आज:  | Tue, 05, Jul, 2022

बाढीले गलेश्वर र तिप्ल्याङ्गका वेलिव्रिज जोखिममा

२५ असार २०७६, बुधबार १६:१६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, २५ असार ।ठेकदारले समयमै काम नगर्दा बेनी–जोमसोम सडकमा रहेका विभिन्न बेलिव्रिजहरु नदी काटानको जोखिममा छन ।बेनी–जोमसोम–कोरला सडक आयोजना अर्न्तगत रहुघाट, कालीगण्डकी र अन्य साना खोलामा निर्माणाधिन पक्की पुलको फाउण्डेसन निर्माण ढिलाईहुँदा त्यहाँ रहेका वेलीव्रिजहरु नदी कटानको जोखिममा परेका हुन ।‘गलेश्वर र तिप्ल्याङ्गको वेलिव्रिज नदी कटानले जोखिममा छन । तिप्ल्याङ्गमा नदीकटानले व्रिज जोखिममा परेकोले ठूला मालबाहक सवारी साधन रोकेका छौं’ जिल्ला प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘तत्काल तटवन्ध पुल बग्न सक्छ । सम्बन्धित निकायमा खवर गरेका छौं ।’नयाँ पुलको फाउण्डेसन राख्न भएका तटवन्ध भत्काईएको, नदी विचमा फाउण्डेसन राख्न धार परिवर्तन गराईएकोले प्रयोगमा भएका वेलिव्रिजको जगलाई नदीले कटान गर्न थालेको हो । बेनीदेखी तीन कमी उत्तर गलेश्वर स्थित राहुघाट खोला, १५ किमी माथी तिप्लाङ्ग स्थित कालीगण्डकी नदीमा रहेका वेलीव्रिज कटानको जोखिममा परेका हुन ।त्यसैगरी बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा खहरेखोलामा आउने बाढी र पहिरोले दैनिक यातायात अवरुद्ध हुने गरेको छ । हरेक विहान बेगखोलामा सवारी रोकिने गरेका छन । सवारी मात्र होईन, यात्रु समेत अलपत्र पर्ने गरेका छन । अन्नपूर्ण गाउँपालिकाको दाना क्षेत्रको गुईठे, तितर क्षेत्रमा निरन्तर पहिरो खस्न थालेपछि दैनिक यातायात अवरुद्ध हुने गरेको छ ।‘बेगखोला र दानाको गुईठे क्षेत्र बेनी–जोमसोम सडकका रोग नै हुन । कति वेला बाढी/पहिरो खस्छ र यातायात अवरुद्ध हुन्छ भन्न सकिन्न’ डिएसपी मरासिनीले भने, ‘पानी पर्यो त बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भयो, भयो ।’सडक स्तरको मान्यता समेत नपाएको ग्रेड नमिलेको साँघुरो र खाल्डाखुल्डी रहेको ट्रयाक विस्तार गर्न बेनी–जोमसोम सडकको स्तरउन्नत गराउने काम सुरु भएपनि ढिला सुस्तीले सडक थप जोखिमयुक्त बनेका छन । पहिरोग्रस्त क्षेत्रमा ठेकदारले डोजर चलाएर छोडेरकोहुँदा मनसुन सुरु भएपछि पहिरो खस्न सुरु भएको छ । कतै भित्तो काटेर छोडेको, भत्काएको ढुङ्गामाटो सडकमै छोडेकोले जोखिम भएको छ । सडकमा गाडीहरु बाक्लो हिलो भएकोले गाडी फस्ने, चिप्लिएर दुर्घटनामा पर्ने गरेका छन ।‘बेनी–जोमसोम सडक विस्तार कार्यक्रमले बर्खा सिजनमा झन दुर्घटनाको जोखिम बढाएको छ । भित्तामा वाल नलगाई डोजरले काटेर मात्र छोडेकोले भित्तो भत्केर सडक हिलाम्मे बन्ने, सडक अवरुद्ध हुने र झन साँघुरो बन्दा गाडी चलाउन हैरान भएका छौं’ बेनी–जोमसोम सडकका बस चालक दुर्गाबहादुर पाईजाले भने, ‘झन बेगखोला, घट्टेखोला जस्ता खहरेमा पुल नहुँदा गाडी नै बगाउने जोखिम छ ।’मुस्ताङ्गको लेतेबाट तल गहिंरो खोँच भित्र छिर्ने कालीगण्डकी बेनी ४४ किलोमिटर क्षेत्रका प्रायःसवै पहाडहरु ८० डिग्रीभन्दा बढी भीराला छन । केही ठाउँमा त सडक र नदी दुवै ओढार भित्रबाट बग्छ । भु–गर्भविदहरुका अनुसार नदीले बनाएको यस्ता गल्छीहरुमा चट्टानी पहिरो ‘रक एभलान्च’ को संभावना रहन्छ । जहाँ पटक–पटक पहिरोले नदी थुनिने गरेका इतिहाँस पनि छन ।उच्च भागबाट जमिन भत्केर तल खस्ने प्राकृतिक क्रिया वा भूस्खलनलाई पहिरो भनिन्छ । अब्यवस्थित सडक निर्माण जस्ता मानवसृजित गतिविधी र अतिबृष्टी आदी कारणले पहिरो जान्छ । वनकमजोर भौगर्भिक बनोटलाई पहिचान गर्न नसक्दा हाम्रो सडक पूर्वाधार विकासले पनि बर्षेनी ठूलो जनधनो क्षति भैरहेको छ । फरक–फरक खालका चट्टानहरुको चरित्र पनि फरक हुन्छन तर भौतिक संरचनाका इन्जिनियरिङ डिजाईन पनी फरक चट्टान अनुसार गर्नु पर्ने हो तर त्यसे विलकुल भएका छैनन । हाम्रा सडक संरचना प्रविधी प्रायः काट्ने र पुर्ने (कट एण्ड फिल) खालका छन । यसरी थुपारिएको ढुङ्गामाटोको भार थेग्न नसक्दा भू–क्षयको बढाएको हो ।