FLASH NEWS
  • Loading...

सडकले धोका दिँदा डोरीमा झुण्डीयो यात्रा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३७ पटक पढिएको
सडकले धोका दिँदा डोरीमा झुण्डीयो यात्रा

म्याग्दी, ११ साउन । फोटो तथा भिडियो सौजन्य ः ओम पुन, चिमखोला 

रघुगंगा गाउँपालिका, ७ चिमखोला, परिचित साँस्कृतिक वस्ती हो । धौलागिरी हिमाल फेदीमा पूर्व फर्केको भीरालो पाखामा अवस्थित चिमखोलामा ‘पुछारको घरबाट शिरानको घर हेर्दा शिरको टोपी खस्छ’ भन्ने भनाई छ । तल्लो घरबाट माथिल्लो घरमा जानु पर्दा कान्ला उक्लनै पर्ने अनिवार्य बाध्यता हो ।

वस्ती जति अप्ठ्यारो भुगोलमा अवस्थित छ, त्यो भन्दा सयौं गुणा कठिन छ, चिमखोला जाने वाटो । डोरीमा झुण्डिएर पुस्तौ पुस्ता चिमखोलेले यात्रा गरेको दग्नामको अजिङ्गर भीर र दर्मिजाको गोखो भीरमा डोरीमा झुण्डीएर यात्रा गर्नु पर्ने बाध्यता अझै उस्तै छ ।

पिठ्ठीउँमा भारी, भारीमाथी नानीबाबु बोकेर अक्करे भीरमा डोरीले झुण्डीएर हिँड्नु पर्ने पुखयौली बाध्यता अन्त्यगरी मोटर चढेर घर पुग्ने रहर यसपाला पनि पुरा भएन । बरु गोरेटो पनि डोजरले भत्काएपछि झुण्डीएर यात्रा गर्नु पर्ने बाध्यता निम्त्याएको हो । सदरमुकाम बेनी झर्न मात्र होईन, गाउँपालिका केन्द्र मौवाफाँटसम्म मोटरबाटोले जोड्न मोटरबाटो खन्न खोज्दा ठेकदारले धोका दिएपछि रघुगंगा गापा ७ चिमखोला र ८ मंगलेबासीको यात्रा डोरीमा झुण्डीएको हो ।

‘जिजु बाजेदेखी बाउको पालासम्म अजिङ्गर र गोखो भीरमा झुण्डिएर यात्रा गरे, हाम्रो पालामा गोरेटोसम्म बनेको थियो । हाम्रा सन्ततीलाई मोटरमा हिँडाउने सपना थियो । खै, सपना भीरमा अड्क्यो । यात्रा डोरीमा झुण्डीयो’ रघुगंगा गापा, ७ का सामाजिक अगुवा ओम पुनले भने, ‘डोजरले गोरेटो भत्काएपछि करिव १ सय मिटर लामो भीर छिचोल्ने ठाउँ भएन, गाउँलेलाई हिंड्न आपत नै पर्‍यो त्यसैले गाउँका २२ जना युवा मिलेर अलिअली पाईला अड्याउने खुड्किला र समाउने डोरी झुण्डाएका हौं ।’

मौवाफाँटबाट दग्नामको अजिङ्गर भीरकुनासम्म मोटरबाटो पुगेको छ । अजिङ्गर भीर भर्खर फोड्न सक्ने हैसियत गाउँलेसंग छैन । त्यसैले सडक विभागको २ करोड बजेटले चिमखोलाबाट डोजरले तल सडक खन्न थालियो । चिमखोलाबाट एक किलोमिटर सिस्नेरीफाँटमा सडक खनेपछि आई पुग्यो, गोखो भीर । ठेकदारले केही दिन व्रेकर लगाएर १६–१७ मिटर पहरा फोडे । ब्रेकरले पहरा मात्र फोडेन गाउँले ओहोर–दोहोर गर्ने गोरेटो पनि तासेर फाल्यो । पहरा फोडेर वील नबढ्ने छाँट देखेपछि सडक विभागका हाकिम, प्राविधिकसँग मिलेमतो गरेका ठेकदारले डोजर फर्काए र इष्टिमेट विपरित वैकल्पिक बाटो खोज्नै भन्दै फाँटमा डोजर चलाए ।

डिजाईन इष्टिमेट विपरित ठेकदारको दादागिरी देखेपछि रघुगंगा गापा, ७ चिमखोला र ८ मंगलेका वडाध्यक्षहरु दुर्गा पुन र गममान छन्त्यालले डिभिजन सडक कार्यालय बाग्लुङ्गमै पुगेर बजेट दुरुपयोग रोक्न उजुरी गरे । सडक निर्माण रोकिएको छ । डोरीमा झुण्डएर हिड्ने दिन पनि अनिश्चित भएको छ ।