्दा गाउँका आलु त्यसै कुहिन्थे, गाईभैसीलाई खुवाउँथ्यौं तर मोटरबाटो आएपछि ब्यापारी हात हातमा पैसा बोकेर वारीमै आईपुग्छन । बजार खोज्न जानै पर्दैन, पैसा गाडी चढेर आफै हातमा आउँछ’ अन्नपूर्ण गाउँपालिका, ८ राम्चेका कृषक राजु गर्वुजाले भने, ‘विषादी र रासायनिक मल प्रयोग गर्दैनौं त्यसैले उपभोक्ताको मन जितेका छौं । गाउँलेले पैसा हात पर्न थालेपछि आलु मात्र होईन सिजनेवल तरकारीको ब्यवसायीक खेती गर्न थालेका छन ।’बजारका तरकारीमा अधिक विषादीको चर्चासँगै गाउँलेहरु वनजंगलमा त्यसै उम्रेर खेर गैरहेका डौंडे, निगुरो, ढकायो, जलुको, टुसा, च्याउ लगाएत तरकारी जन्य वस्तु बेच्न सहर  ओर्लेका छन । विषादी रहित तथा स्वादिलो हुने भएकोले बेनी, बाग्लुङ्ग, पोखरा र काठमाण्डौसम्मका शहरमा लेकका गाउँबाट आएको तरकारी भने पनि उपभोक्ताहरु खोसाखोस गर्ने गरेका छन ।मोटरबाटोको लाभ उठाउँदै नागी, राम्चे, हिस्तान, घराम्दी, खिवाङ, शिख, चित्रे, स्वाँता, घारका कृषकले दैलोबाटै आलु समेत तरकारी बेचेर मनग्य आम्दानी गरेका हुन । अर्गानिक आलु मात्र होईन अन्य तरकारी उत्पादन बढेको छ । गत बर्ष यहाँका कृषकले बाग्लुङ्ग, पोखरा, काठमाण्डौ समेतका शहर/बजारमा अर्गानिक लेकाली आलु बेचेर म्याग्दीका कृषकहरुले ४५ करोड रुपैयाँ जिल्ला भित्राएका थिए ।मोटरबाटोले मेहिनत गर्नेका लागी अवसर पनि बोकेर उक्लेको छ । आलुबाट मनग्य आम्दानी देखेपछि टिकोट माध्यामिक विद्यालय हिस्तानले त जग्गा लिजमा लिएर आलु खेती गरेको छ ।‘विद्यालयको श्रोत जुटाउन बाँझो खेतमा आलु खेती गरेका हौं । खर्च कटाएर बार्षिक ४०–५० हजार आम्दानी भएको छ’ प्रध्यानअध्यापक प्रदीप पुनले भने, ‘मोटरबाटो आएपछि हाम्रो वस्तीको कृषीमा फेरवदल आएको छ । भान्सा नै फेरिएको छ ।’जिल्लाको उपल्लो भेगका मुख्य वाली आलु हो । तथ्याङ्ढ अनुसार जिल्लाको एक हजार छ सय १५ हेक्टर क्षेत्रफल खेतीबाट २० हजार ३ सय ८१ मेट्रिकटन आलु उत्पादन हुन्छ । कृषकले १० हजारबढी मे.टन आलु जिल्ला बाहिर र ५ हजार मे.टन आलु आन्तरिक बजारमा विक्रि हुने गरेको छ । बाँकी आलु कृषक आफैले उपभोग गर्ने र विउमा खपत हुने गरेको छ । जिल्लामा स्थानिय जातबाहेक कर्डिनल जातको आलु खेती बढी गरिन्छ । तल्लो क्षेत्रमा एम.एस ४२–३ र डिजिरे जातका आलु लगाउने गरिन्छ । ढोरपाटन क्षेत्र वरपर भने स्थानिय सेतो र लाम्चो आलुको खेती गरिन्छ ।‘यहाँका गाउँबाट ठूला शहरमा आलु निर्यात हुन्छ । हाम्रो आँकडा अनुसार बर्खे सिजनमा अन्नपूर्ण ५, ६, ७ र ८ वडाका एउटा किसानले कम्तीमा २० हजारबढी नगद बुझ्छन’ कृषी ज्ञान केन्द्रका बागवानी अधिकृत भोजबहादुर थापाले भने, ‘आव ०७३/०७४ यता तथ्याङ्ढ अध्यावधी छैन । चालु आवमा सवै स्थानीय तहसँग सहकार्यगरी तथ्याङ्ढ संकलन गरिरहेका छौं ।’